काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म भोलिका लागि आह्वान गरिएका केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।
‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ खनाल-नेपाल समूहको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भन्दै भोलि (शनिबार) का लागि बोलाइएको बैठकमा सहभागी नहुने खनाल-नेपाल समूहले जनाएको छ ।
सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा अवैध ठहर्याउँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टीमा व्यापक फेरबदल गरेका थिए । पार्टी महाधिवेशन तोक्दै माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनालाई केन्द्रीय समिटीमा मनोनित गरेका थिए भने खनाल-नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसपछि असन्तुष्ट बनेका खनाल-नेपाल समूहले ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेका थिए ।
भेलाले एमालेलाई एकताबद्ध पार्ने र देशभर संगठात्मक अभियान चलाउनेलगायतका निर्णय गरेको थियो । खनाल-नेपाल समूहले माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थाबाट पार्टीलाई अगाडि बढाउनु पर्ने माग गरेको छ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो