तनहुँमा महिला तथा बालबालिका हराउने क्रम घट्दो

तनहुँमा महिला तथा बालबालिका हराउने क्रम घट्दो

missing

तनहुँ । तनहुँमा महिला तथा बालबालिका हराउने क्रम घट्दो रहेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस मसान्तसम्म ५८ जना महिला तथा बालबालिका हराएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार हराएका ती मध्ये ४५ जना महिला, ११ जना बालिका र २ जना बालक रहेका छन् । हराएका मध्ये ३६ महिला, १० जना बालिक र एक जना बालक फेला परेको महिला बालबालिका सेवा केन्द्रकी प्रमुख सुजाता कार्कीले जानकारी दिईन ।

त्यस्तै ९ जना महिला, एक जना बालिका र एक जना बालक अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उनको भनाइ छ ।

प्रहरीको तथ्याङ्क अनुसार गत तीन वर्षको अवधिमा महिला तथा बालबालिका हराउने क्रम घट्दो देखिन्छ ।

त्यस्तै गत आवमा १४६ जना महिला, बालबालिका हराएका थिए । ती मध्ये ११३ जना महिला, २४ जना बालिका र ९ जना बालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै हराएकामध्ये सबै जना फेला परेका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा २२८ जना महिला तथा बालबालिका हराएका थिए । ती मध्ये १७३ जना महिला, १५ जना बालक र ४० जना बालिका रहेका छन् । उक्त आर्थिक वर्षमा पनि सबै फेला परेको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोका लगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।

प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएका मध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ