जोमसोम । नेपाल—चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । यो नाका कोरोना कहर तथा सुरक्षा संवेदनशीलताका कारण लगातार ४ वर्षसम्म बन्द थियो ।
गत कात्तिक २७ गते नेपाली पक्ष र चिनिया पक्षको उपस्थितिमा औपचारिक रुपमा कोरला नाका फेरि खुला भएको घोषणा गरिएको थियो । चिनिया पक्षले माघ २५ देखि फागुन १० गतेसम्म सांस्कृतिक चाडपर्व परेका कारण नाका १५ दिनका लागि बन्द गर्ने सूचना उपल्लो मुस्ताङका जनप्रतिनिधिलाई दिएको छ ।
चिनियाको चाडपर्व पर्ने भएकाले १५ दिनका लागि कोरला नाका बन्द हुने सूचना आएपछि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले स्थानीयलाई यस्तो जानकारी दिएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय नागरिकलाई लक्षित गर्दै चिनिया पक्षले नाका खुला गरेको थियो । सीमावर्ती क्षेत्रका बासिन्दाका दैनिक अत्यावश्यक सामग्री आयात तथा नेपाली पक्षका सामग्री चीनतर्फ निर्यात गर्न चीनले कोरलानाका बाह्रै महिना खुला गरेको छ ।
नाका खुलेसँगै उपल्लो मुस्ताङका नागरिकलाई चिनिया भूमीमा पुगेर सामान किनमेल गर्न सहज भएको थियो । ४ वर्षपछि खुलेको कोरला नाका चिनिया पक्षको चाडपर्वले गर्दा १५ दिन बन्द हुने सूचना आएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पुष्टि गरे । हिउँद यामसँगै अहिले कोरला नाका तथा उपल्लो मुस्ताङमा चिसो बढेको छ ।
त्यहाँका सबै नागरिक बेसी झरेकाले सीमाना कामा व्यापारिक गतिविधिसमेत करिब शून्य छ । ‘सीमापारीको चाडपर्वका कारण १५ दिन बन्द हुने सूचना आएको छ, हामीले नागरिकलाई सूचना पनि दिएका छौं,’ अध्यक्ष बिष्टले थपे, ‘यो सधैं बन्द भन्ने होइन, जम्मा १५ दिन चाडपर्व पर्ने भएकाले उनीहरुले नाका बन्द गर्छौं भनेका हुन्, यसले हामीलाई खासै असर पार्दैन ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अन्तर्राष्ट्रिय सीमानाका बन्द खुलेपछि एकतर्फी बन्द हुन नहुने बताए । उनले चिनिया पक्षले आन्तरिक रुपले केही कारणले केही दिन बन्द गरेको हुन सक्ने जनाए । प्रमुख जिल्ला अधिकारी पन्तले मौसम प्रतिकुल भएकाले सीमानाकामा पनि व्यापारिक गतिविधि कम भएका बेला १५ दिन नाका बन्द गर्दैमा समस्या भने नपर्ने उल्लेख गरे ।
४ वर्षअघि पनि नेपाल—चीन कोरला नाका बाह्रै महिना खुला हुँदैनथ्यो । बर्सेनि असार र भदौ महिनामा नेपाल—चिनिया पक्षको सहमतिमा केही समयका लागि अल्पकालीन व्यापार मेला लाग्थ्यो । सीमित अवधिमा सीमावर्ती क्षेत्रका नागरिकले आफूलाई आवश्यकता पर्ने मालसमान खरिद गर्ने गथ्र्ये । तर, यस पटक भने नेपाल चीन कोरला नाका पहिलेको जस्तो नभई बाह्रै महिना खुला गरिएको छ ।
नाका बाह्रै महिना खुला भएसँगै उपल्लो मुस्ताङका नागरिकले अनुकूल समयमा आवश्यकता अनुसार कोरलाको लिजीमा पुगेर मालसमान ल्याउन पाएका छन् ।
नाकाबाट सीमावर्ती क्षेत्रका नागरिकले किराना सामान, खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, निर्माण सामग्री र भेडाच्यांग्रा आयात गर्न सहज भएको छ । नेपालतर्फबाट स्थानीय कृषि उत्पादन, जटिबुटी र अन्य सामान निर्यात गर्न पनि सहज भएको छ ।
यो नाकालाई उपयोग गर्न बेनी जोमसोम कोरला सडक निर्माणाधीन छ । कोरला नाकाबाट व्यापारिक कारोबार भए यो क्षेत्रको आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ । सीमामा चिनिया भूमिमा आवश्यक सबै संरचना तयार भए पनि नेपालतिर तयारी छैन । चीनले दिएका कन्टेनरमा सुरक्षाकर्मी बसेर नाका खोलिएको छ । त्यहाँ भन्सार सञ्चालका लागि जग्गा प्राप्ति भए पनि काम निकै सुस्त छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर