ओली र नेपालबीच भेटवार्ता, के के भए कुराकानी ?

ओली र नेपालबीच भेटवार्ता, के के भए कुराकानी ?

kp madhav 1

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

बुधबार दिउँसो नेता नेपालको सन्देश बोकेर योगेश भट्टराई बालुवाटार पुगेर संवाद र छलफलबाट समस्या समाधान गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । त्यसपछि बुधबार साँझ नै नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।

ओली र नेपालबीचको आज करिब दुई घण्टा लामो वार्ता भएको छ । उनीहरुबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको हो । दुईबीचको वार्ता ‘सकारात्मक निष्कर्षसहित’ सम्पन्न भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उनीहरुले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिएका थिए ।

उनीहरुबीच एकाएक भएको भेटवार्ताको समाचार संकलन गर्न त्यहाँ पुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मानेनन् भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उनीनजिक पुग्न सकेका थिएनन् । नेपालले सञ्चारकर्मीसँग ‘म केही बोल्दिनँ’ भनेर निस्किए  ।

वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गरे ।

मंगलबार माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ जना संघीय सांसद र पाँच कर्णाली प्रदेशका सांसदलाई किन सांसद पदबाट पदमुक्त नगर्ने भन्दै स्पष्टीकरण अध्यक्ष ओलीले सोधेपछि दुई समूहबीच झनै तिक्तता बढेको छ । नेपाल समूह अध्यक्ष ओलीको निर्णय बदरको माग राखेर सर्वोच्च अदालतमा पनि पुगेको छ ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।

माओवादी केन्द्रसँगको ०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।

शीर्ष नेताबीच संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

फुटको संघारमा रहेको एमाले यी दुई नेताको भेटले जोगिन सक्ने अनुमान धेरैले गर्न थालेका छन् । त्यसैले पनि ओली–नेपाल भेटको तस्वीरहरु अहिले सामाजिक सन्जालमा चर्चाको विषय बनेका छन् । यति मात्र होइन, एमालेका नेता तथा कार्यकर्ताले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा हुँदै आएका थिए । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुमबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने दुई दिनअघि उहाँहरूसहित २७ जना संघीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो ।

एमालेका ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वाको मत दिने एमालेका प्रदेश सांसद प्रकाश ज्वालासहित पाँच जनालाई पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणको जवाफ तयार हुँदै गरेको अवस्थामा आज अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिनसक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको हो ।

पार्टीमा आन्तरिक विवाद बढेपछि अध्यक्ष ओलीले नेपाल पक्षसँग समूहमा वार्ता नगर्ने तर व्यक्तिगत तहमा वार्ता गर्न भने आफू तयार रहेको जनाउँदै आएका थिए भने नेता नेपालले आफू प्रधानमन्त्री ओलीको सरकारी निवासमा वार्ताका लागि नजाने र एक्कै वार्तामा नबस्ने अडान राख्दै आएका थिए ।

दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता–कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाल वार्ताको पहल गर्दै आएका थिए ।

माधव नेपाललाई फोन गरेर ओलीले भनेका थिए– भेटौँ

स्रोतका अनुसार बुधबार दिउँसो एमाले नेता योगेश भट्टराईसँगको भेटपछि प्रधानमन्त्री ओलीले नेपाललाई फोन गरेका थिए र भनेका थिए– भेटौँ ।

ओलीले नेपाललाई बालुवाटारमा नै भेट्न बोलाएको तर माधव नेपालले नमानेपछि होटल मेरियटमा यी दुईको भेट भएको हो । यसको सहजीकरण दुगडले गरेको स्रोतको दाबी छ ।

नेपालसँगको वार्तापछि बालुवाटारमा ओलीको ‘ब्रिफिङ’

असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसँगको वार्ता लगत्तै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुसँग छलफल तीव्र पारेका छन्।

ओली र नेपालबीच बुधबार साँझ भएको वार्ता सकारात्मक या नकारात्मक भन्नेबारे अहिलेसम्म यकिन नभइरहेका बेला ओलीले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल तीव्र पारेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ