लेकसाइडको ‘माया थकाली’मा खानासँगै स्टीलका टुक्रा, उल्टै प्रहरीबाट दुर्व्यवहार [भिडियो]

मनपरी र दुर्व्यवहार

लेकसाइडको ‘माया थकाली’मा खानासँगै स्टीलका टुक्रा, उल्टै प्रहरीबाट दुर्व्यवहार [भिडियो]

सञ्चालक चौधरीले पत्रकारलाई अपशब्द बोल्दै क्यामेरा फुटाउन खोजे

Cover hemraj durbebahar

पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइड । लेकसाइड भन्ने बित्तिकै पोखराको केन्द्र । पर्यटक चहलपहल हुने स्थान । यहीँ छ एउटा ‘माया थकाली भान्छा घर एण्ड रेष्टुरेन्ट’ । बोर्डमा लेखिएको छ ‘बेस्ट फुड, बेस्ट प्लेस’ ‘थकाली खाना रू. ३००’

भान्छा घरको नाम माया भएपनि ग्राहकले घृणा व्यहोरे । बेस्ट फुड होइन, खानै नहुने चीज खुवाए । बेस्ट प्लेसमा सुनिनसक्नूको अपशब्द र गाली सुनेर ग्राहक फर्किए । प्रहरीलाई बोलाइयो । प्रहरीले पनि उस्तै व्यवहार गरे ।

घटना मंगलबार राति साढे ११ बजेतिरको । ग्राहक हुन् पत्रकार । फेवा खबर डटकमको तीन जनाको टोली खाना खान माया थकाली छिरे । खाना आयो । खान सुरु गरे । एक भाइले खाना लिन सुरु गर्दा फेवाका सञ्चालक हेमराज अधिकारीले देखे र वेटर बोलाए । त्यसपछि पत्रकारको टोलीले क्यामेरा अन गरे ।

विनय चौधरी नाम गरेका स्टाफले पुष्टि गरे खानामा भेटिएको टुक्रा स्टीलकै हो । भाँडा माझ्ने जालीको स्टील रहेको लेखामा काम गर्ने अर्को स्टाफले पनि स्विकार गरे ।

‘यदि खानासँगै स्टील पेटमा पुगेको भए ?’ विवाद यहीँबाट सुरु हुन्छ । सञ्चालक विशाल चौधरीले घटनाप्रति कुनै दुःख मनाउ नगरी विवादमा उत्रन्छन् र भन्छन् – ‘कपाल पर्छ, ढुंगा पर्छ, यो सामान्य हो । महाभारत बनाउनुपर्छ ?  बमजस्तो लाग्यो कि क्या हो ? के हुन्छ ?’

माया थकाली भान्छाघरको नाममा व्यवसाय चलाउने चौधरीले आफ्नै ग्राहक विरुद्ध घृणाका यहाँ लेख्नै नमिल्ने शब्दहरु ओकल्न सुरु गर्छन् । झोक्किँदै ‘पागल पत्रकार साला गोरू *** लाई म चिन्छु क्या’ भन्दै क्यामेरा झड्का दिने गरी हान्छन् र जान्छन् ।

पत्रकार हेमराजले ‘३ जनाको कति भो ? तिर्छौँ खान्नँ’ भनेर प्रहरी बोलाउँछन् । हवल्दार आउँछन् । उनले माथिका बाेलाउँछन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका सई पुष्प केसी आइपुग्छन् । सई केसीकाे भूमिका झनै चकित् पार्ने खालकाे देखिन्छ । पत्रकार विरुद्ध भएको दुर्व्यवहारलाई गलत भन्नुपर्ने ठाउँमा उल्टै पत्रकारलाई नै भिडियो किन खिच्या ? भन्दै प्रश्न गर्छन् । सार्वजनिक सेवामा खटिएका बर्दी लगाएकाे प्रहरीबाट प्रेस स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुन्छ ।

खानामा अखाद्य, शरीरलाई गम्भीर हानी हुने वस्तु भेटिएपछि गुनासो गर्दा रेष्टुरेन्ट सञ्चालक र प्रहरीबाट उल्टै मानमर्दन भएपछि पत्रकार हेमराज भोलिपल्ट जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भेट्छन् ।

सहायक सिडिओ ढकाल भन्छन्ः ‘सार्वजनिक स्थलमा अभद्र व्यवहार हुनु दुःखदायी घटना हो । पर्यटकीय ठाउँमा यस्तो लापरबाही हुनू झनै गम्भिर हो । रात्रीकालीन व्यवसायसमेत सुरु गर्ने भनिरहेका बेला, ६ महिना अगाडि नै सबै होटल व्यवसाय सञ्चालन गर्ने व्यवस्था भइसकेको अवस्थामा यस्तो हुने नराम्रो हो । शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो गम्भीर छ । कानुनी उपचार सुरु गरे न्याय नपाइने भन्ने हुन्न ।’

पत्रकार अधिकारीले घटनामा संलग्नमाथि र प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने प्रहरी विरुद्ध उजुरी गर्दैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds