काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।
बुधबार दिउँसो माओवादी र एकीकृत समाजवादी लगायतका दलको एकताको औपचारिक घोषणाका लागि राष्ट्रिय सम्मेलन हुँदैछ । त्यो सम्मेलन अघि नै झाँक्री लगायतका नेताहरुले एमालेमा जाने आह्वानसहितको घोषणा गर्नेछन् ।
‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने ।
हामीले लिन खोजेका नै सही निर्णय हुन्ः झाँक्री
नेतृ रामकुमारी झाँक्रीले आग्रह, पूर्वाग्रह त्यागेर छलफलमा बस्न आग्रह गरेकी छन् ।
मंगलबार सामाजिक संजालमार्फत झाँक्रीले धैर्यताका साथ संवाद जारी राख्न आग्रह गरेकी हुन् । पार्टी अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै झाँक्री असन्तुष्ट छिन् ।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, झाँक्रीलगायतका नेताहरुले माओवादीमा नजाने बताइसकेका छन् ।
झाँक्रीले भनेकी छन्, ‘कमरेडहरू, राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ । विचारमा मतभेद हुन्छ । कार्यशैली फरक हुनसक्छ । हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो । त्यसकारण हाम्रा बीचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं । आग्रह/पूर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सही दिशामा पुर्याउँ । हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं। हामीले लिन खोजेका निर्णयहरू नै सही निर्णय हुन्। आजको आवश्यकता पनि यही हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !’
बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन् ।
घनश्याम भुसालको विशेष पत्रकार सम्मेलन बुधबार
माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) महासचिव घनश्याम भुसालले अलग्गै मोर्चा बनाउने भएका छन् ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष पार्टी एकतामा सहभागी हुने भएपछि भुसालले एकीकृत समाजवादी पुनर्गठन गर्ने बताउँदै आएका छन् । ‘विद्रोहलाई रक्षा गर्नका निम्ति हाम्रो पार्टीको महासचिव घनश्याम भुसालद्वारा विशेष घोषणा हुँदैछ’, भुसाल निकट नेता दामोदर अर्यालले भने, ‘बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।’
भुसालले बुधबार गर्ने पत्रकार सम्मेलनमा मोर्चा घोषणा गर्ने र मोर्चाको उद्देश्य, आवश्यकता र समेटिने शक्तिबारे जानकारी गराउनेछन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु