तनहुँमा राष्ट्रिय विभूतिका नाउँमा प्राणी उद्यान

तनहुँमा राष्ट्रिय विभूतिका नाउँमा प्राणी उद्यान

उद्यान

तनहुँ । पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको छ । विसं २०७३ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय विभूति भानुभक्तको नाउँमा उद्यानको नामकरण गरिएको हो ।

यस उद्यान व्यास नगरपालिका वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५ र ६ का आठ सामुदायिक वनको आंशिक क्षेत्र, पाँच कबुलियती वन, निजी आवादी तथा खोलानाला, ऐलानी, पर्ती, र राष्ट्रिय वनको भाग गरी ४२५ हेक्टरको क्षेत्रफललाई समेटिएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यानको अवधारणाअनुरुप प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गरी पर्यटन क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउने लक्ष्य राखेको थियो ।

यस उद्यानका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाइ भएको छ । मालपोत कार्यालयको दरभाउ र स्थानीय चलनचल्तीको मूल्यभन्दा बढी रकम जग्गाधनीले दाबी गर्दै आएका कारण मुआब्जा वितरणमा ढिलाइ भएको सो कार्यालयले जनाएको छ । दुई पालिकाका चार वडाका १२६ घरधुरीका करीब ९१२ रोपनी जग्गा अधिग्रहण गरिएको छ । मुआब्जा वितरण सम्बन्धमा जग्गाधनीसँग पटकपटक छलफल गरी अन्तिम चरणमा पुगे पनि मूल्यमा कुरा नमिल्दा ढिलाइ हुन गएको कार्यालयका रेञ्जर गुरागाई बताउछन्।

भानुभक्त प्राणी उद्यान कार्यालयको आफ्नै भवन रहेको छ । करीब चार वर्ष भाडामा बस्दै आएको सो कार्यालयको रु एक करोड ५८ लाख ८१ हजारको लागतमा पाँच ढलानको भवन निर्माण सम्पन्न गरेर आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । आव २०७६/७७ को असार मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोनाका कारण ढिलाइ हुन गएको संरक्षण अधिकृत रुपक मर्हजनले जानकारी दिए।
यस क्षेत्रमा गर्मी मौसममा १२४ र हिउँद महिनामा आगन्तुक र रैथाने गरी १४१ चरा भेटिएको छ । हिउँद् र वर्षामा दुवै सिजनमा आगन्तुक र रैथाने छुट्टाछुट्टै किसिमले चराको गणना गरिने छ । गर्मी मौसमको छोटो अवधिमा गरिएको अनुगमनका क्रममा भेटिएका १२४ प्रजातिका चरा सूचीकृत गरिएको छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर समेत फेला पर्नु खुसीको कुरा भएको भानुभक्त प्राणी उद्यानका कार्यालय प्रमुख महर्जनले बताउछन्।

उक्त उद्यान क्षेत्रमा विभिन्न प्रजातिका साल, कटुस, चिलाउने, क्यामुनो, खयर, पड्के, बुलड्याङ्ग्रो (बोटधयँरो), चाँप, भलायो, रातोपाते, सिमल, लाँकुरी, आँप, केरा, खिर्रा, बेल, साज, कुटमिरो, गिद्देनी, गोवरी, कुरीलो, अमला, जामुन, अमरा, तुथो, टाँकी, टुनी, बकाइनो, इपिलइपिल, पँदेल, कुंयालो, भकिम्लो, लालुपाते, खनायो, ठोट्ने, तेजपात, नुनढिके, अर्चले, नीउरो, गिठा, भ्याकुर, लिची, कागती, रुखकटहर, समी, पिपल, वर, चिउरी आदि रुख विरुवा पाइन्छन् ।

त्यसैगरी वन्यजन्तु प्रजातिमध्ये स्तनधारीहरुमा चितुवा, बाँदर, खरायो, रतुवा, दुम्सी, ओत, साँवे, वन विरालो, स्याल, लङ्गुर, रातो बाँदर, मलसाप्रो, लोखर्के, न्याउरी मुसो, भ्याल्सो, चरिबाघ, चमेरो रहेका छन् भने उभयचर प्रजातिमा गोहोरो, नाग, गोमन, अजिङ्गर, हरेप, भ्यागुता, छेपारो आदि पाउन सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ