हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई रोक्ने स्पष्ट पारेका हुन्।
गुरुङले गृहमन्त्रीको कामबाट सन्तुष्ट हुन नसक्नु भावना नभई तथ्यमा आधारित असन्तुष्टि भएको बताए। उनले लेखेका छन्, ‘यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर, या सरकार ढलाउने खेल वा संविधानमाथि धावा।’
आफूहरू स्कुले पोशाकमा मारिएका बालबालिकाको न्याय, भ्रष्टाचार र राज्य आतंकविरुद्ध सडकमा आएको स्मरण गराउँदै उनले भाषण नभई परिणाम चाहिएकोमा जोड दिए।
‘योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ,’ गुरुङले भने।
सरकारलाई सहयोग गर्ने तर प्रतिपक्षमा पनि बस्ने आफ्नो प्रतिबद्धता रहेको बताउँदै उनले सहिद परिवारप्रतिको वाचा पूरा गर्न आफूहरू आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न नडराउने स्पष्ट पारे।
उनले भने, ‘हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। आज उहाँहरूले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ ?’
अन्तरिम सरकारले चुनाव गराउने मात्र नभई आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनुपर्नेमा उनले जोड दिए।
यद्यपि, गृहमन्त्रीको आलोचना गरे पनि प्रधानमन्त्री र जिम्मेवारीपूर्वक काम गर्ने अन्य मन्त्रीहरूलाई कमजोर पार्ने खेल सह्य नहुने उनले चेतावनी दिए।
‘जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन्, प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ,’ उनले थपे, ‘उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान