पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउँछु भन्नेहरू सपनामा रहेको बताएका छन् । पोखरामा शुक्रबार राष्ट्रिय युवा संघ नेपालको १०औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरू हुँदाहुँदै राजतन्त्रको सपना देखेको भन्दै उनले व्यंग्य गरे ।
“अब देशमा यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन त गयो, गइसक्यो । देशको राजसिंहासनको कल्पना, कस्तो दिमाग होला भनेको ?” प्रधानमन्त्री ओलीले भने ।
“नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, कहाँ हराइसक्यो, संविधान अर्को बनिसक्यो, संसद् छ, राष्ट्रपति छ, न्यायालय छ, लोकतान्त्रिक व्यवस्था छ र हामी छौँ । जसले जथाभावी जसलाई पायो त्यसलाई समात्दै पछार्दै मार्दै, खाँदै गरेको राजतन्त्रलाई खोरमा हालेर खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याँकिदिएका छौँ । हामी छँदैछौँ यस देशमा, फेरि राजतन्त्र ल्याउँछु भन्ने सपना देखिरहेका छन्,” ओलीले भने ।
राजतन्त्र आउने नदेखेरै उनीहरूले मिति सारेको र जेठ १५ गते अर्को मिति तोक्ने बताए । “१५ गते ल्याउने रे, कस्ता सपना देख्छन् उनीहरू । जेठ १५ गतेपछि अरु १५ गते भन्छन् फेरि । अस्तिनै वैशाख ११ गते ल्याउँछौँ भने । वैशाख ११ गते युवाहरूले महोत्सव आयोजना गरे । राजाले घुँडा टेकेको दिन वैशाख ११ गते, जनताका बलजफ्ती असंवैधानिक तरिकाले खोसिएका अधिकार फिर्ता लिएको दिन, संविधानमा बस्छु भनेर संसद् पुनस्र्थापना गरेर कायलनामा गरेको दिनलाई युवाहरूले उत्सवको रूपमा मनाए, अनि उनीहरूले जेठ १५ गते सारे,” प्रधानमन्त्री ओलीले भने ।
राजतन्त्रकै कुरा आउँदा ओलीले जगमान गुरुङलाई पनि व्यंग्य गरे । आफैँले प्रज्ञा प्रतिष्ठानमा कुलपति बनाएको र ज्योतिषीको पनि काम गर्ने हुँदा आफ्नो पनि कुण्डली हेर्न आग्रह गरे । “मैले पनि गुरुजी, गुरुजी भनेका प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका, गुरुङजी ज्योतिष हेर्नुहुन्थ्यो । ज्ञानेन्द्रको कुण्डली हेर्नुभयो रे उहाँले, राजा भइहाल्ने देख्नुभयो रे,” उनले भने, “उहाँलाई म मेरो कुण्डली पठाइदिन्छु, मेरो पनि एकपटक कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ । एउटाको कुण्डली हेरेर हुन्छ, अरुको पनि हेर्नुहोस्, हाम्रै कुण्डली हेर्नुहोस्, जनताको कुण्डली हेर्नुहोस् के भन्छ । जनताको कुण्डलीले भन्छ, कुनै राजतन्त्र, साजतन्त्र फर्किँदैन, प्रतिगमन यस देशमा हुन सक्दैन ।”
राजावादीको आन्दोलनलाई उनले भ्यागुता कराएको संज्ञा दिए । “भदौ लागेपछि भ्यागुता ट्वारट्वार गर्छ, भदौ सकिएपछि ट्वारट्वार पनि सकिन्छ । भ्रममा पर्ने आवश्यकता छैन, यी ट्वार्ट्वार, ट्यारट्यार अलिक समयपछि समाप्त हुन्छ,” उनले भने ।
ज्ञानेन्द्रले तीन वर्ष शासन सम्हाल्दा देशको अवस्था कानमा पसेको कन्सुत्लोको जस्तो बनेको उनले बताए । “हामीले अढाई सय वर्ष राजतन्त्र देख्या भयो, त्यो समय केके भयो म त्यता जान चाहन्नँ । दरबार हत्याकाण्डपछि हामीले लखेटैकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि हामीले देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा, कानमा घुसेको कन्सुत्लोजस्तो उफ्रेको उफ्र्यै, चिथोरेको चिथोरेइ,” उनले भने ।
ज्ञानेन्द्रकै कदमका कारण जनता सडकमा आएको र उनलाई घुँडा टेकाएको ओलीले बताए । “त्यस्तो पीडादायक समय, जसले गर्दा जनता उठ्नुपर्यो, १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकायो । फेरि पनि कुनै किसिमका जनविरोधी, देशद्रोही क्रियाकलापको चेस्टा हुन्छ भने जनशक्तिले त्यस्ता शक्तिलाई धुलो चटाउनेछ,” उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेपछि फेरि राजा बनाउन कस्सिएका प्रा.डा. जगमान गुरुङलाई आफ्नो कुण्डली हेर्न आग्रह गरेका छन् । जेठ १५ गते राजावादीहरूले फेरि राजा फर्काउने अभियान थाल्दै छन् । सोही विषयमा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्रबारे टिप्पणी गरेका हुन् । उनले ज्ञानेन्द्रलाई घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्य गरेका छन् ।
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु रे, के के सपना देख्न थाले यिनीहरू ?
प्रधानमन्त्री ओलीले नाम नलिइकन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई उत्ताउलो मान्छेको संज्ञा दिए । केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा फर्काउँने दाबी गर्दै प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन बताएका थिए।
त्यसको जवाफ फर्काउँदै ओलीले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’
एमालेमाथि चौतर्फी आक्रमण
एमालेमाथि आन्तरिक र बाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेको बताए।
उनले भने,’एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।’
एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?