पोखरा । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाले सरकारी कामकाजी भाषाको रूपमा मान्यता पाएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् ।
पारित भएका विधेयकमा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ रहेका छन् ।
गत असार २४ गते प्रदेशसभाबाट पारित भएको विधेयक प्रमाणिकरणका लागि साउन १२ गते कार्यालयमा आएको र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिइन् । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै अब राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।
देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सरकारले सुझाव सङ्कलन पनि गरेको थियो । यहाँका मगर तथा गुरूङ समुदायले आफ्ना मातृभाषालाई सरकारी कामकाजमा मान्यता प्रदान गर्न पटक पटक ध्यानाकर्षण गराएका थिए भने आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो । भाषा आयोग काठमाडौँले पनि प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको थियो ।
गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ । पछिल्लो २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् ।
सरकारी कार्यालयमा रहने सार्वजनिक दस्तावेज पनि अनुवाद गरी अभिलेखीकरण गर्न सकिने, प्रदेश राजपत्रमा पनि दुई भाषामा प्रकाशन गर्न सकिने, मगर र गुरुङ भाषालाई उच्च शिक्षासम्म अध्ययन–अध्यापनको व्यवस्था गर्न सकिने विषय पनि विधेयकले समेटेको छ ।
सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारी कामकाजका भाषाका अतिरिक्त अन्य भाषाको संवर्धन र संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने विषय विधेयकमा उल्लेख छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’