मनाङ । मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।
बाढी पहिराले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पुर्याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
“बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पुर्याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ”, लामिछानेले भने, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।” बाढीको प्रभाव बिस्तारै माथिल्लो भागतर्फ सरेको आभाष भइरहेको उनले बताए।
माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए। “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक हुँ, केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ”, उनले भने।
पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिए। जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उनले बताए। बाढीको जोखिम बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन् ।
अस्थायी सडक मर्मतको काम शुरु
सडक सञ्जाल टुटेको मनाङमा अस्थायी सडक मर्मतको काम शुरु गरिएको छ । बाढीपहिराले क्षति बनाएको सडक तथा पुलमा तत्काल अस्थायीरुपमा पुनः सञ्चालन गराउने उद्देश्यका साथ काम शुरु भएको प्रजिअ लामिछानेले बताए।
अविरल वर्षाका कारण जिल्लामा मस्र्याङ्दी नदी र विभिन्न खोलामा आएको बाढीपहिराका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । जिल्लामा गत जेठ १४ गतेदेखि नै बाढीपहिराका कारण सडक तथा पुलमा आंशिकरुपमा क्षति पुगिसकेको थियो ।
असारको शुरुआतबाट जिल्लाका सबै सडक सञ्जाल टुट्न पुगेका छन् । वर्षापछि आएको बाढीपहिराका कारण झण्डै दुई सातादेखि जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। उक्त सडक सञ्जाल खुलाउन अहिले प्रयास गरिएको हो । अहिले एक्साभेटरको सहायतामा माटो राखेर सम्याउने कार्य भइरहेको छ ।
अस्थायी बाटो मर्मतका लागि एक्साभेटर सञ्चालनका लागि चाहिने इन्धन हेलिकप्टरबाट झारिएको प्रजिअ लामिछानेले जानकारी दिए। पैदलयात्रीसमेत हिँड्न गाह्रो भएकाले पहिले चामेबाट सजिलोसँग हिँड्न सकिने गरी खुलाउन लागिएको छ । पैदालयात्रु हिँड्न सक्ने भएमा यो बाटो भारी बोकेर हिँड्न वा घोडा र गधाले भारी बोकेर हिँड्न सक्ने उनले बताए।
यही असार ४ गते आएको अविरल वर्षाका कारण मस्र्याङ्दी नदी र जिल्लाका विभिन्न स्थानीय खोलामा आएको बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्याएको हो । बाढीपहिराका कारण सडक र पुलमा क्षति भएपछि मनाङ जिल्लाको चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका यातयात सञ्जालबाट पूर्णरुपमा टुटेका छन् ।
जोखिमयुक्त मोटरेबल पुल जोगाउन प्राविधिक टोली आउँदै
सदरमुकाम चामे बजार जोड्ने जोखिमयुक्त मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली आउँदैछ । बाढीपहिराका कारण ड्याम बनेर बसेको मस्र्याङ्दी नदी खुलाउन र मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली यहाँ आउँदै गरेको प्रजिअ लामिछानेले बताए।
प्रजिअ लामिछानेका अनुसार चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने जोखिमयुक्त मोटरेबल पुलमा मस्र्याङ्दीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा निकाल्ने क्रममा गत आइतबार स्काभेटरसहित अपरेटर फसेका थिए ।
नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए। त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो