चितवन — नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनःस्थापना गरेर मात्रै चुनाव हुने बताएका छन् । नेपाली कांग्रेसले मंगलबार भरतपुर चौबिसकोठीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले भने- ‘कांग्रेसका साथीहरु चुनाव होला नहोला भनेर नअल्मलिनुस् । देश चुनावमै जान्छ । तर सही बाटोबाट चुनावमा जान्छ । विघटित संसद् आउँछ । त्यहीँ पुनःस्थापित संसद्ले नै देशलाई चुनावमा लिएर जान्छ।’
उनले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास रहेको बताए । ‘प्रधानमन्त्रीले पैसा तिरेर अदालतमा बहस गर्न पठाएको कानुन व्यवसायी र प्रधानमन्त्रीको कार्यक्रममा थपडी बजाउने बाहेक अरु कोही एकजना स्वतन्त्र व्यक्तिले पनि नेपालको संविधानमा प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा संसद् विघटन गर्ने अधिकार छ भन्दैन । किन कि संविधानमा त्यो कुरा नै छैन,’ नेता थापाले भने ।
उनले अदालतले नडराई निर्णय सुनाउन आग्रह गरे । ‘प्रधानमन्त्रीले मैले सब मिलाएको छु भन्नुहुन्छ । तर राष्ट्रपतिलाई मिलाए जस्तो सजिलो नेपालको अदालतलाई मिलाउन सम्भव छैन भनेर अदालतले देखाइ दिन्छ भन्ने विश्वास मलाई छ । अब केही दिन मात्रै हो । संसद् पुनःस्थापना हुन्छ र प्रधानमन्त्रीलाई हामीले उहाँले नै ठूलो खर्च गरेर दमकमा बनाएको भ्यु टावर विचरण गर्न पठाउँदै छौं,’ नेता थापाले भने ।
उनले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्नै नपाउने जिकिर गरे । ‘बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले हाम्रो संसद्लाई छुनै पाउँदैन । बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने भनेको नेकपाको अध्यक्षले नेपाली कांग्रेसको अध्यक्षलाई कारबाही गरे भने जस्तै हो । हटाए भने जस्तै हो,’ थापाले भने । त्यसैले संसद् विघटन सदर गर्ने र संसद् विघटन सही हो भनेर मान्न थाल्नु भनेको संविधानलाई चलाउने काम सुरु हुने उनले बताए ।
संविधानमा नलेखेको कुरा त्यसलाई ठिक छ भनेर मानेर जाँदा भोलि संविधानभित्र नलेखेका धेरै कुराहरु हुँदै जाने खतरा रहेको उनले औंल्याए । यसले संविधान भत्कन सुरु हुने र संविधानको जग नै धारासायी हुने थापाको भनाइ थियो । त्यसैले प्रधानमन्त्रीको कदमले संविधानको शासन कि सेटिङको शासन भन्ने प्रश्न खडा गरेको उनले बताए ।
नेपाली कांग्रेसले पुस ५ गते नै प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेको उनले स्मरण गराए । ‘नेपाली कांग्रेसले संसद् विघटन गर्ने पुस ५ गतेको प्रधानमन्त्रीको कदमलाई उसै दिन अराजनीतिक मात्र भनेन, अलोकतान्त्रिक मात्रै पनि भनेन । यो कदम असंवैधानिक भन्यो । यो विषय अदालतमा पुगेको छ र आज बहस पनि हुँदै गरेको छ । मलाई अदालतमा विश्वास छ । त्यसैले म भन्छु अदालतले संसद् पुनःस्थापना गर्छ,’ नेता थापाले भने । कांग्रेसले जुन संविधान पल्टायो, प्रधानन्याधीशले पनि त्यही संविधान पल्ट्याउने उनले बताए ।
‘कांग्रेसले नदेखेको संविधानको धारा अदालतले पनि देख्दैन । किन कि हुँदै नभएको संविधानको धारा उसले पनि भेट्दैन,’ नेता थापाले भने । संविधानको शासन कि सनकको शासन भन्ने प्रश्न खडा भएका कारण सबै जुटेर संसद् पुनःस्थापनामा लाग्न उनले आग्रह गरे । पुस ५ गते प्रधानमन्त्रीले संविधानको जगमा नै प्रहार गरेको हुँदा बचाउने प्रयासमा सबै लाग्न उनले अपिल गरे ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु