रातभरमा अन्यथा नभए भोलि बिहान शुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै

रातभरमा अन्यथा नभए भोलि बिहान शुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै

पूर्व राष्ट्रपति भण्डारी, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, ओली, देउवा र प्रचण्डसँग पनि राष्ट्रपतिले छलफल गरे

sushila karki

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।

आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइनेछ । अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ।

यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए। राति ११ बजेसम्म नियुक्त गर्न अल्टिमेटम नै दिएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् । राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने, ‘अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दै छु ।

छलफलमा राष्ट्रपतिका अलवा प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, र कानुनविद् ओमप्रकाश अर्याल रहेको बुझिएको छ । चार जनाबीच जारी वार्तामा संसद् विघटनको विषयमा मतभेद भएको बुझिएपनि यसलाई कुन संवैधानिक उपायबाट गर्ने भन्नेमा छलफल केन्द्रित छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श गरेका छन् । उच्च स्रोतका अनुसार नयाँ सरकार गठनबारे राष्ट्रपति पौडेलले दलहरूसँग पनि छलफल गर्ने मनशाय व्यक्त गरेबमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि महाराजगञ्जस्थित भैरवनाथ गणमा ल्याइएको छ।

पूर्व राष्ट्रपति विद्या भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग पनि राष्ट्रपतिले छलफल गरिसकेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्धबारे समेत छलफल भएको छ ।

कानुनविद्हरुसँगको छलफलपछि राष्ट्रपति पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका छन् । माओवादी उपमहासचिव वर्षमान पुन पनि राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

संसद्ले नै नयाँ प्रधानमन्त्रीलाई वैधानिकता दिने गरी अघि बढ्नुपर्छ भन्ने बटमलाइन रह्यो, त्यसो हुँदा संसद्लाई विघटन गर्ने भन्ने भएन  छलफलमा सहभागी एक नेताले भने ।

जेनजीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेको नाम कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठनलगायतका मागहरूबारे छलफल भएको थियो। संविधानभित्रैबाट अगाडि बढ्ने भन्ने दलहरूको भावनालाई सेनाले महत्त्व नदिएको पनि स्रोतले बताएको छ।

सम्भावित विरोध वा प्रदर्शन रोक्न पनि सेनाले तयारी गरिरहेको छ। मध्यरातमा कर्फ्यू जारी रहेका बेला काठमाडौँका सडकहरूमा सेनाको उपस्थिति बाक्लो पारिएको छ। बिहीबार साँझ ७ बजेदेखि नै सेनाले कडाइ गर्दै सर्वसाधारणहरूलाई चाँडै घर फर्कन आग्रह गरिरहेको थियो।

मध्यरातमा सेना मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास, मुख्य सडकहरू लगायतका स्थानमा सेनाको उपस्थिति बाक्लो छ भने ब्यारेकहरूलाई पनि हाइ एलर्टमा राखिएको बुझिएको छ। काठमाडौँबाहिरबाट पनि सेनाका गाडीहरू मगाइएको सैनिक स्रोतले पुष्टि गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ