कञ्चनपुर । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ ।
केही तरकारी क्यारी बनाएर रोपिएका छन् । केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् ।
उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् ।
घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ ।
नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् ।
व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए ।
“करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्”, उनले भने, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।”
पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उनको भनाइ छ ।
रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताए ।
मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ ।
मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ ।
कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ ।
बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् ।
किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर