इटहरीमा पनि गोली लागेर एकको मृत्यु, प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका भवन

प्रदर्शन

इटहरीमा पनि गोली लागेर एकको मृत्यु, प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका भवन

भरतपुर महानगरपालिका तोडफोडको प्रयास, झडपमा ६ जना घाइते, बिर्तामोड नगरपालिकामा तोडफोड

itahari

जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन।

यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो। इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए।

जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको बताइएको छ। आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।

प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन

प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएका हुन् ।

आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश पनि जारी गरेको छ । जेनजीले बिहान ११ बजे देखिनै इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।

त्यसपछि भने जेन जी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको हो ।

भरतपुर महानगरपालिका तोडफोडको प्रयास, झडपमा ६ जना घाइते

चितवनको भरतपुर कहिबेर तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको उनले बताए । झडपका क्रममा छ  जना घाइते भएको उनले बताए । अश्रुग्याँस प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए । प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन् । प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बिचमा झडप समेत भएको थियो । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।

बिहानसम्म शान्त रहेको भरतपुरमा केही प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रदर्शन गरेर फर्किएका थिए। दिउँसो साढे १ बजेपछि प्रदर्शनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रदर्शन थालेका हुन् । अहिले पानी परेपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।

बिर्तामोड नगरपालिकामा तोडफोड

जेनजी प्रदर्शनकारीहरूले बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा परी केही घाइते भएका छन् । प्रदर्शनकारीहरूले ढुंगामुडा प्रहार गरी नगरपालिकाको नयाँ भवनको धेरै सीसा तोडफोड गरेका छन् भने नगरपालिकाको गेटमा समेत आगजनी गरेको जनाइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ