पोखरा । हरितालिका तीजको अवसरमा पोखरामा आगामी १५ भदौमा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ ।
‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला, कस्मेटिकको आठ वटा स्टल रहने एकेडेमीकी प्रबन्ध निर्देशक शोभा केसीले जानकारी दिइन् । ‘कुनै सामान किन्न मन लाग्नेले किन्न सक्नुहुन्छ । आइडिया लिन मन लाग्नेले बुझ्न पनि सक्नुहुन्छ,’ उनले भनिन् ।
कार्यक्रममा लैङ्गिक समानता र पहिचान शीर्षकमा बहसमूलक सेसन हुनेछ । त्यसमा अभिनेत्री गौरी मल्ल, नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ र एक जना पुरूष गरेर तीन जनाले आफ्ना अनुभव र विचार राख्ने छन् । उक्त बहसको सहजीकरण नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले गर्ने छिन् ।
रेडियन्ट स्टाइल्स बाइ शोभा केसी र ब्राइडल वेयर डिजाइन गरेर दुई फरक फेसन डिजाइन प्रदर्शन पनि हुनेछ । साँझ हार्मेनी पोखराको सांगीतिक प्रस्तुतिपछि कार्यक्रम समापन हुने प्रबन्ध निर्देशक केसीले जानकारी दिइन् । तीजमा महिलाहरूले दर नै खानुपर्छ, नाच्छुपर्छ भन्दा पनि उद्यमशीलता र महिला सशक्तिकरणलाई जोड दिएर कार्यक्रम गरेको उनको भनाइ छ । ‘यो महिलाहरूको उत्सव बनाउन खोजेका हौँ जहाँ महिलाका समस्याबारे बहस होस्, महिलाका उत्पादनलाई प्रोत्साहन गरेर उद्यमशीलतामा प्रेरण मिलोस् भन्ने हो,’ उनले भनिन् ।
कार्यक्रममा महिलाहरूको स्वास्थ्य परीक्षण र काउन्सिलिङ गरिने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि १२ लाख रूपैयाँ खर्च हुने अनुमान छ । एकेडेमीले आयोजना गरेको कार्यक्रममा जोन्टा क्लब अफ पोखराले सहकार्य गरेको छ । आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी पोखरा सन् २०१२ मा खुलेको एअर होस्टेस तालिम केन्द्र हो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर