जेनजी आन्दोलनबारे रास्वपा भन्छ- हामी निलो क्रान्ति भन्दै थियौँ, जेनजीले रातो क्रान्ति गरिदिए

राजनीति

जेनजी आन्दोलनबारे रास्वपा भन्छ- हामी निलो क्रान्ति भन्दै थियौँ, जेनजीले रातो क्रान्ति गरिदिए

rasopa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा हालैको जेनजी आन्दोलनदेखि राष्ट्रिय राजनीतिका प्रमुख एजेन्डाहरूमा पार्टीको विचारधारा थप स्पष्ट गरिएको छ ।

उपसभापति अर्याल गत भदौ २३ र २४ गतेको घटनालाई पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणामका रूपमा व्याख्या गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘शासकहरूले आफ्नो भविष्य बरबाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो ।’

भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान र कारबाही सरकारको तत्कालीन कार्यभार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘आन्दोलन हिंसात्मक बनेपछि जेनजीले २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

अर्यालले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई २४ गतेको घटनाले राजीनामा दिन बाध्य पारेको बताएका छन् ।

उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो ।’

२४ गतेको विध्वंसमा राजनीतिक कार्यकर्ताको सक्रियता रहेको तथ्य फोटो र भिडिओहरूबाट खुलेको अर्यालले उल्लेख गरेका छन् । सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई बढाएको उनको भनाइ छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।

रास्वपा २०८४ मा मतबाटै निलो क्रान्ति गर्ने योजनामा रहेको तर जनेजीले रातो क्रान्ति गरिदिएको टिप्पणीसमेत प्रतिवेदनमा गरिएको छ । जेनजी आन्दोलनको म्यान्डेट र भावनालाई संस्थागत गर्न भने बाँकी रहेको भन्दै प्रतिवेदनमा त्यसको पहिलो र अनिवार्य प्रक्रिया निर्वाचन नै भएको निष्कर्ष निकालिएको छ ।

कार्यवाहक सभापति अर्यालले जेनजी आन्दोलनको बलमा बनेको दलविहीन अन्तरिम सरकारलाई बाध्यताको उपज भनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ