मुस्ताङमा ७ लाख ५ हजार पर्यटक भित्रिए

पर्यटन

मुस्ताङमा ७ लाख ५ हजार पर्यटक भित्रिए

Jomsom Bazar

Pic. Roshan Budhathoki

जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जाने थालेपछि हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा अप्रत्याशित रूपमा वृद्धि भइरहेको पाइएको छ । यहाँको सडकमार्ग तथा हवाई मार्ग सहज भएकाले मुस्ताङ भ्रमण गर्नेको संख्यामा अपेक्षाकृत रूपमा वृद्धि भएको हो ।

यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको हो । हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रूपमा अंग्रपंक्तिमा पर्दछन् ।

यसैगरी मुस्ताङका सदियौं वर्ष पुराना ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित दर्जनौं गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया र यहाँको पृथक–पृथक प्रकारको भू–बनाबट लगायतका कारण मुस्ताङमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग, यहाँका स्याउ बगान, जैविक सम्पदा र मनमोहक हिमशृंखला लगायतका कारण मुस्ताङ जिल्लामा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो ।

मुस्ताङमा एक वर्षमा ७ लाख ५ हजार ७७९ जना आन्तरिक तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जसमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक छन् ।

आ.व. २०८०/०८१ मा यहाँ चार लाख ५४ हजार ३२६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्यो संख्या बढेर ७ लाख नाघेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । यहाँ आ.व. २०८०/०८१ को तुलनामा आ.व. २०८१/०८२ सालमा दुई लाख ५१ हजार ४५३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो संख्या ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएको उनले उल्लेख गरे ।

आ.व. २०८१/०८२ को साउनदेखि असारसम्ममा पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आव २०८०/०८१ मा तीन लाख ५४ हजार ९२७ जना आन्तरिक पर्यटक भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्योसंख्यामा दुई लाख ३३९ जना आन्तरिक पर्यटकको संख्या वृद्धि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैगरी आ.व. २०८०/०८१ मा उनान्नसय हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा आ.व. २०८१/०८२ मा त्योसंख्यामा एकाउन्न हजार ५४ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

  • सुन्दर कुमार थकाली

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ