कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

Krishna Paudel cover

रञ्जन अधिकारी, पोखरा स्याङ्जा फेदीखोला-४ घर भएका २१ वर्षीय ठिटो कृष्णप्रसाद पौडेलले सयौंलाई सहजै ठगेपछि पीडित मात्र होइन, आम सर्वसाधारण दङ्ग छन् यतिबेला । कृष्णले मुख्यतः फेसबुक प्रयोग गरेरै खुलेआम ठगे । पोखरामा दुई ठाउँमा कम्पनी चलाएर विभिन्न उद्योगमा काम लगाइदिने भन्दै फाराम भराई जनही २५ सय लिँदै लाखौं लुटे ।

अन्ततः कृष्ण शुक्रबार प्रहरी फन्दामा परे । यो खबर सार्वजनिक हुने बित्तिकै अब जागिर सुरु गर्न तयार भएर बसेकाहरु छाँगोबाट खसेझैं भएका छन् । उनीहरुको एउटै भनाई छ ‘हामी कस्तो नमज्जासँग ठगियौँ भन्या !’

पिजी रियल स्टेट एण्ड जब लिंक नामक व्यवसाय पोखरा २७, तालचोक र सिद्धार्थचोकमा शाखा खडा गरी विभिन्न कम्पनीमा जागिर लगाईदिन्छु भन्दै पौडेल दम्पतीले ठगीधन्दा चलाएका थिए । आइतबार ३ जनाको लिखित जाहेरीपछि पौडेलविरुद्ध कारबाही प्रक्रिया सुरु भएको छ । यद्यपी, शुक्रबार नै शिशुवा प्रहरीले पक्राउ गरी जिप्रका, कास्कीमा पौडेललाई पठाइसकेको थियो । उनी कास्की प्रहरी हिरासतमै छन् ।

जिप्रका कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पौडेललाई ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । डिएसपी हमालले कृष्ण पौडेलबाट ठगिनेहरुले सप्रमाण कास्की प्रहरीमा उपस्थित भई जाहेरी दर्ता गर्न पनि आग्रह गरेका छन् ।

किशोरदेखि प्रौढसम्म, निरक्षरदेखि डिग्री होल्डरसम्म, पोखरादेखि बाजुरासम्मका पीडित

शुक्रबार शिशुवा प्रहरी कार्यालय, डाँडाको नाकमा धर्ना दिएका पीडितहरुले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडि धर्ना दिए । ठगीमा पर्नेहरुमा सबैभन्दा बढी बेरोजगार युवायुवतीहरु छन् । यसअघि जागिर खाइरहेकाहरु जो कोरोना महामारीका कारण जागिर गुमाए र विदेश पनि जान सकेका छैनन्, यो समूह झनै धेरै छ । पोखरा बसेर उच्च शिक्षा अध्ययनरत युवायुवतीदेखि फेसबुक मार्फत थाहा पाएका गण्डकीका अधिकांश जिल्लाबासीहरु पनि २५ सय जोहो गरेरै फाराम भर्न, अन्तर्वार्ता दिन, सेमिनारमा सहभागी हुन पटक पटक पोखरा आए । बाजुरासम्मका पीडित धर्ना टोलीमा भेटिए ।

निरक्षर महिलाहरु पनि प्याकेजिङ कामका लागि भन्दै गाउँले नै उल्टिएर फाराम भर्न पुगे । पोखरा ३३ बागमाराका मात्र २० जना बढी महिलाहरु ठगिएका छन् । धर्नामा आएकी लक्ष्मी पौडेलका अनुसार उनी घरको गाई, बाख्रा बेचेर अब जागिरका लागि ठिक्क परेकी थिइन् । खेतमा मेलापात जाँदा तालचोकमा जागिर मिलाउने अफिस खुलेको सुनेर समूहमै महिलाहरु गएर फाराम भरेका थिए । उनीहरुलाई उद्योगमा प्याकेजिङको काम मिल्ने, १ वर्षपछि स्थायी हुने, बोनस पाउने भनेर फसाएका थिए । ‘तपाईंका पढेका छोराछोरी होलान्, हाम्रो फेसबुक पेज पिजी हो, हेर्न लगाउनुस् कस्तो कम्पनी हो भन्ने कुरा भने । म पहिल्यै २–३ चोटी ठगिसकेको थिएँ । यो त साँच्चै हो नि ? भनेर भन्दा पुरै विश्वास दिलाए । अफिसभरी मान्छे थिए । सबै मान्छे आइरहने चहलपहल थियो । विश्वास गरियो, ठगियौँ ।’– पौडेलले गण्डकन्यूजसँग भनिन् ।

लमजुङ भोर्लेटारका शुशिल सुवेदी काकासहित मिलेर जागिरको चक्करमा ३ चोटी तालचोक आइसकेका छन् । पोखरा ग्राण्डमा सेमिनारमा सहभागीदेखि अन्तर्वार्तामा पनि आए । भाखा सार्दै सार्दै भदौ २७ मा जागिर सुरु हुने भनिएकोमा त्यसअघि २५ गते नै सञ्चालक पक्राउ परको समाचार गण्डकन्यूजमा देखेपछि काकाभतिज दुवैजना आफूहरु ठगिएको पत्तो पाइसके । उनीहरु आइतबार मात्रै पोखरा आएका छन् ।

पोखरा चाउथेका सन्तोष नेपाली बिबिएस प्रथम वर्षमा पढ्नेजान्ने हुँदा पनि ठगिएकोमा नमज्जा मानिरहेका छन् । फेसबुक विज्ञापनले नै उनलाई तालचोक पु¥यायो । अन्तर्वार्ता, सेमिनार भनेर बोलाइरहे, उनी गइरहे । पछि फेल भयौ, फेरि अर्को पोष्टमा अप्लाई गर भनियो, फेरि फाराम भरे । तर, अन्तर्वार्ता नहुँदै सञ्चालक नै प्रहरी खोरमा जाक्किए ।

कृष्णकै जिल्लाबासी स्याङ्जाका सन्दीप पुरी लकडाउनले पुनः विदेश जानबाट रोकिए, २५ हजार जागिर पाइने भनेर साथीले सुझाए । गए, २५ सय बुझाए, जागिर सुरु भएन । अफर लेटर झोलामा बोकेर उनी हिँडिरहेका छन् । पौडेलले अन्तर्वार्ता पास भयौ भनेर आफ्नै लेटरप्याडमा लेखेर अफर लेटर भन्दै थमाउथे । पोखरा छिनेडाँडाका राजेश सुनार उसैगरी ठगिए ।

डिग्री होल्डर पनि ठगिएका छन् । कृष्णले फाराम भर्दा नै कहिँकतै उजुरी नगर्ने व्यहोराको मञ्जुरीपत्रमा हस्ताक्षर गराएपनि उनीहरु आफू ठगिने शंका गरेनन् । विज्ञापन गर्दा कम्पनीको नामसहित पोष्ट खुलाएर गर्ने गरेपनि फाराम भर्नेहरु आउँदा कम्पनी देखाउन आग्रह गर्दा कहिल्यै कम्पनी देखाएनन् ।

अन्य जब सेन्टरले फाराम भरेको ५ सय लिएर मासिक तलबको निश्चित प्रतिशत लिने गरेकोमा यो जब् लिन्कले सुरुमै २५ सय लिएर पछि तलब नकाट्ने भनेकाले पनि युवाहरु यसरी फसेको स्वयं पीडितहरु बताउँछन् ।

पिजी मल्टिपर्पोज एण्ड जब्स् नामक पेजबाट वर्षौंदेखि आकर्षक डिजाइनमा फेसबुक विज्ञापन गरिएका छन् । त्यस पेज हेर्दा अन्तर्वातामा पास हुनेहरु, पेण्डिङमा बस्नेहरु नामावली प्रकाशित भएको पनि देखिन्छ । जागिर हन्ड्रेड पर्सेन्ट मिल्ने, आफ्नो योग्यता र क्षमता अनुसार १४ हजारदेखि ४० हजारसम्म तलब मिल्ने भन्दै फेसबुकमा विज्ञापनहरु स्पोन्सर गरिएका थिए ।

ठगी धन्दा पहिल्यैदेखि !

२०७६ सालदेखि नै कृष्ण ठगीधन्दामा लागेको बुझिएको छ । प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पहिले कन्सल्टेन्सी नामबाट ठगेको गुनासो आएको तर त्यसबारे अनुसन्धान गर्न बाँकी रहेको बताए । उनले जाहेरी बल्ल परेकाले सोमबारदेखि अनुसन्धान प्रक्रिया अघि बढ्ने बताए ।

हाल पिजी रियलस्टेट एण्ड जब् लिन्क नामक कम्पनी तालचोक र सिद्धार्थचोकमा खडा गरी ठगी कार्यलाई उनीहरुले निरन्तरता दिएका हुन् । ३० दिनमा अंग्रेजी खररर बनाउने, घरजग्गा सस्तोमा किनबेच लगायतका विज्ञापन गरेपनि त्यो सबै हावादारी रहेको धर्नामा भेटिएका एक पीडित युवकले बताए ।

४५ सय ठगिएको जिकिर, जनही २५ सय उठाउँदा करोड बढी

तालचोक स्थित कार्यालयमा बलजफ्ती पसेर कागजपत्र खोसेका युवाहरुले ४३ सय जनाको नामावली फोन नम्बरसहित फेला पारेको जनाए । कम्तिमा ४५ सय जना ठगिएको उनीहरुको जिकिर छ । पछिल्लो पटक १७ सयलाई फुड कम्पनी, १२ सयलाई आरआई कम्पनीमा जागिर लगाइदिनेछौं भनेर पौडेलले ढाँटेका थिए । २५ सयकै दरले फाराम शुल्क उठाउँदा पनि १ करोड १२ लाख ५० हजार हुन आउँछ ।

डिएसपी हमालका अनुसार कृष्णको बयान लिने काम भने सुरु भएको छैन । शिशुवा प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले प्रारम्भिक बयानमा १७ लाख उठाएको बयान दिएको प्रतिक्रिया दिएका थिए ।

विश्वास जित्न पोखरा ग्राण्डमा सेमिनार, मिडियादेखि पढेलेखेकालाई समेत गुमराहमा पारे

सानै उमेरमा चोर बुद्धिले सयौं फसाएका कृष्णले कम्पनी पनि विधिवत् दर्ता गरेका छन् । दर्तावाल कम्पनीको कार्यक्रम भएपछि पोखराकै एक मिडिया पनि उनको सेमिनारको भिडियो प्रसारण गर्न राजी भयाे ।

उक्त मिडियाले विशुद्ध व्यवसायिक हिसाबले कार्यक्रम खिचेको प्रष्टीकरण दिएको छ । उक्त सेमिनारको सञ्चालन पनि मिडियाकर्मीले नै व्यवसायिक तबरले गरेकाे जनाएका छन् । विधिवत् दर्तावाल कम्पनी भएकाले मिडियालाई समेत गुमराहमा पार्न पौडेल सफल भए । स्टार होटलमा सेमिनार, मिडियाकै संलग्नताले पनि कम्पनीमाथि विश्वास बढेको पीडित युवाहरूकाे भनाई छ ।

कम्पनीको तालचोक र सिद्धार्थचोकको अफिस पनि व्यवस्थित गरेका छन् । सेक्युरिटी गार्डदेखि आधा दर्जन बढी स्टाफ समेत खटाएको पाइएको छ । फेसबुक पेजमा प्रोफेशनल ग्राफिक डिजाइनरले बनाएको आकर्षक विज्ञापन समेत देखिन्छ । यस हिसाबमा उनले गर्न बाँकी केही छैन, मात्र जागिर दिलाउन बाहेक ।

स्याङ्जा अपडाउन गर्न दैनिक ६ हजार तिरेर स्कोर्पियो, गाउँमा पैसाको धाक

कृष्णको घर स्याङ्जा फेदीखोला गाउँपालिका ४, आरुखर्क लप्सिबोट हो । उनको केही वर्ष अघि विहे भएको छ भने वर्षदिन पूरा भइसकेको सन्तान पनि छ । श्रीमती पनि सँगै अफिसमा राखेर ठग्ने काम गर्दै आइरहेका थिए ।

केशव पौडेल भनेर चिनिने कृष्णको पछिल्लो समय गाउँमा चुरीफुरी निकै बढेको थियो । उनका निकट साथीका अनुसार उनले माध्यमिक तह पनि पढेका छैनन् । तर ब्याचलर पास भन्दै हिँड्छन् । डिग्री होल्डरहरुलाई समेत जिल्याउन उनी सफल बने ।

सामान्य किसान परिवार जन्मेका कृष्णका बुवा निकै सोझोसिधा रहेको भन्दै एक आफन्त आइतबार जिप्रका कास्कीमा डिएसपी कार्यकक्षमा भेटिएका थिए । ‘बाउ चाहिँ साह्रै सोझा छन् । छोरो के निस्क्यो यस्तो । राम्रो काम गर्दैछ, म्यानपावर चलाउँदैछ, पैसो राम्रो कमाउँदैछ भन्थ्यो । फस्यो कि फसाइयो ? भनेर म बुझ्न आको ।’ ति प्रौढ पुरुष भन्दै थिए ।

कृष्णले दिनको एक लाख कमाउँछु भनेर आफन्त र साथीभाइमाझ गफ दिने गर्दथे । आफ्नो घर र पोखरा आवतजावत गर्न उनले प्रयोग गर्ने सवारीसाधन र लवाई खवाई देख्दा उनको त्यो गफ जस्तो पनि लाग्दैनथ्यो । उनले पोखरामा व्यापार व्यवसाय सञ्चालन गरेर देशभर शाखा विस्तार गर्ने योजना सुनाई बुबालाई लगानी गरिदिन पनि भनेका थिए । पोखरामा अफिस खोल्न पैसा लगानी गरिदिएको खण्डमा आफ्ना बालाई बोराका बोरा पैसाले पुरिदिने आश्वासन देखाउँदै उनले ऋण झिक्न लगाएको र पुर्खौली घर र केही जग्गा समेत बेच्न लगाएको उनको निकट मित्रले बताएका छन् । उनले पछि गाउँमै अर्को पुर्खौली जग्गामा घर समेत बनाइसकेका छन् ।

पौडेलले घरबाट आऊ जाऊ गर्न महँगा महँगा सवारीसाधन प्रयोग गर्ने गर्दथे । महिना महिनामा बाइक परिवर्तन गर्ने उनको सोख थियो । उनले गाउँमा देखाउन कै लागि भए पनि बाइक फेरेर गाउँ जाने गर्दथे । केही आफ्नै, केही भाडामा त केही बाइक साथीभाइका लिएर जाने गर्दथे । गण्डक न्यूजमा समाचार प्रकाशित भएपछि लेकसाइड स्थित एक बाइक भाडामा लगाउने व्यवसायीले अहिले पनि एउटा बुलेट र १८० पल्सर लगेकाे जानकारी गराएका छन् । लकडाउन सँगै उनले आवत जावत गर्न दैनिक ६ हजार तिर्ने गरी स्कार्पियो भाडामा लिने गरेको पनि खुलेको छ ।

प्रहरी भन्छः ठगिएकाहरु निवेदन लिएर आउनुस्, पैसा पाउनुहुनेछ, नदिए पौडेल थुनामै

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले ठगिएकामध्ये ३ जनाले मात्र आइतबार जाहेरी दिएको बताए । उनले यही जाहेरीको आधारमा कारबाही प्रक्रिया अघि बढेपनि अब ठगिएकाहरुले आफ्नो पैसा फिर्ता पाउन निवेदन दिनुपर्ने बताए । डिएसपी हमालले ठगिएकाहरुले प्रमाणका साथ जाहेरी दिन पनि आग्रह गरेका छन् ।

पीडितका नाममा ‘भिजिलान्ते’ !, वास्तविक पीडितलाई नै बदनाम गर्ने युवराज र नवराज प्रहरी खोरमा

धर्नामा देखिएका कति विद्यार्थी छन् त कति मजदुर छन् । उनीहरुलाई २५ सय पनि ठूलो छ । शुक्रबार दिनभर शिशुवामा धर्ना दिनेहरु आइतबार दिनभर जिप्रका कास्की अगाडि पनि देखिए । तर त्यस भीडमा केही भने हुलहुज्जत र रमाईलो गर्न मात्र आएको जस्तो पनि देखियो । प्रहरी विरुद्ध जाइलाग्ने, मिडिया विरुद्ध आक्रोश पोख्ने, पत्रकारहरुलाई हातपात गर्ने आधा दर्जनजति देखिए ।

आइतबार दिउँसो कालो टोपी र कोट भिरेर एक युवक जिप्रका अगाडि रोकिए । ति युवक देख्नासाथ एक हुल उनलाई घेर्न पुगे । झोला खोस्, ल्यापटप हेर्, के के छ निकाल्, त्यसलाई कुट् भन्दै भिडले घेर्न सुरु गर्दा पत्रकारले दृश्य कैद गर्न थाले । त्यसपछि टोले गुुण्डा पारामा २–३ जना पत्रकारमाथि जाइलागे । उनीहरुले भिडियो रेकर्ड भइरहेको मोबाइल खोसे । पत्रकार भएपनि हान् भन्दै लछार्न थाले । भिडियो डिलिट गर्ने शर्तमा मोबाइल दिइयो । पछि भिडियो रिस्टोर गरी गण्डकन्यूजमा उक्त भिडियो प्रसारण भइसकेको छ ।

पत्रकारमाथि हातपात गर्ने ३१ वर्षीय युवराज लामा र ३० वर्षीय नवराज शर्मा रहेको प्रहरीले जानकारी दियो । उनीहरुले पोखरा १७ बिरौटा घर भनेर ढाँटेको पछि खुल्यो । लामा अहिले पोखरा ७ मासबारमा ससुरालीमा बस्दै आएका छन् । घर काठमाण्डौ १४ कलंकी रहेको लामाले बताएका छन् । डिएसपी सुवास हमालका अनुसार नवराज शर्माको घर पोखरा २७ तालचोक हो ।

उनीहरु र अन्य दुई जनालाई प्रहरीले केही समयमै नियन्त्रणमा लिई हिरासतमा राख्यो । मोबाइल, पर्स लुटिएका नवलपरासीका सरोज च्वाईं सुवेदीले प्रहरीमा उजुरी पनि दिएका थिए ।

जिप्रका आएका टोपी लगाउने युवक सरोजले भिडबाट बच्न आफू कोहि होइन भनेपनि उनी सञ्चालक कृष्ण पौडेलको नातेदार रहेको रहस्य पछि खुलेको छ । पोखरा ग्राण्डको सेमिनारको भिडियो हेर्दा पनि सरोज देखिएका छन् ।

सरोजलाई लुट्ने र पत्रकारलाई हातपात गर्ने युवराज र नवराजहरु अन्य बेला देखिएका छैनन् । उनीहरु हुलहुज्जत गर्न मात्र आएको हो कि ? भन्ने प्रहरीको आशंका छ । ‘ति दुई जना फाराम भरेर २५०० तिरेका पीडित हुन् कि होइनन्, बुझ्न बाँकी छ ।’ डिएसपी हमालले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ