पोखरा -१५ ले डिजिटल मार्केटिङ तथा शैक्षिक कार्यक्रमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ।
वडाले प्रविधिको विकाससँगै बढ्दो डिजिटल मार्केटिङको आवश्यकता र सम्भावनालाई महसुस गर्दै युवालाई ‘डिजिटल मार्केटिङ’ तथा आमा हरूलाई ‘शैक्षिक कार्यक्रम’ सञ्चालन गरेकोमा तालिम पश्चात् आज प्रमाणपत्र हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले युवाहरू विकास निर्माणको आधारशिला, देशको भविष्य र परिवर्तनको संवाहक रहेको भन्दै १५ नं वडाले यसरी युवालाई जोड्ने कार्यक्रम ल्याउनु महत्त्वपूर्ण भएको बताइन्। सरकारले युवाहरूलाई आफ्नै देशमा बस्ने र काम गर्ने अवसरको सृजना गर्नुपर्ने भन्दै पछिल्लो समय किन युवाहरू बिदेसिन चाहन्छन् ? किन आफ्नो देशमा काम गर्न रुचाउँदैनन् ? भन्ने विषयमा सबैले गम्भीर भएर मनन र समाधान खोज्नुपर्ने बताइन्। उनले युवाहरू विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर, स्वदेशमा कामै नगरी बस्ने प्रवृत्ति देखिएको भन्दै युवाहरूले पनि मेरै देशमा बस्छु, मेरै देशमा पसिना बगाउँछु भन्ने राष्ट्र प्रेमको भावना लिनुपर्ने बताइन्।

यस्तै, वडाध्यक्ष तोरण बानियाँले पूर्वाधारको विकाससँगै मानवीय विकासलाई अगाडि बढाउने नीति अनुरूप डिजिटल मार्केटिङ तालिम सञ्चालन गरिएको बताए। वडा नं १५ ले युवा स्वरोजगार, महिला उद्यमशीलता, खेलकुद, शिक्षा, स्वास्थ्य र कृषिमा धेरै कार्यक्रमहरू गरिरहेको भन्दै वडाको बजेट विनियोजन गर्दा नै मानवीय विकासलाई प्राथमिकतामा राखिएको बताए। गत वर्ष पनि युवा लक्षित कार्यक्रम अनुरूप १६ जनालाई कपाल काट्ने तथा २० जनालाई लाइट ड्राइभिङ तालिम दिइएकोमा १६ जनाले लाइसेन्स प्राप्त गरेको भन्दै अध्यक्ष बानियाँले सिकेको सीपलाई सदुपयोग गर्दै उद्यमशीलतामा जोडिन सुझाव दिए। आफ्नो वडाका ज्येष्ठ नागरिक, महिला, युवा, गरिब तथा विपन्नलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर आफूहरू इमानदारिताका साथ लागिरहेको बानियाँको भनाई थियो।

कार्यक्रममा डिजिटल तालिम लिए पश्चात् यही देशमा केही गर्न सक्छौँ भन्ने आत्मबल बढेको एक सहभागीले प्रतिक्रिया दिए। यस्तै, शैक्षिक तालिमले सबैका अगाडि बोल्न, आफ्नो समस्या राख्न ऊर्जा बढेको सहभागी मध्येकी अर्की एक वृद्धाले सुनाइन् ।
शैक्षिक तालिम प्रशिक्षक वासु बास्तोलाले आफूले जानेको कुरा आमा हजुरआमा सरहका व्यक्तिलाई सिकाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

कार्यपालिका सदस्य मन्दिरा परियारले सञ्चालन गरेको कार्यक्रममा, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, स्थानीय वृद्ध तथा समाजसेवीको सहभागिता रहेको थियो।
थप तस्वीर



सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित