नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी नेतृत्वको उम्मेदवारलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिने भएको छ । जोशी समूह तथा समर्थकहरुले आगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल र सहकार्य गर्ने भएको हो ।
शनिबार जोशी निवासमा भएको बैठकपछि एमालेसँग चुनावी तालमेल र साझा उम्मेदवार खडा गर्ने निर्णय भएको हो । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी ८ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ ।
जोशी समूहको एमालेसँग चुनावी तालमेल भएपनि उम्मेदवारहरु आफ्नै चुनाव चिन्हमा लड्ने जानकारी सो समूहले दिएको छ । समूहका अनुसार व्यास नगरपालिका प्रमुखमा दीपकराज जोशी उम्मेदवार बन्ने छन् । उनलाई एमालेले समर्थन जनाइसकेको छ । नेता जोशीका अनुसार तनहुँका प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुमा दुई पक्षले साझा उम्मेदवार खडा गर्ने छन् ।
तनहुँ कांग्रेसमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र जोशीबीच वैमनस्यका कारण नेपाली कांग्रेस कमजोर स्थितिमा रहेको छ । पौडेलको राजनीतिक अस्तित्व जोडिएको जिल्लामा गत संसद निर्वाचनमा पौडेलको पराजयपछि अन्तर्घातको आरोपमा जोशीलाई पार्टीबाट निष्काशित गरिएको थियो ।
दलको स्थानीय तहबाट उक्त निर्णय रद्द गरी उनलाई दलमा ससम्मान पुनर्स्थापित गर्न गरिएको आग्रहलाई केन्द्रीय नेतृत्वले उपेक्षा गरेपछि आगामी स्थानीय तह निर्वाचनमा एमालेसँगको तालमेल अघि बढेको देखिन्छ ।
गत चुनावमा पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ हाल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका तर्फबाट केन्द्रीय मन्त्री छन् । कांग्रेस संस्थापन तथा स्थानीय राजनीतिमा वर्चश्व देखाउँदै आएका पौडेल माओवादी र वर्तमान सत्ता गठबन्धनसँग स्थानीय निर्वाचनमा तालमेलको पक्षमा छन् ।
जोशीले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टिकट दिएमा आफ्नै पार्टीबाट अन्यथा ‘जनताको तर्फबाट’ चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?