पोखरा । कोइराला परिवारको दाबी रहेकाे पोखरा न्युरोडको अर्बाैं रुपैयाँ पर्ने ५ रोपनी जग्गा सरकारी हुने फैसला भएकाे छ । अब उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको भएकाे छ । न्युरोडको कित्ता नम्बर ११६८ को ५ रोपनी जमिनमा पोखरा ४ का कोइराला परिवारको दाबी थियो ।
२०३२ सालमा न्युरोड विस्तार विकास गर्दा नगर विकास समितिको हुने सर्तनामा भइसकेको जमिनमा समितिकै दाबी पुग्ने फैसला कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार गरेको हो । अदालतले दुवै पक्षको बहस र प्राप्त तथा पेस प्रमाणका आधारमा जग्गामाथि उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको जानकारी अदालतका सूचना अधिकारी नील पनेरुले दिए ।
पोखरा महानगरपालिका कार्यालय नजिककै उक्त जग्गामा राजेन्द्रनिधि कोइराला, भरत कोइराला, सकुन्तला कोइराला लगायतको दाबी थियो । करुणानिधि कोइराला र खेमलाल कोइरालाको नामको सहित ४१ जनाको जग्गा तत्कालीन पोखरा नगर योजना कार्यान्वयन समितिले न्युरोड एकीकृत जग्गा विकास आयोजनाका क्रममा एकीकरणसहित विकास गरेको थियो । त्यस क्रममा उनीहरुले पाउनुपर्ने ५ रोपनी ४ आना २ पैसा जमिन आफूले लिएर अर्कैलाई बिक्री गरेका थिए भने बाँकी ५ रोपनी ७ आना ३ पैसा २ दाम उपत्यका नगर विकास समितिको नाममा आउन बाँकी थियो ।
४१ जनामध्ये कोइरालाद्वयको जमिनबाट मात्रै सुरुमै समितिको नाममा आउन बाँकी थियो । त्यति बेला नै अर्कै प्रयोजनमा उनीहरुको जग्गा रोक्का भएको हुँदा समितिको नाममा आउन सकेको थिएन । २०३७ साल मंसिर १६ गते मात्रै उनीहरुको जमिन फुकुवा भएको थियो । फुकुवा भएको पर्सिपल्टै उनीहरुले ५ रोपनी ४ आना २ दाम अर्कैलाई बिक्री गरेका थिए । बाँकी जमिन समितिको नाममा दिन बाँकी नै थियो । पछि भने कोइराला परिवारभित्रबाट अंशबन्डाका लागि जमिन फुकुवाका लागि सर्वाेच्चमा मुद्दा हालेका थिए ।
सर्वाेच्चले अंशबन्डाको हक लाग्ने हदसम्मको फुकुवा भनी फैसला गरेको थियो । त्यसपछि मुद्दा उत्पत्ति भएकै तहको अदालत अर्थात जिल्ला अदालतमै फेरि मुद्दा आएको थियो । कोइराला परिवारले जमिन आफूहरुको नाममा ल्याउन गरेका प्रयास विरुद्ध नागरिक समाजका तर्फबाट विष्णु बराल, पर्शुराम बराल र डिल्लीराम अधिकारीले समेत जिल्ला अदालतमा मुद्दा हालेका थिए । सँगै उपत्यका नगर विकास समितिले पनि अर्काे मुद्दा हालेको थियो । तीन वटै मुद्दाको एकमुष्ठ फैसला न्यायाधीश भट्टराईको इजलासले सोमबार गरेको हो ।
उक्त मुद्दामा वादी उपत्यका नगर विकास समिति तथा नागरिक समाज प्रतिनिधितर्फको पक्षबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, अधिवक्ताहरु विष्णु अधिकारी, शुकदेव गौतम, डिल्लीराम अधिकारी र गिरिधारी सुवेदीले बहस गरेका थिए । प्रतिवादी कोइरालाहरुका तर्फबाट भने अधिवक्ताहरु रामचन्द्र त्रिपाठी, दामोदर अधिकारी र फणीन्द्रराज कोइरालाले बहस गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ