प्रधानमन्त्री ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिँदै

प्रधानमन्त्री ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिँदै

Siddhababa

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ। मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ।

यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक हजार एक सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।

मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि अधिकारीले बताए ।

सिद्धबाबा क्षेत्रमा बर्खा र हिउँद दुवै सिजनमा पहिरो खसेर सडक अवरुद्ध हुने तथा दुर्घटना बढिरहने भएपछि यो समस्या समाधानको लागि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान क्षेत्रमा यो सुरुङमार्ग बनिरहेको हो । सात अर्ब ३४ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएको थियो ।

सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बाग्लुङलगायतका क्षेत्रमा आउजाउ गर्ने गाडीलाई राहत मिल्नेछ । सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक एक हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ