साउन १ गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने, यसरी गर्नुहोस् ‘आईएमईआई’ दर्ता

साउन १ गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने, यसरी गर्नुहोस् ‘आईएमईआई’ दर्ता

imei_number

‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेजानकारी दिए । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

यसरी गर्नुहोस् ‘आईएमईआई’ दर्ता

व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

साउन १ गते पछाडि आउने मोबाइल आईएमईआई नम्बर दर्ता गरिएको छैन भने चल्दैन । साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या पर्दैन । तर सबैले आईएमईआई नम्बर दर्ता गर्दा राम्रो हुन्छ ।

इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । मोबाइलको कभरमै आईएमईआई नम्बर हुन्छ । कभर छैन भने पनि *#06# डायल गर्दा पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर देखिन्छ ।

यो नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिन्छ । मोबाइल सेटका व्यवसायीहरुले आफैं यो नम्बर दर्ता गरेका हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ