काठमाडौँ । सत्तासीन दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस आ-आफ्नै अडानमा रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति थप पेचिलो बनेको छ।
कांग्रेसले आफ्नो भागबण्डामा परेको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका हुन्।
अहिलेसम्म ओलीलाई सरकारमा हरतरहले सहयोग गर्दै आएका देउवाले गभर्नर नियुक्तिमा छलफल नभएको भन्दै असहयोगको नीति लिएका हुन्।
२०८१ चैत २४ यता नेपाल राष्ट्र बैंक गभर्नर विहीनको अवस्थामा छ। तर, निवर्तमान गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै भावी गभर्नर नियुक्त गर्नुपर्ने ऐनलाई लत्याउँदै सरकारसम्बद्ध दलहरू कांग्रेस-एमाले भने आ-आफ्नै अडानमा टसमस छन्।
कांग्रेस-एमालेको रस्साकस्सीकै कारण गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको छैन। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समितिको बैठक बस्न नसक्दा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि संवाद हुन सकेको छैन।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद नभएपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेन। प्रधानमन्त्री ओलीले सोमबार (आज) साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। गभर्नर नियुक्तिकै विषयमा छलफल र निर्णयका लागि बोलाइएको बैठक अन्तत: स्थगित भयो।
सुरुमा कांग्रेसले राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टलाई अगाडि सारे पनि उनको राजीनामा स्वीकृत नगरेर विवाद सिर्जना भएको छ। त्यसपछि गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेललाई गभर्नर बनाउने तयारी गरे पनि ओलीले आलटार गरेपछि सभापति देउवा सरकारप्रति आक्रामक देखिएका हुन्।
कांग्रेसमा ओली सरकारप्रति यस अघिदेखि नै तीव्र असन्तुष्टि व्यक्त हुँदै आएको थियो। प्रतिबद्धता अनुसार गभर्नर नदिने ओलीले देउवालाई प्रधानमन्त्री दिन्छन् भन्ने कुरामा विश्वास नरहेको भन्दै कांग्रेसका नेताहरुले उनलाई सचेत रहन आग्रह गर्दै आएका थिए।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट हुन नसक्नुलाई सरकारमै समस्या आउन सक्ने रूपमा अर्थ्याइएको छ। त्यसो त सभापति देउवा गभर्नर कांग्रेसले नै पाउनेमा ढुक्क थिए। उनले सार्वजनिक मञ्चहरूमा यही दोहोर्याउँथे। तर, अहिले आएर प्रधानमन्त्री ओलीले गभर्नर एमालेले नै राख्ने आशय देखाएपछि समस्या भएको हो।
कांग्रेसले गभर्नरमा डा. विश्व पौडेलको नाम सिफारिस गरेको छ। तर, प्रधानमन्त्री ओलीले भने हालका नेपाल राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गानालाई गभर्नर बनाउन चाहेका छन्। यही कारणले देउवा चिढिएका छन्।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?