पोखराको अग्रणी विद्यालय प्रतिभा माविले कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशन गरेको नतिजामा नेपालभरमा उच्चतम् जीपीए ३.९६ रहेकामा प्रतिभा माविका ९ जना छात्रछात्राले उक्त जीपीए प्राप्त गरेका छन् ।
व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यालयले विद्यार्थीलाई यसपछिको अध्ययनबारे पनि मार्गदर्शन गरेको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताए । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतले गर्दा परिणाम उत्कृष्ट आएपनि त्यसको हकदार महानगर पनि हुने उनले बताए ।

कक्षा १२ मा असफल हुँदैमा वा कम अंक आउँदैमा कोही विद्यार्थी आत्तिन नहुने पनि उनले बताए । ‘विद्यालय तहमा बारम्बार असफल भएका विद्यार्थीले पनि विश्वविद्यालय तहमा उत्कृष्ट अंक ल्याउने गरेका छन् । त्यसैले अहिले कम अंक आउँदैमा वा असफल हुँदैमा हरेस खानु हुँदैन,’ मेयर आचार्यले भने ।
उत्तीर्ण विद्यार्थीलाइ अबको पढाईबारे सुझाउँदै मेयर आचार्यले पढ्ने विकल्प पर्याप्त रहेकोमा आफ्नो इच्छा, आकांक्षा, रुची अनुसार पढ्नुपर्ने बताए । ‘मनले जे भन्छ, त्यही विषय पढौं, बुवाआमा वा छिमेकीका लागि पढ्ने होईन । आफ्नो चाहना अनुसारको विषय पढ्दा पक्का सफल भइन्छ,’ उनले भने, ‘आफैले आफैलाई सोधेर पढौं । अहिले पढेको पढाईले कम्तिमा राज्यलाई केही न केही योगदान दिनुपर्छ ।’

स्नातक नगरी विदेश नजान पनि उनले विद्यार्थीलाई सुझाव दिए । विदेश गएर पढ्दै र काम गर्ने हो भने निकै सकस रहेको भन्दै मेयर आचार्यले भने, ‘कम्तिमा स्वदेशमा स्नातक तह पढेर जानुस् । १२ कक्षा पछि नेपालको सिमाना नै नदेख्नेगरी पर्दा लगाउने अवस्था नहोस् ।’
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अहिलेको नतिजाले विद्यालयको इतिहास रचिएको बताए ।
‘समग्रमा पोखराको १२ कक्षाको परिणाम अध्ययन गर्ने हो भने प्रतिभाको नतिजाले योपटक निकै नै फड्को मारेको छ । यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो,’ उनले भने, ‘प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो । योपटक देशकै उत्कृष्ट रिजल्टमा आफूलाई हकदार सावित गरेको छ ।’

प्रतिभाबाट १२ कक्षा उत्तीर्ण गरेपछि गएका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा आफूलाई अब्बल सावित गराएको पनि उनले बताए । ‘अहिले प्रतिभाको सपनामा अझ अर्काे इट्टा थपिएको छ । प्रतिभामा सिकेको आत्मविश्वासले सबै विद्यार्थीको भविश्य उज्ज्वल बन्नेछ,’ उनले भने ।
प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा फरक पहिचान कायम गर्न सकेकोमा यो पटक त्यसले थप निरन्तरता पाएको बताए ।
‘प्रतिभाको इतिहासमा इट्टा थप्न यो पटक विद्यार्थीले ठूलो योगदान दिएका छन् । विद्यार्थीले कोरेको यो इतिहासलाई आगामी दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ’ पौडेलले भने, ‘उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि प्रतिभा सधैं तयार छ ।’

सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो