काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समूहमा विभाजित जेन-जीहरूले वर्तमान समयको संवेदनशीलता र अन्तरिम सरकारको सीमा बुझ्नुपर्ने बताएकी छन् । कोही जेन-जी बरालिएका र कोही उग्र रहेको बताउँदै उनले संयम भएर अगाडि बढ्नुपर्ने बताएकी हुन् ।
बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आइतबार छलफलका क्रममा प्रधानमन्त्री कार्कीले उक्त धारणा राखेकी हुन् । जेन-जीहरूका धारणा विभिन्न तहबाट आइरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार जेन-जी आन्दोलनमा सहभागीहरू कोही ठिकै भएको तर कोही भने मनोमानी गर्दै हिँडेको भन्ने कार्कीको भनाइ थियो । ‘कतिपय जेन-जी यहीँ (प्रधानमन्त्री कार्यालय) आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन्,’ कार्कीले भनेकी थिइन्, ‘जेन-जीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ । कोही-कोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।’
वर्तमान सरकारमा सहभागी कसैको पनि खराब नियत नरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । ‘कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि होला । तर, हाम्रो नियत खराब छैन । कसैले आशंका पाल्नुपर्ने कारण छैन । हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो । संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो । संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।
मुलुकमा स्थायित्वका लागि जनताबाट निर्वाचित सरकार चाहिने र निर्वाचनका लागि राजनीतिक दल अपरिहार्य रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्,’ उनले भनेकी थिइन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान