बचतकर्ता आँत्तिदा एनआइसी एशिया अफ्ठेरोमा

बैंक संकट

बचतकर्ता आँत्तिदा एनआइसी एशिया अफ्ठेरोमा

सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया

NIC-Asia-Bank-Building-1024×620

बचतकर्ताले एनआइसी एसिया बैंकबाट आफ्नो निक्षेप रकम निकाल्ने क्रम बढ्दा बैंक अफ्ठेरो अवस्थामा पुगेको छ ।

एनआईसी बैंक डुब्न लागेको र नेपाल राष्ट्र बैंकले ‘डिप इन्स्पेक्सन’ गर्न थालेको भन्दै सर्वसाधारणहरू बैंकमा बचत र मुद्दती खातामा रहेको रकम निकाल्न आतुर छन् ।

इन्टरनेट र मोबाइल बैंकिङको सुविधा लिएका अनि एटीएम कार्ड भएकाहरूले धमाधम आफ्नो खाताबाट रकम निकाल्ने र ट्रान्सफर गर्न थालेका छन् । बैंक डुब्दैछ भन्ने जस्ता विभिन्न हल्ला सुनिन थालेपछि बचतकर्ताले आत्तिएर एनआइसी एसिया बैंकबाट आफ्नो पैसा निकाल्न थालेका हुन् ।

निक्षेपकर्ताले यसरी नै निरन्तर पैसा निकाल्ने अथवा हल्लाको असरले एक्कासी धेरै निक्षेप निकाल्न बैंकमा गएमा कुनै पनि बैंकले दिन सक्दैन र यदी त्यसो भएमा बैंकमा ठुलो सङ्कट आउन सक्ने देखिन्छ ।

बैंकबाट एक महिनामै निक्षेपकर्ताले १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्। अन्य वाणिज्य बैंकको निक्षेप बढ्दा एनआइसीको भने घटेको छ । निक्षेपकर्ताले आफ्नो रकम असुरक्षित भएको महसुस गर्न थालेपछि अन्यत्र बैंकमा सार्न थालेका हुन ।

विभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको , राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको, रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको बिषय बाहिरिएको थियो । यस्ता बिषय बाहिरिएपछि निक्षेपकर्ताहरुले सहकारी जस्तै जे पनि हुन सक्ने भन्दै आफ्नो पैसा निकाल्न थालेको बुझिन्छ ।

त्यस्तै, बैंकले ५० शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको भनेर एकोहोरो प्रचार–प्रसार हुँदा निक्षेपकर्ता सशंकित भई निक्षेप निकाल्न थालेपछि बैंकलाई अप्ठेरो अवस्था आएको हो। तर, बैंकले वित्तिय विवरण सफल नै रहेकाे बताउँछ भने शाखा बन्द गर्ने कुरा हल्ला भएकाे भन्दै विज्ञप्ति पनि निकालेको थियो ।

यस बैंकको साउनमा ३११ अर्ब, भदौमा ३४७ अर्ब, असोजमा ३६४ अर्ब , कात्तिकमा ३७६ अर्ब, मंसिरमा ३८० अर्ब, पुसमा ३८१ अर्ब निक्षेप पुगेको थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोड निक्षेप रहेको देखिन्छ । यसरी हेर्दा पुषसम्म यस बैंकमा बचत गर्ने बढीरहेका थिए तर माघमा भने निक्षेप राख्ने भन्दा पनि पहिले आफूले राखेको निक्षेप निकाल्न थालेको देखिन्छ ।

चालू आवको ७ महिने अवधिमा पहिलो पटक एनआईसी एसियाको निक्षेप यति धेरै घटेको हो । एनआईसी एसिया बैंकले बैंक अब्बल रहेको भने तापनि सर्वसाधारण विश्वास नगर्ने पक्षमा पुगिसकेका छन् ।

विगतमा पनि सरकारले सहकारी डुब्दैन भन्दै गर्दा पनि सहकारीमा रकम फसेको अनुभव बोकेका सर्वसाधारणले राष्ट्र बैंकको भनाइ एनआईसीको प्रभावमा बोलेको र केही मिडियाले विज्ञापनको आडमा समाचार लेखेको भन्ने निचोडमा सर्वसाधारण पुगिसकेका छन् ।

एनआईसी एसिया बैंकमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै थुप्रिएकाले बैंक डुब्ने स्थितिमा पुगेको निचोड रहेको छ । बैंक व्यवस्थापनले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । त्यसरी लिलामी गरेर बैंकका नाममा राखिएको तर त्यसलाई लिलामी गरेर सर्वसाधारणलाई बेच्न बैंक व्यवस्थापन असफल हुँदै आएको छ ।

बैंक सञ्चालक र व्यवस्थापनले आफैले कम मूल्यमा सकारेर लिने दाउ खेल्नका लागि गैरसम्पत्ति बढेको हो । एनआईसी एसिया बैंकसँग अहिले यस्तो गैर बैंकिङ सम्पत्ति ३ अर्ब ५० करोडभन्दा धेरै रहेको छ । त्यस्तो, गैरबैंकिङ सम्पत्ति दुई वर्षभित्र लिलाम बिक्री गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, एनआईसी एसिया बैंकका व्यवस्थापक र सञ्चालकका लागि यो व्यवस्था अपवाद हुँदै आएको छ ।

त्यसरी गैरबैंकिङ सम्पत्ति थुपारेर राख्नु राष्ट्र बैंकको नीतिविपरीत भए पनि राष्ट्र बैंकले उसलाई कारबाही गर्न आनाकानी गर्दै आएको छ । त्यसरी बैंकको नाममा घरजग्गा (गैरबैंकिङ सम्पत्ति) थुप्रिँदै जाँदा नगद मौज्दात कम हुँदै जाने हुन्छ । यस्तै, स्थिति ठूलाठूला सहकारीमा पनि भएको थियो । जसले गर्दा सहकारी डुब्न गएको थियो ।

अहिले नियमक निकाय र बैंकले सर्वसाधारणलाई झुक्याउन काम गरेको भन्दै भविष्यमा सहकारीको हालतमा नपुगून् भनेर सर्वसाधारण बैंकमा निक्षेप निकाल्न आतुर भएका हुन् । सहकारीहरू पनि अहिले निक्षेपको सट्टामा जग्गा लेउ भन्दै अफर गरिरहेका छन् । एनआईसी एसिया पनि लगभग सोही स्थितिमा पुगिसकेको बताइएको छ ।

अहिले नेपालमा भएका बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनुपरेको छ । एनआईसी एसिया बैंकले निर्वाध रूपमा किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती गरेको थियो ।

राजधानीको सहयोगमा ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds