मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ पुराङ रानीपौवामा बर्सेनि मनाइने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक ग्रान्ड ‘यार्तुङ’ मेलाको तयारी गरिएको छ। यहाँको जनप्रिय युवा क्लबले यार्तुङ मेला सम्बन्धी जानकारी दिएको हो।
जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङ र मुक्तिनाथस्थित पुराङ रानीपौवाका गाउँ मुखिया ग्याल्चेन गुरुङ उपस्थित थिए। यार्तुङ पर्व अर्थात् मेलालाई विगतका वर्षहरु झैँ भव्य र सभ्य रुपमा सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गरिएका छन्।
सदियौँ वर्षदेखि निरन्तर चल्दै आइरहेको हिमाली संस्कृति यार्तुङ पर्वलाई मेलाका रुपमा सञ्चालन गर्न डेढ दशकदेखि जनप्रिय युवा क्लब सक्रिय रहँदै आइरहेको क्लबका अध्यक्ष ठकुरीले जानकारी दिए। पछिल्लो समय यहाँका युवा बढी मात्रामा विदेश पलायन भइरहेको अवस्थामा यहाँका परम्परा र संस्कृति धान्नसमेत समस्या र चुनौतीहरु देखा पर्न थालेको उनले उल्लेख गरे।

संस्कृति जीवित रहे मात्रै हिमाली क्षेत्रको मौलिकता संरक्षण हुने र यहाँको संस्कृति तथा पहिचान जोगाउन क्लबले यार्तुङ मेलाका रुपमा विभिन्न सृजनात्मक कार्यक्रमहरु समावेश गर्दै आइरहेको छ।
यसपालिकाको यार्तुङ मेलामा घोडा दौड प्रतियोगिता र कदम घोडा दौड प्रतियोगिता मुख्य आकर्षण रहेका छन्। यार्तुङ घोडा दौड प्रतियोगितामा छिमेकी जिल्ला मनाङ–डोल्पादेखि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका घोडा राइडरहरुले सहभागिता जनाउने अध्यक्ष ठकुरीले बताए।
यार्तुङ मेलामा प्रथम हुने कदम घोडा राइडरलाई रु एक लाख ५० हजार प्रदान गरिने छ। कदम घोडा दौड प्रतियोगितको दोस्रो हुने कदम घोडा राइडरलाई ८० हजार र तेस्रो हुने कदम घोडा राइडरलाई ५० हजारसहित पुरस्कृत गरिने छ।
कदम घोडा दौड प्रतियोगितामा अन्तर्गत घोडाको उत्कृष्ट साजसज्जातर्फ २५ हजार, घोडा राइडरको उत्कृष्ट मौलिक वेशभूषातर्फ २५ हजार, घोडा चढेर उत्कृष्ट धनुषबाण प्रहार गर्नेलाई २५ हजार र घोडा चढेर सबैभन्दा धेरै जमिनमा राखिएको खाता टिप्ने राइडरलाई २५ हजार पुरस्कारसहित सम्मान गरिने क्लबले जनाएको छ।
लामो दूरीको यार्तुङ घोडा दौडमा प्रथम हुने घोडा राइडरले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कारसहित प्रमाणपत्र पाउने छन्। यार्तुङ मेलामा सेभेन ए साइड फुटबल, तारा खेल प्रतियोगिता हुनेछ। यार्तुङ मेलाको दौरानमा नेपालका ख्यातिप्राप्त कलाकारहरुद्वारा साङ्गीतिक प्रस्तुति रहने छ।
हिमाली क्षेत्रको महत्वपूर्ण पर्व यार्तुङ बर्खायामको समाप्तिपछि मनाइने एक प्रकारको सांस्कृतिक पर्व भएको वडाध्यक्ष गुरुङ भनाइ छ। यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ। खेतीपातीको कामकाज सकेर मनाई यस प्रकारको पर्वलाई यार्तुङ पर्व भन्ने गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ। यहाँको धर्म, संस्कृति र मौलिकतालाई संरक्षण गर्न सके मात्रै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउन सकिने बताए।
गाउँ मुखिया ग्याल्चेन गुरुङले यहाँको यार्तुङ पर्वको तयारीका लागि सरसफाइ र साजसज्जामा जोड दिएको बताउनुभयो। गाउँ मुखिया गुरुङले गाउँमा भएका युवा वैदेशिक रोजगारमा पलायन भएकाले परम्परा धान्न मुस्किल परेको बताउनुभयो। मुक्तिनाथमा मनाइने यार्तुङ जिल्लाकै ग्रान्ड यार्तुङ भएकाले यसको महत्व बढी भएको उल्लेख गरे। रासस
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला