पोखरा विमानस्थलबाट चीनको छेन्दुमा हुने व्यावसायिक चार्टर उडानमा पोखराका मेयर धनराज आचार्य प्रायः छुटाउन चाहँदैनन् । पछिल्लो पटक लायन्स टोली गत महिना चीन पुग्दा मेयर आचार्य पनि सहभागी भए । फेरि एक महिना नबित्दै सोमबार मेयर आचार्य निमित्त प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यसँगै चीन भ्रमणमा जाँदैछन् ।
मेयर आचार्यको यसअघि पनि अत्यधिक विदेश भ्रमण भइरहेको भन्दै पोखरेलीले चर्को आलोचना गर्दै आएका छन् । तीन वर्ष बितिसक्दा ‘सधैं विदेश डुल्ने, पोखरा नबनाउने’ भन्दै पोखरेली मेयर आचार्यसँग सामाजिक सञ्जालमा पनि रूष्ट देखिन्छन् ।
पोखरा महानगरपालिकाले आइतबार १७ औं नगरसभा डाक्दै एकै दिन नीति तथा कार्यक्रम र बजेट ल्यायो । गत वर्ष असार ९ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याएको महानगरले यो पटक एकै दिन हतारो गर्नुमा मेयर आचार्यको चीन भ्रमण नै कारण हो ।
देशभरका स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शनअनुसार जेठ १० गतेभित्र योजना पेश गरिसक्नुपर्नेे र कम्तिमा जेठ मसान्तसम्म बजेटको तयारी भइसक्नुपर्ने थियो । यही समयमा पनि चीन भ्रमणमा रहेका मेयर आचार्य बजेट पेश गर्ने बेला पनि चीन भ्रमणमै जानुपर्ने हुँदा बजेटमा हेलचेक्र्याइँ भयो ।
आइतबार सार्वजनिक बजेटमा बर्गेल्ती त्रुटि भेटिएका छन् । उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दैगर्दा कर्मचारीबाट अंक जोड सच्याइएको दृश्य लाजमर्दो देखियो । पोखरा महानगरपालिकाले पर्याप्त छलफल र तयारी बिना हतार–हतारमा बजेट ल्याएको यसबाट पुष्टि हुन्छ । केही संख्यामा मात्र उपस्थिति रहेको पोखरा सभागृहको खाली हलमा बजेट घोषणका क्रममा उपमेयर गुरुङ केही मिनेट रोकिँदै पढ्दै गर्नुपरेको थियो । बीचमा कर्मचारीले पढ्ने पाना ल्याएर दिएको पनि देखियो ।

कार्यपालिका बैठकले आइतबार अबेरसम्म बजेटको सिलिङ र योजनाबारे नै कार्यपालिका बैठकले निर्णय गर्न नसक्दा हतार–हतारमा सार्वजनिक गर्न थाल्दा खेलाँची हुन पुगेको हो । पोखरा भित्रका ३३ वटा वडाहरूलाई ३ करोड रुपैयाँसम्मको सिलिङ दिइएको थियो । जनसंख्या, भूगोल, खर्च क्षमता, आन्तरिक राजस्वका आधारमा वडाहरूलाई दिइएको सिलिङमा एक करोड थप दिनुपर्ने शर्त वडाध्यक्षको थियो । बिहान ८ बजे विषयगत समितिसहित बजेट निर्धारण समितिको बैठक बोलाइएको थियो ।
त्यसलगत्तै कार्यपालिका बैठक डाकिएको थियो । बैठकमा यसै विषयमा वडाध्यक्षहरुको मेयरसँग रस्साकस्सी चलेपछि बहुवर्षीय योजना ठेक्का लागेका वडामा ६० लाख र बहुवर्षीय योजना नभएका वडामा ९० लाख रुपैयाँ थप हुनेगरी सहमतिमा पुग्दा दिउँसो २ बजिसकेको थियो ।
त्यसपछि बल्ल सुरु भएको नगर सभामा मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम र उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे । उपमेयर गुरुङले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् । सोमबार चीन भ्रमण भएकाले आइतबार साँझ नै मेयर आचार्य काठमाण्डौ जान हतारिएका थिए ।

सार्वजनिक बजेटमा चालु र पुँजीगत खर्च कति भन्ने नै उल्लेख छैन । नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकताको क्षेत्र बजेटमा छैन भने बजेटमा समावेश शीर्षक नीति तथा कार्यक्रममा नै छैन । नीति तथा कार्यक्रममा उल्लेख नै नगरिएका कार्यक्रम बजेटमा आएका छन् भने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यमा समावेश छैन ।
पोखरा महानगरका कर्मचारीहरूले हतारमा सिलिङ टुंगिएको र निर्णयसमेत ढिला हुँदा त्रुटि भएको बताइरहेका छन् । चीन जाने हतारोले आइतबारै नीति तथा कार्यक्रम र बजेट ल्याउँदा बजेटमै त्रुटि हुन पुगेको महानगरकै अधिकृतहरुले बताएका छन् ।
गत वर्षको भन्दा बढी महत्वाकांक्षी बजेट प्रस्तुत गरिरहँदा बजेटको स्रोत व्यवस्थापनमा भने अस्वभाविक तरिकाले आन्तरिक आयलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षको बजेटको स्रोतमा संघदेखि प्रदेशसम्म सबै अनुदान घटेको अवस्थामा आन्तरिक आयलाई प्राथमिकता दिन बाध्यकारी अवस्था छ तर उठ्नै नसक्ने आन्तरिक आयलाई बजेटको मुख्य श्रोतका रुपमा लिइएको छ । बजेटको कुल आकारको करिब ३९ प्रतिशत हिस्सा आन्तरिक आयबाट बेहोर्ने लक्ष्य राखिएको छ । ३ अर्ब २३ करोड ७२ लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य असम्भवप्रायः छ ।
पढ्नुहोस् बजेटः
BUDGET 082083
पढ्नुहोस् नीति तथा कार्यक्रमः
NITI PGM-208283
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’