६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला

पर्यटन

६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला

पोखरा–दुबई नियमित उडानको एक महिना पूरा

fly dubai

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले सुरु गरेको नियमित अन्तर्राष्ट्रिय उडानको १ महिना पूरा भएको छ। गत असोज ७ गतेदेखि सुरु भएको यो सेवामार्फत १ महिनाको अवधिमा ६ हजार ३ सय ६२ जना यात्रुले ओहोरदोहोर गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार १ महिनामा कुल ३० वटा उडान सञ्चालन भएका छन्। ती उडानबाट दुबईबाट पोखरा आउने यात्रुको संख्या ४ हजार ५ सय २१ रहेको छ। पोखराबाट दुबईतर्फ जाने यात्रुको संख्या भने १ हजार ८ सय ४१ छ। नेपालीको ठूलो चाड दशैँ र तिहारका कारण दुबईबाट फर्कने यात्रुको चाप उच्च देखिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले पहिलो महिनाको उडानको नतिजा निकै उत्साहजनक रहेको बताए। सरकारी र निजी क्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गरेमा यो उडान नियमित र दीर्घकालीन हुने विश्वास उनले व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो महिनाको उपलब्धिलाई सकारात्मक भन्दै अब पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्। पोखरा–दुबई रुटलाई निरन्तरता दिन फ्लाइ दुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरिसकेको छ। यसका लागि प्रमुख आचार्यले फ्लाइ दुबईको व्यवस्थापन टोलीलाई धन्यवाद दिएका छन्।

पोखराबाट अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या थप्न उनले स्थानीय नागरिक तथा निजी क्षेत्रलाई आग्रह गरेका छन्। पोखरा र गण्डकी प्रदेशका बासिन्दा, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी तथा उद्योगीलाई पोखराकै विमानस्थल प्रयोग गर्न उनले अपिल गरे। व्यक्तिगत, पारिवारिक, व्यावसायिक र संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्नुपर्ने उनको भनाइ छ। यस्तै अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन्।

फ्लाइ दुबई र उसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३ सयभन्दा बढी गन्तव्यमा जान सकिने सुविधा छ। त्यसैले दुबई मात्र नभई त्यहाँबाट जोडिने संसारका विभिन्न सहरसम्म पुग्न पोखरालाई नै प्रस्थान बिन्दु बनाउन प्रमुख आचार्यले सुझाएका छन्।

२०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलमा लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। बेलाबेलामा केही अन्तर्राष्ट्रिय चार्टर उडान भए पनि यो विमानस्थल मुख्यगरी आन्तरिक उडानमै सीमित थियो। फ्लाइ दुबईको नियमित सेवापछि भने अन्य विमान कम्पनीहरु पनि पोखरामा उडान भर्न आकर्षित हुन थालेका छन्। लामो समयको पर्खाइपछि नियमित उडान सुरु भएकाले यसले पर्यटन, व्यापार, रोजगारी र क्षेत्रीय आर्थिक विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

उडानको समय तालिका परिवर्तन

फ्लाई दुबईले एक महिनापछि आफ्नो उडान तालिका परिवर्तन गरेको छ । सेप्टेम्बर २३ देखि उडान सुरु गरेको फ्लाई दुबईले आजदेखि समय तालिका परिवर्तन गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पर्सि आइतबारदेखि पोखरामा साँझ ७:३५ मा अवतरण गरेर सोही राति ८ः३५ बजे दुबई फर्कने छ ।

अक्टोबर २४ तारिखसम्म साँझ ६:१५ बजे आउने र ७:१५ मा फर्किने तालिका रहेको थियो । विमानले समय तालिका अनुसार नै उडान गरिरहेको छ ।

तोकिएको समय भन्दा विमान ढिला नभई केही समय अघि नै पोखरा आउने गरेको छ । विन्टर सिजनलाई ध्यानमा राखेर जहाजले समय तालिका परिवर्तन गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ