काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको ल्हासामा नियमित उडान हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको हो । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।
काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ ।
त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ ।
क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय नियमित उडान भएको सन्देश जाने विश्वास व्यक्त गरे ।
नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो । योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ । हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ । पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो ।
‘हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्नेगरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ’, क्यानका सूचना अधिकारी भूलले भने, ‘काठमाडौं–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्नेगरी अनुमतिको प्रक्रियामा छ ।’
उनका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ ।
मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ । सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उनले बताए । सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौँ परीक्षण उडान गरिसकेको छ ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने बताए। नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले जनाए ।
उनले भने “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो, हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको छ ।”
पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सिधा उडानले व्यवसायी उत्साहित भएको बताए । ‘पोखरा विमानस्थल निर्माण भएको दुई वर्षपछि पहिलोपटक नियमित व्यावसायिक उडान हुँदैछ । यसले पोखरेली जनतालाई उत्साहित तुल्याएको छ’, उनले भने ।
पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ । छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा विजनेस टू बिजनेश (बिटुबी) कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष पहरीले जानकारी दिए ।
एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले पोखराबाट छेन्दु उडान सुरु भएसँगै सुस्त ग्रीष्मकालीन याममा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको बताए । उनले काठमाडौं– ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?