पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ। मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ।
यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक हजार एक सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।
मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि अधिकारीले बताए ।
सिद्धबाबा क्षेत्रमा बर्खा र हिउँद दुवै सिजनमा पहिरो खसेर सडक अवरुद्ध हुने तथा दुर्घटना बढिरहने भएपछि यो समस्या समाधानको लागि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान क्षेत्रमा यो सुरुङमार्ग बनिरहेको हो । सात अर्ब ३४ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएको थियो ।
सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बाग्लुङलगायतका क्षेत्रमा आउजाउ गर्ने गाडीलाई राहत मिल्नेछ । सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक एक हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह