पोखरा। ठूलीमजुवा स्थित संरचना टोलको बाटो समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं -१५ ठूलीमजुवा स्थित गल्ली नं -३ को नयाँ ढलान बाटोको वडाध्यक्ष तोरण बहादुर बानियाँले समुद्घाटन गरेका हुन्।
समुद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बानियाँले निर्वाचनका बेला व्यक्त गरिएका प्रतिवद्धता अनुरुप पोखरा -१५ लाई ३३ वटै वडा मध्ये नमुना र सभ्य नागरिक बसेको वडा बनाउने अभियानमा लागेको बताए। उनले पूर्वाधारको विकासले मात्र नमुना वडा नबन्ने भन्दै वडाका प्रत्येक दिदीबहिनी र युवाहरु स्वरोजगारतर्फ उन्मुख हुनुपर्ने र त्यसका लागि आधारहरु तयार गर्नुपर्ने बताए। अध्यक्ष बानियाँले अघिल्ला वर्षहरुमा पनि धेरै पूर्वाधारका कामहरु भइसकेको भन्दै अब महलमा बस्ने व्यक्तिहरुको मात्र आवश्यकतालाई नहेरी झुपडीमा बस्ने जनताको आवश्यकता पूर्ति गर्नतर्फ सोच्नुपर्नेमा जोड दिए ।

बानियाँले आफू पनि यही ठाउँमा जन्मिएको र यही स्थानमा खेलेको स्मरण गर्दै आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर समाज निर्माणका लागि अगाडि बढ्नुपर्ने बताए। उनले वडा नं -१५ मा रहेका सार्वजनिक जग्गाहरुलाई संरक्षण गर्दै ती स्थानमा आवश्यकता हेरी खेलकुद र व्यायमशाला बनाउने योजना रहेको सुनाए। वडा नं -१५ मा आर्थिक दुरावस्थाका कारण विद्यालय जान नपाएका जो कोही बालबालिकाका लागि निशुल्क एसईई सम्म पढ्ने सुनिश्चितताको ग्यारेन्टी गर्ने अध्यक्ष बानियाँले जिकिर गरे।
अध्यक्ष बानियाँले वडा नं -१५ लाई आलुको पकेट क्षेत्रको रुपमा विस्तारका लागि एक खेतिको नीति ल्याइनुका साथै खेलकुदका लागि अन्तर विद्यालय स्तरीय प्रतियोगिताका धेरै कार्यक्रम ल्याइने बताए। उनले महलदेखि झुपडीमा बस्नेहरुको मागलाई सम्बोधन गर्ने गरी बजेट ल्याएको भन्दै अबका योजनाहरुलाई पूरा गर्न सम्पूर्ण वडावासीको सहयोग र समर्थन पाउने आशा व्यक्त गरे।

यस्तै वडा नं -१५ का निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले समुदायसँग मिलेर बस्ती र टोल-टोलमा विकास र परिवर्तनका उल्लेख्य कामहरु गरेको दाबी गरे । उनले ५ वर्ष अगाडि ठूलीमजुवा क्षेत्र अत्यन्त विकट र अव्यवस्थित रहेकोमा आफ्नो कार्यकालमा यस क्षेत्रका सडकहरु फराकिलो बनाइनुका साथै थुप्रै स्तरउन्नतीका कामहरु गरिएको बताए। उनले यस क्षेत्रका स्थानीयको उत्साह हौसला र मिहेनतले विकासका कामहरु सम्भव भएको दाबी गरे। हिजोका दिनमा गरिएका प्रतिवद्धताहरु पूरा गरेकाले त्यहि मनोविज्ञान र भावना बुझेर अहिलेको निर्वाचनमा पनि जनताले सहज ढंगले सफलता दिलाएको पौडेलले बताए ।
संरचना टोलका कोषाध्यक्ष अर्जुन गुरुङले यसअघि पोखरा बसेपनि पोखरा जस्तो महशुस नभएको बताए। अहिले यस क्षेत्रमा बाटो ढलानसँगै सडक छेउ तारजाली लगाउने काम भएपछि सहज र सुरक्षित भएको प्रतिक्रिया दिए। उनले अझैपनि खहरेको पानीको व्यवस्थापन, कल्भर्टको निर्माण र गलेश्वर जोड्ने पूल निर्माणका लागि पहल गर्न आग्रह गरे। यसबाहेक ठूलीमजुवादेखि टुटुङ्गा जोड्ने झोलुङ्गे पूल बनाउन जनप्रतिनिधिलाई सुझाए।

टिका कुमारी पाचे ‘मगर’ को अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपभोक्ता समितिका सदस्य नरेन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रमको संचालन प्रेम बहादुर रोकाले गरेका थिए।
कार्यक्रममा संरचना टोल निवासी ६ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर जनप्रतिनिधिहरुले सम्मान गरेका थिए।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन