पोखरा महानगरपालिका वडा नं -१५ का गैरसरकारी संस्था र वडा बिचको छलफल तथा समन्वय बैठक सम्पन्न भएको छ।
पोखरा -१५ मा रहेका विभिन्न २० वटा गैरसरकारी संस्था र वडाका जनप्रतिनिधिहरू बिच भएको छलफल तथा समन्वयात्मक बैठकमा संस्थाका तर्फबाट सहभागीले वार्षिक कार्यपत्र तथा आगामी वर्षका उद्देश्यहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा कार्यालयहरू समुदायलाई सँगै लिएर अगाडि बढ्नु सकारात्मक पक्ष रहेको बताए। उनले सबै वडामा गैरसकारी संस्थाको यकिन तथ्याङ्क नभए पनि वडा नं १५ मा रहेका गैरसकारी संस्थाहरू शक्तिशाली रहेको र ती संस्थाहरूले काम पनि ठुला-ठूला गरिरहेको बताए।
मेयर आचार्यले गैरसरकारी संस्थाहरूले विपन्नको क्षेत्रमा काम गरिरहेको भन्दै अब विपन्न परिवारहरूको वास्तविक तथ्याङ्क महानगरले दिने बताए। उनले अगाडि भने -“अब तपाइहरूले विपन्न व्यक्ति खोज्नुपर्दैन, हामीले वास्तविक विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेका छौँ, हामी दिन्छौँ।”
आचार्यका अनुसार पोखरा महानगरमा ५ हजार ९ सय ४८ परिवार विपन्न रहेको र उनीहरूलाई सहयोग गर्दा आफूखुसी भन्दा पनि सिस्टम अनुरूप गर्न सके सबै विपन्न परिवार लाभान्वित हुने दाबी गरे। उनले देशका ७५३ पालिका मध्ये सम्भवतः पहिलोपल्ट पोखरा महानगरले ‘बिजनेस प्रमोसन सेन्टर’ को स्थापना गरेर बेरोजगारलाई तालिम दिने, स्वावलम्बी बनाउने तथा व्यवसाय गरिरहेका र गर्न चाहनेलाई न्यूनतम ब्याजदरमा लगानी उपलब्ध गराउने काम गरिरहेको बताए।
आई एनएफ नेपाल पोखराका प्रमुख कृष्ण अधिकारीले वडा नं -१५ को अहिलेको नेतृत्व उत्कृष्ट रहेकाले नागरिकको सुविधा र विकासमा विशेष प्रकारले अगाडि बढिरहेको भन्दै प्रशंसा गरे। उनले सही नेतृत्वले नै टिमलाई सफल बनाउने भन्दै वडा नं १५ पारदर्शी भएर कसरी नागरिकलाई सेवा दिन सकिन्छ ? कसरी सँगै मिलेर लामो दौड दौडिन सकिन्छ ? भनेर सबै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताए।
यस्तै, कार्यक्रमका सभाध्यक्ष तथा वडा नं १५ का वडाध्यक्ष तोरण बानियाँले आफूहरू पनि जनताकै सेवा गर्न आएको र गैरसरकारी संस्थाहरूको उद्देश्य पनि सेवा गर्नु रहेकाले वडा र गैरसरकारी संस्था बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए। जनतामा कार्यक्रम लैंजादै गर्दा नागरिकले पाउने सुविधा र उनीहरूको खुसी नै आफूहरूको उद्देश्य रहेको भन्दै नागरिकले व्यक्त गरेको खुसीबाट नै आनन्द मिल्ने बताए।
बानियाँले वडा नं -१५ का सबै जनप्रतिनिधिको मत एउटै रहेको भन्दै आजसम्म प्राप्त गरेको नाउँलाई पैसासँग नभएर कामसँग तुलना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढिरहेको स्पष्ट पारे ।
कार्यक्रममा आइ एनएफ नेपाल (हरियो खर्क अस्पताल), थ्री एन्जल्स नेपाल, हिमालय लाइफ नेपाल, श्री वाल हितकारी परियोजना नेपाल, हेप्पी होम, सृजनशील वाल गृह, उत्पीडित कल्याण केन्द्र, ग्लो संस्था, विकास नेपाल, संगोल नेपाल, अनुग्रह माज कल्याण संस्था, क्रिष्टियन समाज संस्था, नेपाल कुष्ठरोग निवारण संस्था, लाइट अफ पोखरा, एस.ओ.एस वालग्राम, पोखरा कम्युनिटी सपोर्ट,राइट फर चिल्ड्रेन, अपाङ्ग महिला शसक्तिकारण केन्द्र र श्रद्धा सेवा केन्द्रका प्रतिनिधि तथा पदाधिकारीले संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए।
आइ एनएफ नेपालको सभा हलमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य मन्दिरा परियारले गरेकी थिइन्।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु