आईजीपी बन्ने गरी विवादित डीआईजी ठाडा मगरको एआईजीमा छलाङ

आईजीपी बन्ने गरी विवादित डीआईजी ठाडा मगरको एआईजीमा छलाङ

पहिलो वरियताका कमल गिरी नै बढुवा गर्न प्रधानमन्त्रीले चाहेपनि देउवा र लेखकको दबाब, प्रचण्डका प्रिय

thada_magar

सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने गरी डीआईजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गर्न सिफारिस गरिएको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा बढुवा गर्न दोस्रो नम्बरका डीआईजी ठाडा मगरलाई सिफारिस गरेको हो। उनीभन्दा अगाडि डीआईजीको बरियतामा कमल गिरी थिए। तर गिरीलाई छुटाएर ठाडा मगरलाई एआईजी बनाइएको हो। सशस्त्र प्रहरी बलमा वरिष्ठताका आधारमा क्रमशः डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एआईजी बढुवाका दाबेदार हुन् ।

बिहीबार नै पहिलो चरणमा बसेको बढुवा समितिको बैठकमा सहमति जुट्न नसकेपछि फेरि बेलुका बैठक बोलाइएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले ठाडा मगरलाई नै एआईजीमा बढुवा गर्नु पर्ने अडान लिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो नम्बरमा रहेका कमल गिरीलाई नै एआईजी बढुवा गर्नु पर्ने अडान राखेपछि बिहीबार दिउँसोको बैठकमा निर्णय हुन सकेको थिएन।

प्रधानमन्त्री ओलीले वरिष्ठताका आधारमा एआईजी बढुवा सिफारिस गर्न निर्देशन दिए पनि बढुवा समितिलाई आरजु राणाले गणेश ठाडा मगरलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाब दिएका कारण बैठक बिना निष्कर्ष टुंगिएको नेपाल बहसले समाचार सार्वजनिक गरेको छ । बेलुका थप छलफल पछि ठाडा मगरलाई नै एआईजी बनाउन सिफारिस गरिएको हो। भावी आईजीपीसमेत हुने भएकाले एआईजीमा बढुवा हुनका लागि माओवादी निकट मानिने ठाडा मगरले बुढानीलकण्ठमा ठूलो चलखेल गरेको दावी स्रोतको छ।

एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ।

अरु दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। तर कमल गिरी र ठाडा मगरको प्रतिस्पर्धाले एआईजी बढुवामा ढिलाई हुँदै आएको थियो।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आईजीपी बन्नेछन्।

यी दुईमध्ये जो आईजीपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछिको आईजीपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित जस्तै छ।

अहिले एआईजी नभएका तीन डीआईजी भने आगामी पुस २३ गते अनिवार्य अवकाश हुनेछन्। ठाडा मगरसँगै कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एकसाथ डीआईजी भएका थिए।

उनीहरू नेपाल प्रहरीको प्रहरी निरीक्षनकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा सरेका थिए। गत पुसमै डीआईजीको पदावधि पूरा भएपनि सरकारले एक वर्षे पदावधि थप गरेको थियो। थप भएको पदावधि पनि पुसमा पूरा हुने तर एआईजी नबने डीआईजीहरु अवकास हुने भएका हुन्।

विवादित प्रहरी अधिकारी हुन् ठाडा मगर

विगतमा पटक पटक कारबाहीमा समेत परेका डिआइजी गणेश ठाडा मगर विवादित प्रहरी अधिकारी हुन् । एसएसपी हुँदा पूर्व राजा ज्ञानेन्द्रलाई गाली गलौच गरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।

चलखेलकै आधारमा छिन्नमस्ता बाहिनीमा सरुवा भएका उनले सुरुदेखि नै तस्करीको सेटिङ मिलाएको कर्मचारीहरु बताउँछन् । ठाडा मगर सशस्त्रमा अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् ।  जागिरे जीवनमा माओवादीका निकट भएर बढुवा र अवसर पाएका ठाडामगर यो सरकार बनेपछि काँग्रेससँग नजिकिएको बताइन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ