मधुमेह, क्यान्सर र मोटोपनाजस्ता गम्भीर रोगसँग जुधिरहेका मानिसलाई अब संयुक्त राज्य अमेरिकामा प्रवेश पाउन कठिन हुने भएको छ । अमेरिकी विदेश विभागले शुक्रबार विश्वभरका अमेरिकी र वाणिज्य दूतावासलाई गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई देशमा आउन वा बस्न अनुमति नदिन निर्देशन दिएको छ ।
यो नियम ‘पब्लिक चार्ज’ नीतिमा आधारित भएको र यसको उद्देश्य अमेरिकी सरकारी स्रोतमा निर्भर हुन सक्ने आप्रवासीलाई रोक्नु रहेको जनाइएको छ ।
नयाँ निर्देशनानुसार, भिसा अधिकारीलाई आवेदकको स्वास्थ्य अवस्था, उमेर, र वित्तीय स्थितिको गहन मूल्यांकन गर्न सल्लाह दिइएको छ । कोही व्यक्तिले भविष्यमा महँगो चिकित्सा उपचार लिनुपर्ने वा सरकारी सहायतामा निर्भर हुनुपर्ने सम्भावना देखिएमा भिसा अस्वीकार गरिनेछ । निर्देशनमा आवेदकको स्वास्थ्य आवस्थालाई ध्यानमा राख्न अत्यावश्यक रहेकामा जोड दिइएको छ ।
मुटुरोग, श्वासप्रश्वाससम्बन्धी समस्या, क्यान्सर, मधुमेह, मेटाबोलिक, स्नायुसम्बन्धी रोग र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले अमेरिकामा लाखौँ डलरबराबरको उपचार खर्च सिर्जना गर्न सक्ने जनाइएको छ ।
अधिकारीहरूले मोटोपनाजस्ता अवस्थालाई पनि विचार गर्नेछन् । मोटोपनाले दम, स्लीप एप्निया र उच्च रक्तचापजस्ता समस्या निम्त्याउन सक्ने जनाइएको छ ।
भिसा आवेदकले सरकारी सहायताबिना उपचार खर्च आफैँ धान्न सक्ने/नसक्ने, उनीहरूका सन्तानलाई विशेष हेरचाह आवश्यक भए/नभएको, काम गर्न सक्षम/असक्षम, अभिभावक बिरामी छन्/छैनन् र उनीहरू पनि भिसा आवेदककसँग अमेरिकामा बस्छन्/बस्दैनन् जस्ता विषयमा ध्यान दिइनेछ ।
कानुनी आप्रवासन सञ्जालका वरिष्ठ अधिवक्ता चार्ल्स ह्विलरले यसलाई चिन्ताजनक भनेका छन् । “भिसा अधिकारीहरू स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न प्रशिक्षित छैनन्,” उनले भनेका छन्, “कुनै रोग कति गम्भीर छ वा त्यसको असर सरकारी स्रोतमा कति पर्छ भन्ने आकलन गर्ने अनुभव उनीहरूसँग हुँदैन ।”
जर्जटाउन विश्वविद्यालयकी आप्रवासन वकिल सोफिया जेनोवेसका अनुसार, यो परिवर्तनले भिसा अन्तर्वार्तामा धेरै समस्या ल्याउनेछ । उनले भनिन्, “मधुमेह वा मुटुको समस्या जोकोहीलाई पनि हुनसक्छ ।”
पहिले भिसा प्रक्रियामा केवल टीबी, एचआईभीजस्ता सरुवा रोग जाँच गरिन्थ्यो । अब पुरानो रोगको सम्पूर्ण विवरण मागिनेछ ।
हाल यो निर्देशन पर्यटक वा विद्यार्थीजस्ता अस्थायी भिसा वर्गमा लागु हुन्छ/हुँदैन भन्ने स्पष्ट छैन । तर, प्राविधिक रूपमा यो नियम सबै भिसा आवेदकमा लागु हुनेछ । यसमा पर्यटन/व्यवसाय, विद्यार्थी भिसाका आवेदन पनि समावेश छन् ।
यसले एच–१बी र ग्रीन कार्ड प्रक्रिया अझ कठिन हुन सक्ने जनाइएको छ । बुवाआमा वा अपांगता भएका बालबालिकाका परिवारमा यसको सबैभन्दा ठूलो असर पर्ने अनुमान गरिएको छ । एनडीटीभीबाट ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर