पोखरामा कस्तो अभियान यो? ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’

असभ्य अभियान !

पोखरामा कस्तो अभियान यो? ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’

दुरासययुक्त मानसिकता हो, गलत प्रोपागाण्डा नगरौँः मेयर आचार्य

sadak bich fohor

यतिबेला पोखराको फोहोर नियमित नै उठिरहेको छ । पहिले झैं समस्या अहिले छैन । पोखराका बासिन्दाले राति सडक छेउमा फोहोर फाल्छन् । महानगरका गाडीले बिहानै उठाउँछ । वडा वडामा तालिका नै बनाएर फोहोर उठिरहेको छ ।

तर, यही बेला फोहोरलाई सडकको बीचमै फालौं भन्ने आशयमा एकथरीले अभियान चलाइरहेको भेटिएको छ । सडकका पोल तथा भित्ताहरुमा ‘सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ’ भन्दै मुनि ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ लेखेको देखिन्छ । र, ती अभियानकर्मीले सडक छेउमा फालिएका फोहोर बीचमा लगेर राख्दै पोष्टर टाँस्दै हिँडेको तस्वीर, भिडियो पनि सार्वजनिक भएको छ ।

के हो ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ ?

फेसबुकमा एउटा अकाउण्ट छ ‘फोहोर ब्यबस्थापन अभियान पोखरा’ । जुन अकाउण्टमा जनप्रतिनिधिहरु, पोखरा महानगरका कर्मचारीहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, पत्रकारहरू साथी सूचीमा देखिन्छन् । त्यसबाहेक झण्डै १५ सय जनाले फलो पनि गरेका छन् ।

यो आईडीलाई सुक्ष्म ढंगले निगरानी र अनुसन्धान गर्दा पोखराको सरसफाई र फोहोर व्यवस्थापनकै लागि क्रियाशील व्यक्तिले चलाएको पाइयो । दर्जनौं लाइभ भिडियो, सरसफाई अभियान तथा कार्यक्रममा सहयोगी भएका तस्वीरहरु पनि भेटियो । यद्यपी, हालसम्म परिचय खुल्ने गरी प्रस्तुत भएको पाइएन ।

यो फेसबुक अकाउण्ट चलाउने पोखराकै परिचित व्यक्ति रहेको ठम्याउन गाह्रो छैन । उनकाे तस्वीर नै फेसबुकमा देखिन्छ । यद्यपी, यही अभियानको नामबाट उनी प्रस्तुत भइरहेका छन् ।

फेसबुकमा निकनेम नै ‘एन इन्डिपेन्डेन्ट मुभमेन्ट’ राखेका छन् भने इन्ट्रोमा ‘सफा राखौँ ‘लेखेका छन् । जसको अभियान र आन्दोलन नै पोखरा सफा गर्ने छ, उसैले किन बीच सडकमा फोहोर फालौं भनेर पोष्टर, पम्प्लेट टाँस्दै गलत कामका लागि अभिप्रेरित गरे ? यसबारे यही आइडीमा सन्देश छाड्दा लामो समयसम्म पनि हेरेको पाइएन ।

बीच सडकमा फोहोर फालौँ भन्ने यो अभियान गत वर्षदेखि नै सुरु भएको फेसबुकमा देखियो । आजकै दिन १७ नोभेम्बरमा गत वर्ष यही दिनको लाइभ भिडियो शेयर गरेको भेटिन्छ ।

जहाँ स्पष्ट भनिएको छ – ‘हामीले सडकमा फोहोर नफाल्नू भनेर भनेको कसैले टेरेनन् । राति फोहोर फाल्नेलाई ठाउँको ठाउँ समात्यौँ । फोहोर नफाल्न सचेत पनि गरायौँ तर पोखराका मान्छेले सडकमा फोहोर फाल्न छाडेनन् । त्यसो भए सडक छेउ किन सडक बीचमै फालौँ । कि फोहोर घरमै लुकाऔं, सकिँदैन भने सडकको बीच भागमा फालौँ । महानगरमै लगेर फालौँ ।’

अभियन्ताको यो धारणाबारे मनन गर्दा पोखरेलीले सडकमा फोहोर फाल्न छाडेनन् । अब फोहोर नै सडकमा फाल्ने भए छेउमा किन बीचमै फाल भनेर कटाक्ष गरेको बुझ्न सकिन्छ । तर, यो कार्य झनै नराम्रो गर्न प्रेरित गर्ने खालको छ । र, उनी निस्वार्थ मन र व्यवहारका साथ पोखरा बनाउने, सफा राख्ने अभियानमा हुन् भने नकारात्मक ढंगले किन अभियान चलाइरहेका छन् ?

यी अभियानकर्मीले हरेक पोष्ट पोखरा महानगरका कर्मचारी, जनप्रतिनिधिलाई समेत ट्याग गर्ने गरेका छन् । महानगरकै कर्मचारी मनहर कडरियाको फेसबुकमा समेत उनको पोष्ट देख्न सकिन्छ । महानगर विरुद्धका पोष्टहरु महानगर सम्बन्धित व्यक्तिकै वालमा अप्रुभ भएर सबैले देख्दा उल्टै गिज्याएको भान हुन्छ ।

यो कार्य दुरासययुक्त मानसिकता हो, गलत प्रोपागाण्डा नगरौँः मेयर आचार्य

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको सुन्दरतालाई यस्तो खाले अभियानले बाधा पुग्ने बताउँछन् । उनले यो दुरासययुक्त मानसिकता भएको भन्दै फोहोर फाल्न अभिप्रेरित नगर्न नगराउन अनुरोध गरेका छन् ।

विहीबार सामाजिक सञ्जाल फेसबुकमा मेयर आचार्यले लेखेका छन्ः ‘सुन्दरताका लागि निर्मित डिभाईडर र गार्डेनमा फोहोर फाल्न अभिप्रेरित गर्ने आफैमा दुरासययुक्त मानसिकता हो । यस्तो गलत प्रोपागाण्डाका लागि यसप्रकारको पोष्टर नटाँस्न र जथाभावी फोहोर फाल्न अभिप्रेरित गर्ने कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध छ।

अभियानकर्मी नै चिन्तित

नागरिक समाजका अगुवा रामबहादुर पौडेल, जो आफै अभियन्ता हुन्, उनैले पनि यस्तो अभियानले चिन्तित बनाएको भन्दै महानगरको ध्यानाकर्षण गराएका छन् ।

पोखराका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङलाई मेन्सन र अरू जनप्रतिनिधि ट्याग गर्दै उनले लेखेका छन् – यो कस्तो असभ्य अभियान हो ? पोखराको मुटु न्यूरोडमा निर्मित डिभाइडरमा प्रोपागान्डाजन्य सूचना टाँसेर फोहोर फालिएको दृश्यले हामीलाई चिन्तित बनाएको छ । यसबारेमा अविलम्ब छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गरियोस् भन्दै पोखरा महानगर समक्ष जोडदार माग गर्दछौं ।

पोखरालाई सफा राख्न र हराभरा पोखराका लागि विभिन्न मिडिया तथा संस्थासँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्दै आएको यी अभियानकर्मी पोखरा महानगरका सबैसँग परिचित नै रहेको बुझ्न सकिन्छ तर पनि सामाजिक सञ्जालमा यो जात्रा किन ? एकपटक अभियानकर्मीलाई बोलाई छलफल गरी सफा र हराभरा पोखराका लागि सँगै हातेमालो गर्दै अघि बढ्ने हो कि ? यी अभियानकर्मी निस्वार्थ मनका साथ सफा र सुन्दर पोखरा बनाउने अभियानमा लागेका हुन् भने कसो महानगरसँगै हातेमालो गरी अघि नबढ्लान् ?

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ