तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै

तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै

hydro-power

symbolic pic

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम-कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

“सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उनले भने । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम-कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजनाको प्याकेज दुई अन्तर्गत भने करीब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाईसमेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।

खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ