फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल

फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल

प्रदेश सरकार स्थापनापछि ९२३ किलोमिटर सडक कालोपत्रे, १०९ वटा मोटरेबल पुल, ८४ वटा झोलुंगे पुल र ३१ वटा भवन निर्माण

photo-all-merge

पोखरा । संघीयताको मर्मअनुरुप प्रदेश सरकारले काम नगरेको गुनासो सुनिइरहन्छ । कतिसम्म भने प्रदेश सरकारलाई सेतो हात्तीको संज्ञा दिइन्छ । तर, जहाँ प्रदेश सरकारको उपस्थिति छ त्यहाँका स्थानियको भोगाइ हेर्ने र सुन्ने हो भने प्रदेश सरकारको आवश्यकतामाथि प्रश्न गर्नु व्यर्थ हुन्छ ।

प्रदेश सरकार स्थापनाको ८ वर्षमा ९२३ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेशभित्र ७ सय किलोमिटर सडक चाक्लो पार्ने, ग्राभल र स्तरोन्नति गरिएको छ । १०९ वटा मोटरेबल पुल, ८४ वटा झोलुंगे पुल र ३१ वटा भवन निर्माण भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव इन्जिनियर कमलकुमार अधिकारीले बताए । ‘एउटा कुरा के बुझ्नुपर्छ भने यो सबै बाटो, पुल प्रदेश सरकार स्थापना भएकै कारण बनेका हुन् । प्रदेश सरकार हुँदैनथ्यो भने यति छिट्टै बन्न सक्ने भन्ने हुन्थेन,’ उनले भने, ‘प्रदेश सरकारबारे मान्छेका विभिन्न धारणा हुन सक्छन् । तर, प्रदेश सरकार आइसकेपछि भएका काम सन्तोषजनक छ ।’

स्थानीय तहको प्रमुख प्रशासनिक केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने, एक निर्वाचन क्षेत्र एक सडक स्तरोन्नति, जनता आवास कार्यक्रम, झोलुंगे पुल निर्माण, प्रादेशिक कार्यालय तथा निकाय भवन निर्माण र मर्मत, सहरी सडक र अनुसन्धान परामर्श कार्यक्रमलगायत कामलाई मन्त्रालयले प्राथमिकता दिएको छ । मन्त्रालयले ८ वर्षमा स्थानीय तहको केन्द्र जोड्ने २१८.७ किमी सडक निर्माण सम्पन्न गरेको छ । २१६.३ किलोमिटर निर्माणधीन छ । १७२ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।

प्रदेश सरकारले ग्रामीण भेगमा सडक सञ्जाल पुर्याउँदा स्थानीयलाई राहत भएको छ । लमजुङका ८२ वर्षीय धर्मदत्त अधिकारी राइनस नगरपालिका-९ र दोर्दी गाउँपालिका-१ लाई जोड्ने तार्दी खोलामा मोटरेबल पुल निर्माण भएको देख्दा निकै हर्षित छन् । ‘पहिला पुल नबन्दा खोला तर्नु पर्थ्यो । वस्तु चराउन लिएर आयो । बेल्काबेल्का हुँदा त खोलो त माथिमाथि आउँथ्यो । तर्नै नसक्ने । अहिले पुन बनेपछि सुविधा भएको छ । वारिपारि सबै खुशी छौँ,’ उनले सुनाए ।

तार्दी खोलामा २० मिटर लम्बाइको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास कार्यालय लमजुङद्वारा संचालित यस योजनाको निर्माणपछि राइनास नगरपालिका–९ का बासिन्दालाई दोर्दी गाउँपालिका १ हुँदै भोटेओडार बजार निस्कन सहज हुनेछ । यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय लमजुङ र एम.एस ओएसीएस–आंगबुहांग जेभीबीच २०८० साल चैत १३ गते ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि ३ करोड १९ लाख ९९ हजार रुपैयाँमा सम्झौता भएको छ । २०८२ साल चैत १२ गतेभित्र निर्माण सक्नुपर्ने भएपनि समयअगावै सम्पन्न हुने गरी निर्माण कार्य अघि अन्तिम चरणमा पुगेको छ ।

तार्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको पुल ।

तार्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको पुल ।

गोरखाको अजिरकोट गाउँपालिकाको चनौटे–ढिस्का–भच्चेक सडक निर्माण सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले अजिरकोट गाउँपालिकाको चनौटेदेखि ढिस्का हुँदै पालिकाको केन्द्र भच्चेक जोड्ने १४.३ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । सडक निर्माणका लागि २०८२ वैशाख २१ गते खड्का कृष्ण नवकान्तिपुर जेभीसँग ३८ करोड ९३ लाख ५७ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । २०८४ असार २५ गतेसम्म म्याद रहेको ठेक्कामार्फत ११.२ किलोमिटरमा अस्फाल्ट प्रविधीको कालोपत्र र ३.१ किलोमिटर सडक ढलान गरिनेछ । सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, घुम्ती तथा मोड र ग्रेड सुधार गरि ढल ब्यवस्थापनका लागि पक्कि नाली समेत निर्माण हुनेछ । गाउँ आउने बाटो स्तरोन्नति हुन सुरु भएपछि अजिरकोट–५ ढिस्काकी अनिता भट्टको पनि खुसीको सीमा छैन । बालबच्चालाई पढ्न जानदेखि सदरमुकाम पुग्न सहज हुने उनको भनाइ छ । ‘गाउँमा ३ कक्षासम्म पढाइ हुन्छ । ९/१० वर्षको बच्चा झोला बोकेर भिच्चोक पुग्नपर्छ । बाटो पिच भएपछि त सजिलो हुन्छ नि,’ उनले भनिन् ।

मन्त्रालयले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएर २१४.५० किलोमिटर सडक सम्पन्न गरिसकेको छ । कार्यक्रम अन्तर्गत २३०.७४ किमी सडक निर्माणधीन छ भने २२६.१९ किलोमिटर सडक निर्माण बाँकी छ ।

प्रदेशले पूर्वाधार विकासमा उल्लेखीय काम गरेपनि चुनौती कायम नै छन् । बहुवर्षीय योजनाहरुमा रकम विनियोजनमा न्यून, योजनाको ठेक्का प्रक्रियामा जान पूर्व जग्गा प्राप्तिको समस्या देखिन्छ । समयमै रकमान्तर नहुँदा आयोजनाको कार्यान्वयनमा कठिनाइ हुने गरेको छ । बहुवर्षीय योजनामा कम पैसा विनियोजन गर्ने र टुक्रे आयोजनामा बजेट विनियोजन गर्ने प्रचलन बढ्नु पूर्वाधार विकासको एउटा समस्या रहेको सचिव अधिकारीले बताए । ‘बहुवर्षीय योजनामा कम विनियोजन गर्ने र टुक्रे आयोजनामा बढी बजेट विनियोजन गर्ने प्रचलन बढ्दै गएको देखिन्छ । त्यसलाई नियन्त्रण गर्न प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार गरेका छौँ जो कार्यान्वय गर्ने चरणमा छ,’ उनले भने । यसबाहेक वन क्षेत्रमा काम गर्न कानुनी जटिलता रहेकाले पूर्वाधार निर्माण कार्यमा अड्चन पुगिरहेको उनले सुनाए ।

चालु आर्थिक वर्षका केही योजना

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय , पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालय, यातायात व्यवस्था कार्यालयसहित १९ वटा संरचनाबाट प्रदेशभित्र पूर्वाधार र यातायातसम्बन्धी काम हुँदै आएका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका कार्यालयबाट १८ सय ४६ वटा योजना सञ्चालनमा रहेको मन्त्रालयका योजना अनुगमन मूल्यांकन तथा अन्य पूर्वाधार महाशाखा प्रमुख महेन्द्र बानियाले जानकारी दिए । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि १२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालयले जिल्लास्थित कार्यालयले गरिरहेका कामको अनुगमन, मूल्यांकानका साथै पुल निर्माणको काम गरिरहेको छ । चालु आर्थिक वर्षमा निर्देशनालयबाट ५ वटा पुल निर्माणाधीन रहेको सिडिई दिनेशकुमार घिमिरेले बताए ।

स्थापनाको ८ वर्षपछि गण्डकी प्रदेश सभाको भवन निर्माण कार्य अघि बढेको छ । हालकै प्रदेश सभा भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा २०८१ माघमा ठेक्का सम्झौता भएको थियो । ३६ महिनाभित्र प्रदेश सभा भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको कार्यालय प्रमुख सिडिई ओमराज ढुंगानाले बताए ।

गोरखाको पालुङटार नगरपालिका–९ ढुंगेटारीको खारखोलामा पुल बनेको छ । खारखोलामा निर्माण भएको २५ मिटर लम्बाइको पुल विकास निर्माणको एउटा सकारात्मक नमुना हो । १८ महिनाभित्र निर्माण सक्ने गरी २०८० चैतमा पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनी श्री गणेश अमृत जेभीबीच २ करोड ७५ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कार्य सम्झौताभन्दा सात महिनाअगावै सकिएपछि गत चैतमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको उद्घाटन गरेका थिए ।

खारखोला पुल उद्घाटनको क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

खारखोला पुल उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकालाई जोड्ने गरी नयाँसाँघुको दरौंदी खोलामा ७८ मिटर लम्बाइको स्टिल ट्रष्ट पुल निर्माणाधीन छ । पूर्वाधार विकास कार्यालय गोरखासँग भएको सम्झौताअनुसार इलाइट कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको छ । २०८२ साल मंसिरसम्म यो पुल निर्माण कार्य सक्ने सम्झौता रहेको कार्यालयका इन्जिनियर दीपक बस्नेतले बताए । पुल बनेपछि अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, लाप्राक, बारपाक क्षेत्रका स्थानीयलाई सदरमुकाम गोरखा बजार पुग्न सहज हुनेछ । पुलको ८० प्रतिशत निर्माण कार्य सकिएको छ ।

नयाँसाँघुको दरौंदी खोलामा निर्माणाधीन स्टिल ट्रष्ट पुल

नयाँसाँघुको दरौंदी खोलामा निर्माणाधीन स्टिल ट्रष्ट पुल

गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर–घ्याच्चोक जोड्ने मुख्य सडक ट्रयाक खुलेको १२ वर्षपछि कालोपत्रे भएको छ । करिब ७.३ किलोमिटर लामो यो सडक कालोपत्रेको काम असार मसान्तभित्र सक्ने गरी काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय गोरखासँगको सम्झौताअनुसार एमएस कर्न नवकान्तिपुर जेभीले ३६ करोड ४७ लाख रुपैयाँ लागतमा सडक कालोपत्रेको काम गरिरहेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाको केन्द्र जोड्ने राङखोला–धौवादी–विरुवा सडक प्रदेश सरकारकै लगानीमा स्तरोन्नति भएको छ । सिद्धार्थ राजमार्गको राङखोला बजारदेखि विरुवा गाउँपालिकाको केन्द्रसम्म जोड्ने ६.२ किलोमिटर प्रिमिक्स कालोपत्रेले विरुवा गाउँबासीलाई निकै सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाले २०८० भदौ १२ गते निर्माण कम्पनी एम/एस गणेश कुन्ड–इन्द्रायणी–रक्तकन्या जेभी, काठमाडौँसँग १७ करोड ९३ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०८२ साउन २७ सम्म काम गर्ने समयावधि रहेकोमा ४ महिनाअघि नै सकिएको छ । कालोपत्रे सडकले ४५ मिनेटको दूरी २० मिनेटमा छोटिएको छ । योमात्र होइन वर्षौंदेखि हिलो, धुलो र अप्ठ्यारो सहनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

विरुवा गाउँपालिकाकै राक्सेघाट खोलामा मोटरेबल पुल निर्माणको काम जारी छ । बर्खाको समयमा मान्छे नै बगाउने समस्या भोग्दै आएका स्थानियलाई, बिरुवा गाउँपालिका–१ र ८ लाई जोड्ने गरी पुल बनिसकेपछि निकै सहज हुनेछ । ३१ मिटर लम्बाइ र ८ मिटर चौडाइको पुल निर्माण गर्ने गरी पूर्वाधार विकास कार्यालय स्याङ्जा र हिमनिर्माण सेवा, काठमाडौँबीच २०८० फागुन १८ गते सम्झौता भएको थियो । २०८२ फागुन १२ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म पुल निर्माणको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । पुलको २०८१ मंसिरमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरेका थिए ।

बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्डमा पर्ने पुतलीबजार नगरपालिका–५, पौवैखोलामा पनि पुल निर्माण भइरहेको छ । १५.६ मिटर लम्बाइ र चौडाइ ८.४ मिटर रहने यो पुलको कुल लागत एक करोड ८६ लाख ९२ हजार रुपैयाँ छ । पुल निर्माणको ठेक्का राङखोला सिद्धबाबा निर्माण सेवाले पाएको छ । यस पुलको निर्माण कार्य २०८२ साउन १७ गतेसम्म सम्पन्न गर्ने सम्झौता छ । सिद्धार्थ राजमार्गबाट भन्दा बाडखोलादेखि पौवैगौंडे हुँदै भित्रि बाटोबाट पोखरा र तनहुँ जान केही छोटो पर्छ ।

२०८१ मंसिरमा पौवैखोलाको पुल शिलान्यास गर्दै भौतिकमन्त्री प्रकाशबहादुर केसी ।

२०८१ मंसिरमा पौवैखोलाको पुल शिलान्यास गर्दै भौतिकमन्त्री प्रकाशबहादुर केसी

प्रदेश सरकारकै लगानीमा तनहुँको व्यास नगरपालिका–५, म्याग्दे गाउँपालिका–३ र ७ जोड्ने गरी घुम्ती–रानीटारी सडक स्तरोन्नति गरिएको छ । रानीटारी–घुम्ती सडक पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्डको वैकल्पिक मार्ग हो । ३४ करोड ५८ लाख लागतमा ७.३ किलोमिटर अस्फाल्ट र १.९ किलोमिटर सडकखण्ड आरसीसी ढलान गरिएको हो । यो सडकखण्ड निर्माणका लागि २०८० जेठ ९ गते पूर्वाधार विकास कार्यालय तनहुँ र गुल्मश्वर पाण्डे एन्ड कम्पनी नयाँ युग जेभीबीच ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य २०८२ फागुन ९ गतेसम्म सम्पन्न गर्ने सम्झौता छ ।

तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ लाई जोड्ने गरी म्याग्दे खोलामा मोटरेबल पुल बनिरहेको छ । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र पुष्पान्जली बिल्डर्सबीच २०८१ साल वैशाख १८ गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ७० लाख ७३ हजार रुपैयाँमा पुल निर्माणको सम्झौता भएको हो । सम्झौताअनुसार २०८२ साल कार्तिक १८ गतेसम्म निर्माण सक्ने गरी धमाधम काम भइरहेको छ । यो मोटरेबल पुल बनेपछि बर्खाको समयमा स्थानीयलाई पृथ्वीराजमार्ग निस्कन, सदरमुकाम जान सहज हुनेछ ।

तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका ५ जोड्ने गरी चुँदी खोलामा मोटरेबल पुल निर्माण जारी छ । ४० मिटर लम्बाइको पुलले दुवै स्थानीय तहका बासिन्दालाई आवागमनमा सहज बनाउनेछ । पुल निर्माणका लागि पूर्वाधार कार्यालय तनहुँ र एम/एस वाई.एस.एस जेभी सुर्खेतबीच २०८१ असार १० गते ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य २०८३ असार ८ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ । १० करोड १० लाख ९१ हजार रुपैयाँमा चुदी खोलामा पुल निर्माण भइरहेको कार्यालय प्रमुख सिडिई रविन्द्र तिवारीले जानकारी दिए ।

लमजुङको मध्यनेपाल नगरपालिका र क्वहोलासोथार गाउँपालिकाका गाउँलाई जोड्ने गरी ६९ करोड ४३ लाख रुपैयाँ लागतमा चार खण्डमा सडक निर्माण र स्तरोन्नतिको काम २०७६ सालदेखि जारी छ । करिब २५ किलोमिटर सडक ढलान र कालोपत्रेको काम भइरहेको छ । करापुटार–डडुवा–गिलुङ–साल्मेभञ्ज्याङ–मालिङ सडकखण्डअन्तर्गत पहिलो खण्ड डडुवादेखि साल्मेभञ्ज्याङसम्म ८.७१० किलोमिटर सडक ग्राभेल गरिएको छ । १४ करोड १५ लाख ४१ हजार रुपैयाँमा यो सडकखण्ड निर्माणका लागि पूर्वाधार विकास कार्यालय लमजुङ र मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लिबीच २०७६ साल फागुनमा सम्झौता भएको थियो ।

करापुटार–डडुवा–गिलुङ–साल्मेभञ्ज्याङ–मालिङ सडकखण्डअन्तर्गत चिसम्को मैदानदेखि डडुवासम्म दोस्रो खण्डको काम जारी छ । ९ किलोमिटर लम्बाइको यस सडकखण्ड ढलान गर्ने गरी रसुवा÷जयबन्डा जे.भीसँग २०७८ असोजमा सम्झौता भएको थियो । दोस्रो खण्डको निर्माण असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

करापुटार–डडुवा–गिलुङ–साल्मेभञ्ज्याङ–मालिङ सडकखण्ड

करापुटार–डडुवा–गिलुङ–साल्मेभञ्ज्याङ–मालिङ सडकखण्ड

डडुवादेखि गिलुङ हुँदै साल्मेभञ्ज्याङसम्म साढे ३ किलोमिटर सडक स्तरोन्नति तेस्रो खण्डअन्तर्गत काम भइरहेको छ । यो खण्ड स्तरोन्नतिका लागि एम–एस नवयुग कन्स्ट्रक्सनले ८ करोड ३० लाख रुपैयाँमा ठेक्का पाएको छ । साल्मेभञ्ज्याङदेखि मालिङसम्म ४ किलोमिटर प्रिमिक्स कालोपत्रे गर्ने सम्झौताअनुसार चौंथो खण्डको काम भइरहेको कार्यालयका निमित्त प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । यो अन्तिम खण्ड २०८३ साल असार १५ गतेसम्म पुरा गर्ने लक्ष्य राखिएको छ ।

सदरमुकाम बेसीसहरदेखि पर्यटकीय गाउँ घलेगाउँ जोड्ने मेरुदण्ड सडकको रुपमा रहेको बेसीसहर–बागलुङपानी सडक स्तरोन्नतिको काम जारी छ । २०८१ वैशाख ९ मा पूर्वाधार विकास कार्यालय लमजुङ र जल समुन्द्र ओएसिस क्वालिटी जेभीबीच ५ किलोमिटर प्रिमिक्स कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ८ करोड ८४ लाख ८८ हजार रुपैयाँमा निर्माणाधीन यो सडकको निर्माण कार्य सकिएपछि घलेगाउँ, भुजुङ गाउँ जान सहज हुने कार्यालयका सब–इन्जिनियर विवेक घिमिरेले बताए । २०८३ साल वैशाखसम्म निर्माण कार्य सकिनुपर्ने यस सडकको हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ । यो सडक कालोपत्रे भएपछि घलेगाउँ, भुजुङमा देशविदेशबाट आउने पर्यटकलाई आवागमनमा निकै सहज हुनेछ ।

बागलुङको जैमिनी नगरपालिका ८ र ९ लाई जोड्ने रुम्टा खोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय बागलुङ र पवर्तको सूर्योदय कन्स्ट्रक्सनबीच २०८० चैत २२ गते सम्झौता भएको थियो ।

पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । पुल निर्माण कार्य २०८३ वैशाख ८ गतेभित्र सक्ने सम्झौता छ । ६ करोड ९ लाख रुपैयाँमा ३५ मिटर लम्बाइको पुल निर्माण भइरहेको कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिपेश लिगलले बताए ।

रुम्टा खोलामा पुल बनेपछि कुश्मिसेरा, पैयु, बरेङ गाउँपालिका आवातजावत गर्नेलाई सहज हुनेछ । बर्खाको समयमा पुल वारि र पारि दुवैतिर गाडी राख्नुपर्ने र झोलुंगे पुल तरेर गाडी फेर्नुेपर्ने बाध्यता रहँदै आएको छ ।

रुम्टा खोला पुल

निर्माणको चरणमा रहेको बागलुङको रुम्टा खोला पुल

मुस्ताङको घरपझोङ गाउँपालिकामा जोमसोम–ठिनी–ढुम्बा ताल–स्याङ–छैरो–चिमाङ–मार्फा चक्रपथको निर्माण कार्य २०७६ सालदेखि जारी छ । १० किलोमिटर सडक प्रिमिक्स कालोपत्रे र ग्राभेल गर्ने गरी पूर्वाधार विकास कार्यालय मुस्ताङ र ठेकेदार कम्पनी बन्दना–भगवती जेभीबीच २१ करोड ४३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सुरुमा निर्माण व्यवसायीले सुस्त गरिरहेको काम चालु आर्थिक वर्षमा भने तीव्र गतिमा अगाडि बढेको छ । ५ किलोमिटर प्रिमिक्स कालोपत्रे र ५ किलोमिटर ग्राभेल गर्ने सम्झौता भएको यस सडकको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । मुस्ताङको पर्यटकीय स्थल ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुने गरेको छ । त्यसैले यो सडक स्तरोन्नति हुँदा स्थानीय र पर्यटकलाई आवतजावतमा निकै सहज हुनेछ ।

रिङरोडअन्तर्गत ठिनी खोलामा प्रदेश सरकारकै लगानीमा मोटरेबल पुल निर्माणको काम भइरहेको छ । ४ करोड ४६ लाख ७० हजार रुपैयाँ लागतमा ३५ मिटर लम्बाइको पुल निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर अजयकुमार श्रेष्ठले बताए । पुल निर्माणको ५० प्रतिशत काम सकिइसकेको छ । ठिनी खोलामा पुल बनाउन पूर्वाधार विकास कार्यालय मुस्ताङ र एम/एस अमित–अशेष जेभीबीच २०८१ साल साउन २९ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य २०८३ साउन २८ गतेसम्म सम्पन्न गर्ने सम्झौता छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २, ३ र ५ लाई जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माणाधीन छ । लेते र धम्पुलाई जोड्ने यो पुलको निर्माण कार्य २०७९ सालभित्र सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले ढिलाइ गर्दा २०७६ सालमा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य ५ वर्षभन्दा बढी भइसक्दा पनि सकिएको छैन ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले पटकपटक ताकेता गरेपछि चालु आर्थिक वर्षको चैतदेखि ठेकेदार कम्पनी देव एन्ड सायर कन्स्ट्रक्सनले पुल निर्माण कार्यमा चासो दिएको छ । ३५ मिटर लम्बाइको पुल निर्माणका लागि कार्यालय र ठेकेदार कम्पनीबीच ५ करोड ५ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ भित्र पुल निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । यो पुल निर्माण भएपछि बेनी–जोमसोम–कोरला सडकखण्डको पश्चिमतर्फ रहेका गाउँहरु धम्पु, टिटी, सिर्खुम, कुञ्जो, ताक्लुङलगायत गाउँबासीलाई आवतजावतमा सहज हुनेछ ।

पर्वतको डिमुवा–राम्जा–चित्रे सडकखण्डअन्तर्गत मोदी गाउँपालिका–६ लिदिखोला मोटरेबल पुल निर्माण भएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएकोमा सात महिनाअघि नै पुल बनेको हो ।

पूर्वाधार विकास कार्याल पर्वतसँगको सम्झौताअनुसार १५ मिटर लम्बाइको पुल २ करोड ५३ लाख लागतमा कस्तुरी कन्ट्रक्सनले निर्माण गरेको हो । यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दालाई सहज भएको छ ।

कुश्मा नगरपालिका १ र २ लाई जोड्ने गरी हिमालय मावि–पाङ–नुवार–कसेरी खनियाँघाट सडक प्रदेश सरकारकै लगानीमा स्तरोन्नति भएको छ । ३ हजार ३ सय मिटर अस्फाल्ट प्रविधिबाट कालोपत्रे र १ हजार ७ सय ८० मिटर सडक ढलान गरिएको हो । यो सडक स्तरोन्नतिको काम गत चैतमा सम्पन्न भएको छ । १६ करोड ७६ लाख ६४ हजार रुपैयाँमा सडक निर्माण गर्ने गरी पूर्वाधार विकास कार्यालय पर्वत र बी.एन. क्रिशक्ति भानुमति जेभीबीच २०७९ साल चैत १३ गते सम्झौता भएको थियो ।

पर्वतको हिमालय मावि–पाङ–नुवार–कसेरी खनियाँघाट सडक

पर्वतको हिमालय मावि–पाङ–नुवार–कसेरी खनियाँघाट सडक

कास्कीको पोखरा महानगरपालिका १७ र २१ लाई जोड्ने गरी भुंगे खोलामा मोटरेबल पुल निर्माण भएको छ । ३ करोड ७७ लाख रुपैयाँ लागतमा ३४ मिटर लम्बाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर अनुप थापाले बताए । यो पुल निर्माणका लागि कार्यालय र एम–एस ऐना निर्माण सेवाबीच २०८१ साल जेठ २३ मा सम्झौता भएको थियो । पोखराको छोरेपाटन, कृष्ती हुँदै स्याङ्जा निस्कने सडकमा पर्ने भुंग्गे खोलामा पुल बनेपछि बर्खाको समयमा मान्छे र सवारी बगाउने विगतको अन्त्य भएको छ ।

समपूरक कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–२० बेसी–पिपलडालीदेखि गहतेडाँडासम्म जोड्ने साढे ५ किलोमिटर सडकको स्तरोन्नति धमाधम भइरहेको छ । प्रिमिक्स कालोपत्रे गर्ने सम्झौताअनुसार प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको यस सडकको निर्माण कार्य जारी छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्नुपर्ने सम्झौताअनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस सडक मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ । हालसम्म यस आयोजनाको करिब ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।

बेसी–पिपलडालीदेखि गहतेडाँडासम्म जोड्ने सडक

बेसी–पिपलडालीदेखि गहतेडाँडासम्म जोड्ने सडक

प्रदेशको कान्छो जिल्ला रहेको नवलपरासी बर्दघाट सुस्तामा पनि प्रदेश सरकारको लगानीमा सडक र पुल निर्माण भइरहेका छन् । कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकालाई जोड्ने हसौरा–चिलाहा सडक स्तरोन्नतिको काम जारी छ । १ हजार ५ सय मिटर अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने गरी नवलपुर कन्स्ट्रक्सनले २०८१ जेठमा ३ करोड ७४ लाख २५ हजार रुपैयाँमा ठेक्का पाएको कार्यालय प्रमुख सिडिइ कृष्ण आचार्यले बताए । असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो सडक कालोपत्रे भइसकेपछि हुप्सेकोटबासीलाई कावासोती आउजाउ गर्न सहज हुनेछ ।

दुर्गेबैरेनी-मोहडाँडा-हुप्सेकोट हुँदै पाल्पा जोड्ने सडक चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको छ । १ हजार ८ सय मिटर सडक अस्फाल्ट कालोपत्रे र ढलान गर्ने गरी जय देउराली निर्माण सेवा अर्घाखाँचीलेले २०८१ जेठमा ३ करोड ८६ लाख ७९ हजार रुपैयाँमा ठेक्का लिएको थियो । यस सडकको निर्माण कार्य सम्पन्न भएसँगै स्थानीयलाई आवातजावतमा निकै सहज भएको छ ।

नवलपुरको दुर्गेबैरेनी-मोहडाँडा-हुप्सेकोट हुँदै पाल्पा जोड्ने सडक

नवलपुरको दुर्गेबैरेनी-मोहडाँडा-हुप्सेकोट हुँदै पाल्पा जोड्ने सडक

नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका वडा नम्बर ७ र ९ लाई जोड्ने जयश्री खोलामा पुले बनेको छ । ६ करोड ३८ लाख रुपैयाँ लागतमा ६० मिटर लम्बाइको मोटरेबल पुल निर्माण भएको हो । यसअघि दुवैतर्फ मोटर बाटो रहेपनि खोलामा पुल नहुँदा बर्खाको समयमा जोखिमपूर्ण र घुमाउरो लामो बाटो प्रयोग गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

म्याग्दीको मालिका गाउँपालिका ३ र ५ लाई जोड्ने गरी अधिभारा खोलामा पुल निर्माण भइरहेको छ । ४ करोड १० लाख ८३ हजार रुपैयाँमा पुल बनाउने गरी बी.एम.ए कोण्डा जेभी, रामरेखा बागलुङले २०८० असोज २६ मा ठेक्का लिएको थियो । २०८२ असार मसान्तसम्म काम सक्ने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो पुल निर्माण भएपछि स्थानीयलाई दरबाङ र बेनी बजार आउजाउ गर्न सहज हुनेछ ।

पश्चिम म्याग्दी र पश्चिम बागलुङलाई जोड्ने गरी दरबाङ, मुना, ढोरपाटन सडकको ट्रयाक खोल्ने र स्तरोन्नतिको काम धमाधम भइरहेको छ । समपूरक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सोही सडकखण्डको धारापानीदेखि सिबाङसम्मको ६ किलोमिटर खण्ड प्रिमिक्स कालोपत्रे र ढलान गर्ने गरी काम जारी छ । रामसागर बी.एस, धौलागिरी बी.के, एसके जेभी काठमाडौंले करिब १३ करोड रुपैयाँ लागतमा धारापानी, सिबाङ खण्डमा सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन जाली भर्ने, टेवा पर्खाल लगाउने काम गरिरहेको छ । २०८३ साल भदौ २० गतेभित्र काम सक्ने गरी २०८१ साल जेठ २० गते कार्यालय र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

दरबाङदेखि ढोरपाटन खण्ड निर्माण भएपछि मध्यपहाडी लोकमार्गको विकल्प बन्ने विश्वास गरिएको छ । यो सडक ढोरपाटनसम्म जोडिएपछि सदरमुकाम बागलुङ बजारबाट भन्दा म्याग्दीको बेनी, दरबाङ बजार हुँदै ढोरपाटन जान करिब ४० किलोमिटर छोटो पर्नेछ । म्याग्दीको तल्लो जलजलादेखि ३ किलोमिटर मात्र सडक ट्रयाक खुल्न बाँकी रहेकोमा जेठ अन्तिममा त्यो काम पनि भइसकेको छ । अब सडक स्तरोन्नति भएपछि बेनी, दरबाङ हुँदै ढोरपाटन जान सकिनेछ ।

मनाङको नासो गाउँपालिका ६ र ७ लाई जोड्ने दुधखोलामा सडक पुल एक दशकदेखि निर्माणाधीन छ । तत्कालीन जिल्ला विकास समितिमार्फत ठेकेदार कम्पनी सञ्जीवनी/खड्का/द क्याराभान जेभीले २०७३ साल असारमा निर्माणको जिम्मा पाएको थियो । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल निर्माण योजना संघीयता लागु भएपछि प्रदेश सरकारलाई हस्तान्तरण भयो । अहिले पूर्वाधार विकास कार्यालय मनाङ मातहत यो योजना सञ्चालन भइरहेको छ ।

४ करोड १ लाख ६२ हजार रुपैयाँमा पुल निर्माण गर्ने गरी ठेक्का पाएको कम्पनीले असार मसान्तभित्र निर्माण कार्य सक्ने प्रतिबद्धता जनाएको कार्यालयका निमित्त प्रमुख इन्जिनियर हरिबहादुर थापाले बताए । यसअघि निकै सुस्त रहेको निर्माण कार्य चालु आर्थिक वर्षमा भने तीव्र ढंगले अगाडि बढेको छ । हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । पुलको निर्माण कार्यको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वैशाखमा निरीक्षण गरेका थिए । यो पुल निर्माण भएपछि स्थानीय र मनाङ पुग्ने पर्यटकले काठको साँघुबाट सदरमुकाम चामे आउजाउ गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

मनाङकै निस्याङ गाउँपालिकाको सीमानादेखि टंकी मनाङ सडकअन्तर्गत मुङ्जे खाङ्सार खण्डको स्तरोन्नति जारी छ । ९.४ किलोमिटर सडक निर्माण कार्य २०८० मंसिरमै सकिनुपर्ने थियो । एम.एस वर्ल्ड वाइड पी.आर नाना जेभीले सडक ढलान र ग्राभेल गर्ने गरी २०७८ सालको जेठमा पूर्वाधार विकास कार्यालय मनाङसँग सम्झौता गरेको थियो । २९ करोड २७ लाख ९२ हजार रुपैयाँमा सम्झौता भएको आयोजनाको हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ