‘इतिहास, संस्कृति र सम्पदा जोगाए मात्रै समृद्धिको यात्रा सम्भव’

‘इतिहास, संस्कृति र सम्पदा जोगाए मात्रै समृद्धिको यात्रा सम्भव’

Saskritik Sampada (1)

पोखरा । ‘विकसित देशको भ्रमण गर्दा सबैभन्दा पहिले हामी म्युजियम नै पुग्छौँ । घुम्न जाने ठाउँ नै संग्रहालय हो । किनकि, संग्रहालयबाट त्यो देशको इतिहास, संस्कृति, जीवनशैली बुझ्छौँ’– प्रदेश संग्रहालय पोखराकी प्रमुख करूणा राईले भनिन् – ‘जुन देशले इतिहास, संस्कृति, सम्पदा जोगाएका छन् । समृद्ध छन् । संग्रहालय राजश्व संकलनको आधारमात्र होइन, संस्कृति संरक्षणको मूख्य थलो पनि हो ।’

प्रदेश संग्रहालयले मंगलबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा रहेका अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी टक शो कार्यक्रममा प्रमुख राईले यहाँका संग्रहालयका समष्टिगत विवरण प्रस्तुत गरिन् । उनले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कूल ७२ वटा विभिन्न प्रकारका संग्रहालय रहेको जानकारी दिँदै ४१ वटा प्रस्तावित एवं निर्माणाधिन अवस्थामा रहेको जनाइन् । धेरै संग्रहालय स्थानिय स्तर वा व्यक्तिगत तबरबाटै सञ्चालनमा रहेको तथ्यांक पनि प्रस्तुत गरिन् । साथै, संग्रहालय ऐनको अभावमा कति कामहरु गर्न नसकेको भन्दै सरोकारवालालाई ध्यानाकर्षण पनि गराइन् ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका शिक्षण सहायक लक्ष्मण श्रेष्ठले बाह्र भैरव नृत्य बारे कार्यपत्र प्रस्तुत गरे । पोखरामा नेवार जातिको प्रवेश विषयमा सोधपत्र तयार गरिसकेका श्रेष्ठले बाह्र भैरव नृत्य पोखराले जोगाउन सकेकोमा गर्वबोध गर्दै यसलाई निरन्तरता दिइरहनुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ गोरे गुरुङले लोपोन्मुख ज्यू मामा नृत्यबारे कार्यपत्र प्रस्तुत गरे । यसैगरी, सम्मरबहादुर गायकले परम्परागत लोकबाजा सारङ्गीबारे जानकारी दिए । लालबहादुर गायक र गोविन्द गायकले प्रस्तुति पनि राखे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले इतिहास बोल्ने र संस्कृति झल्काउने सम्पूर्ण सम्पदा नेपालका गौरव हुन् भन्दै यही गौरवलाई जोगाएरै समृद्धिको यात्रा बढाउन सकिनेमा जोड दिए । सम्पदा मासेर आधुनिक संरचना निर्माण गर्नुलाई समृद्धिको अर्थमा बुझ्न नहुने उनको भनाइ थियो ।

इतिहासविद् प्रा.डा. दिलबहादुर क्षेत्रीले हाम्रो इतिहास गर्विलो रहेकाले नयाँ पुस्तामाझ हाम्रो विगत, संस्कार र संस्कृति हस्तान्तरण गर्नुपर्ने उल्लेख गरे ।

विम्वकवि प्राज्ञ रमेश श्रेष्ठले संस्कृति अवलम्बनमा समयानुकुल ध्यान दिइनुपर्नेमा जोड दिए । धर्म र संस्कारका नाममा अल्झियौँ भने पुस्तान्तरण नहुने भएकाले समायानुकुल परिवर्तन गर्दै संस्कृति हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएकोमा उनको जोड थियो ।

कार्यक्रममा सहभागीहरुलाई विभिन्न शेसनमा हाम्रा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका बारेमा जानकारी गराइएको थियो ।

विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत् सिर्जना अनुरूपको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमको सिर्जनाहरूलाई संस्कृतिक रूपमा सम्बोधन गर्ने गरिन्छ । कुनै भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव समुदाय वा समुदायहरूलाई सिर्जना तथा अवलम्बन गरेका संस्कृतिलाई त्यसै क्षेत्रको नामबाट सम्बोधन गर्ने गरिएको पाइन्छ ।

वर्तमान नेपालको सीमाभित्र इतिहासका विभिन्‍न कालखण्डमा बसोबास गरेका विभिन्‍न मानव समुदाय वा मानव समुदायहरूले सिर्जना गरेर छाडेका र हालसम्म बसोबास गरी रहेका हाम्रा विभिन्‍न जाति एवं समुदायका पुर्खाहरूले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।

प्राचीनकालदेखि परम्परागत प्रचिलत र मान्यताहरूको आधारमा हुँदै आएको संस्कृति सम्पदाहरूको संरक्षण एवं व्यवस्थापन कार्यले प्राचीन स्मारक संरक्षण ऐन, १०१३ लागू भएपछि कानुनी आधार प्राप्त गरेको हो ।

सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। राष्ट्रिय संस्कृति नीति २०६७ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको छ ।

नेपाल सरकारले मूर्त सांस्कृतिक सम्पदा महासन्धि १९७२ र अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ को मर्म र पक्ष राष्ट्रको दायित्वका आधारमा पूरा गर्दै आएको छ । यसर्थ संस्कृतिको माध्यमबाट नेपालको पहिचान र अखण्डता अझै बलियो हुन जाने हुँदा यसलाई अझै प्रभावकारी र वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन, ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षण’ ऐनको निकै ठूलो आवश्यक पनि रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ