काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् ।
उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरेका छन् । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
“मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ”, महासचिव पोखरेलले आज जारी गर्नुभएको अपिलमा भनिएको छ, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”
नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उनले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गर्नुभएको स्मरण गरे।
महासचिव पोखरेलले यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आजमात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गरे। उनले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले भूमिका खेलेका थिए ।
उनले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक रु चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उक्त अवधिमा पार्टीको कोषमा रु छ लाख पाँच हजार जम्मा गराइएको अवगत गराए। यसअघि निवर्तमान परराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले मन्त्री हुँदाको अवधिको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
सम्बन्धित खबर
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति
उजुरी लेख्न नजान्नेलाई छुट्टै कर्मचारी, सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द
पासपोर्ट ठेक्का प्रकरणमा सरकारले अख्तियारलाई तर्साएर पङ्गु बनायो: गगन थापा
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते