पोखरा महानगरपालिका वडा नं १५ तथा सहरी स्वास्थ्य केन्द्र–१५ ले आयोजना गरेको स्त्री रोग परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय ४ जना लाभान्वित भएका छन् । राइट फर चिल्ड्रेनको सहयोगमा भएको शिविरमा वडाका २१ देखि ७३ वर्ष उमेरसम्मले जाँच गराई लाभ लिएको वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए ।
बानियाँले नागरिक स्वस्थ भए मात्र विकासको उपयोग हुने भन्दै वडा नं -१५ ले पूर्वाधारसँगै मानवीय विकासका लागि सुरुवाती दिनदेखि काम गरिरहेको बताए। उनले यसअघि शिविरमा आएका मध्ये केहीमा गम्भीर रोगको पहिचान भएको भन्दै समयमै रोगको पहिचान र निदानका लागि ढुक्क भएर शिविरमा आई लाभान्वित हुन सबैलाई आग्रह गरे। बानियाँले वडा नं १५ मा स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा राइट फर चिल्ड्रेनले उल्लेखनिय काम गरिरहेको भन्दै संस्थालाई धन्यवाद दिए।

कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले सम्पूर्ण दिदी बहिनीहरूलाई शिविरमा आई आफ्नो स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन्। उनले स्वास्थ्य परीक्षणमा समस्या देखिएकाहरूको थप उपचारका लागि आवश्यक सहजीकरण गरिने पनि बताइन्।
यस्तै, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरुङले समयमै रोगको पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएकी ठाँटी पाटनकी ४२ वर्षीया चित्रा परियारले परीक्षण पश्चात् आफूलाई पाठेघरमा इन्फेक्सन भएको पाइएको बताइन्। उनले भनिन् -“भित्र चेक गर्दा डाक्टरले इन्फेक्सन देखिएको छ भन्नुभयो, औषधी पनि दिनुभएको छ। ” उनले बाहिर निजी अस्पतालमा पैसा खर्चेर परीक्षण गराउन नसक्ने आफूहरू जस्तैका लागि शिविर महत्त्वपूर्ण हुने बताइन्। ‘धन्न बेलैमा रोग थाहा पाइयो, हाम्रो वडालाई धन्यवाद,’ परियारले भनिन्। यस्तै, स्वास्थ्य परीक्षण पश्चात् मलिन अनुहार बनाउँदै निस्किएकी अमिनताराकी एक महिला (जसले नाम बताउन चाहिनन् ) ले आफूलाई गम्भीर रोगको शङ्का रहेको बताइन्। ‘डाक्टरले पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको भन्दै अस्पताल रिफर गर्नुभएको छ।’ उनले भनिन्।
आजको शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको पाइए पनि तीन जनामा भने जटिल रोगको लक्षण देखिएको सहरी स्वास्थ्य केन्द्र १५ कि प्रमुख मिरा बस्नेतले जानकारी दिइन्। उनले त्यस्ता बिरामीहरूलाई अस्पताल रिफर गरिएको र सामान्य अवस्थाकालाई निःशुल्क औषधि वितरण गरिएको बताइन्।
आजको शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, महिनावारी सम्बन्धी गडबडी, आङ्ग खस्ने, सेतोपानी बग्ने, ढाड दुख्ने, चिलाउने लगायतका रोगहरूको परीक्षण गरिएको थियो।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प