काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको छ।
मंगलबार चार घण्टासम्म जेन-जीहरूसँग वार्ता गरेकी कार्कीले अपरान्ह ४ बजेदेखि दलहरूसँग संवाद गरिरहेकी छन् ।
राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने ११ दलका नेताहरू र दुईजना पर्यवेक्षक सहभागी छलफल अझै केही घण्टा चल्न सक्ने बताइएको छ।
‘यो संवाद अझै केही समय चल्ने छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ’, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘पहिलो चरणमा सबै नेताहरूले बोल्ने काम भएको छ। यो क्रम करिब अन्त्यतिर पुगेको छ ।’
खरेलका अनुसार सबै नेताहरूले निर्वाचनमै केन्द्रित भएर धारणा राखिरहेका छन् । ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ’, उनले भने, ‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो नेताहरूले राख्नुभएको छ ।’
उता नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन् । खरेलले भने, ‘एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।’
यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सम्भाव्यता र सुरक्षाबारे दलहरूबीच मतभेद बढिरहेका बेला प्रधानमन्त्री कार्कीले पहिलो पटक सामूहिक छलफल आयोजना गरेकी हुन्।
जेन-जी आन्दोलनको जगमा प्रधानमन्त्री बनेपछि उनले आयोजना गरेको यो पहिलो सर्वदलीय बैठक हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन हुन नसक्ने भन्दै संसद् पुनःस्थापनाको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीले साझा धारणा बनाउन संवाद थालेकी हुन्।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन्।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन्।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र मुख्य सल्लाहकार अजयभद्र खनाल पनि बैठकमा सहभागी छन्।
विशेषगरी, यस बैठकमा पूर्वप्रशासक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकको रूपमा सहभागी गराइएको छ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान