पोखरा । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गण्डकीको विकासका लागि बजेट मागेका छन् । अधिकारीको नेतृत्वमा गएको टोलीले विभिन्न ९ वटा बुँदामा गण्डकीको आर्थिक र पर्यटकीय विकासका एजेण्डा प्रस्तुत गरेको छ ।
‘सम्माननीयज्यूको राजनीतिक जीवनको एक महत्वपूर्ण कालखण्डको रुपमा रहेको कास्की कारागारको जेलजीवनलाई समेत स्मरण गर्दै गण्डकी प्रदेशको समग्र विकास निर्माण र आर्थिक समृद्धिका लागि प्राथमिकताका साथ आवश्यक पहलकदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ टोलीले भनेको छ ।
टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा ओलीको ध्यानाकर्षण गराएको छ भने पोखरालाई ‘माइस’ पर्यटनको केन्द्रका रुपमा विकास गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन र गोष्ठी तथा स्वास्थ्य र खेलकुदको हव बनाउने गरी पूर्वाधार निर्माणको माग गरिएको छ ।
पोखराका सबै ताल जोड्ने साइकल लेन निर्माणसँगै फेवातालको संरक्षण र दीगो व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरणका लागि बजेट व्यवस्था गर्न टोलीले आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारकै प्रमुख प्राथमिकतामा रहेको कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा राष्ट्रियस्तरको आधुनिक पूर्वाधारयुक्त औद्योगिक क्षेत्र स्थापना गर्नु संघले बजेट दिनुपर्ने उनीहरुको माग छ ।
मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपुरको त्रिवेणी नाकाबाट अन्तर्राष्ट्रिय व्यावसायिक कारोबार गर्न सक्ने गरी पूर्वाधार निर्माणका लागि ध्यानाकर्षण गराइएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखामा भेडा, च्याङ्ग्रा, चौंरीपालन, स्याउ, ओखर र खुर्पानी खेतीसँगै निरमसी, जटामसी, पाँचऔंले, यार्सागुम्बा, सतुवा लगायतका जडिबुटी उत्पादन, संकलन र प्रशोधन गर्न पूर्वाधार बनाउनुपर्ने, मर्स्याङ्दी, मादी र कालीगण्डकी एवं सहायक नदीको उपत्यकालाई एकीकृत जलाधार संरक्षण तथा सुरक्षित बस्ती विकास कार्यक्रमसहित कृषि, उद्योग, ब्यपार, पर्यटन गतिविधिको विकास गर्नुपर्ने माग प्रतिनिधि मण्डलको छ ।
पोखरालाई केन्द्र मानेर मादी, सुरौंदी, आँधी र मोदी नदी उपत्यकालाई जोडेर सुरुङ मार्गसहितको रिङ रोड र लिंक रोड बनाउनुपर्ने, राउण्ड अन्नपूर्ण, राउण्ड धौलागिरी र राउण्ड मनास्लुलगायतका साहसिक पदमार्गको दिगो विकाससँगै संरक्षण, गंगापूर्ण, तिलिचो लगायत हिमतालको व्यवस्थापन, हिमाल आरोहणका लागि हिमचुचुराको प्रवद्र्धन र रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
बागलुङको ढोरपाटन, मनाङ, मुस्ताङ र गोरखाको उत्तरी हिमाली उपत्यकाहरूमा साहसिक पर्यटन गतिविधि एवं हाई अल्टिच्युड स्पोर्टस् केन्द्रका रुपमा विकास गर्नुपर्ने, हिमालपारिका उपत्यकाहरुको हिमाली संस्कृति एवं सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि छुट्टै गुरुयोजना बनाउन माग गरिएको छ । पटकपटक प्रदेश सरकारले सिफारिस गरेर पनि संघले नसुनेको लोमान्थाङ दरबार र गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलमा अधिकारीसँगै कास्की ३ का सांसद दामोदर बैरागी, आफैँले नियुक्त गरेका गण्डकीको नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष श्रीकान्त खतिवडा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व सदस्य लेखनाथ भण्डारी, होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे सहभागी थिए ।
यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका निवर्तमान अध्यक्ष मोतीराम पौडेल, एमालेका कास्की–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उद्यङ्गम राज तिमिल्सिना, युवा व्यवसायी समिर पौडेल पनि सहभागी थिए ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर