नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्न चेतावनी दिएका छन्।
उनले सरकारका पछिल्ला गतिविधिहरू गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको भन्दै चर्को आलोचना गरे।
सोमबार पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकारका मन्त्रीजीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु। अलिकति सम्हालिएर बोल्ने, व्यवहार गर्ने गर्नुपर्छ।’
उनले सरकारको म्याद छोटो भएको तर मन्त्रीहरूको फुर्ती भने स्थायी सरकारको जस्तो देखिएको भन्दै व्यङ्ग्य गरे। ‘म्याद चार महिना बाँकी छैन, फुर्तीचाहिँ घाम जून रहुन्जेल रहने जस्तै छ,’ ओलीले भने।
अध्यक्ष ओलीले सरकारले विभिन्न देशबाट राजदूत फिर्ता बोलाउने र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिने निर्णयको भर्त्सना गरे। उनले यस्तो कदमले सरकारको कूटनीतिक अज्ञानता र अपरिपक्वता छताछुल्ल पारेको टिप्पणी गरे।
‘राजदूत फर्केर आएर परराष्ट्र मन्त्रालयमा हाजिर हुनु भन्ने ! कानुन थाहा छ कि छैन ? कूटनीति थाहा छ कि छैन ? एम्बेसेडर भनेको के हो थाहा छ कि छैन ?’ ओलीले प्रश्न गरे।
उनले राजदूत देशको प्रतिनिधि भएको र उसलाई कर्मचारीलाई जस्तो व्यवहार गर्न नमिल्ने बताए।
उनले थपे, ‘फिर्ता बोलाइएका राजदूतहरू इन-सर्भिसका कर्मचारी होइनन्। उनीहरूलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराउने कुरा कुन संसारको आदेश हो ? कुन संसारमा छ यो सरकार ?’
एमालेका युवा फेसबुकमा होइन, घर घरमा छन्
अध्यक्ष ओलीले एमालेका युवा फेसबुकमा नभएर घर-घरमा भएको बताए ।
‘एमालेसँग युवाको ठूलो पंक्ति छ। फेसबुकको युवा होइन। घर-घरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेसँग केही पनि छैन, रित्तै भइसक्यो,’ उनले भने, ‘तर त्यस्ता पोस्ट्हरूमा ‘झुट’ लेख्नुपर्थ्यो। हामीले त्यति गर्न सकेका छैनौं।’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सत्यलाई सत्य र अफवाहलाई अफवाह भनेर नेता-कार्यकर्ताहरूले भन्नुपर्ने आवश्यकता रहेको बताए।
त्यस्तै अध्यक्ष ओलीले आगामी दिनमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यवसाय, उद्योग र निजी घरहरू एमालेले जल्न नदिने बताए। ‘सरकारलाई चित्त दुख्न सक्छ। शान्ति सुव्यवस्थामा खतरा पैदा भयो भन्नसक्छ। अनेक बखेडा निकाल्न सक्छ। तर, एमालेले उपरान्त अब कसैको घर र सरकारी संरचनाहरू जल्न दिने छैन,’ उनले भने।
उनले सरकारले घर जलाउनेहरूको अनुहार चिनिए पनि गिरफ्तार नगरेको आरोप लगाए। ‘घर जलाउनेहरू चिनिएका छन्। तर, सरकारले गिरफ्तार गर्न सक्दैन। त्यस्तो पनि हुन्छ। अपराधीलाई कानुनी कारबाही गरिनुपर्छ,’ उनले भने।
उनले घर जलाएकाहरू पनि कोही मन्त्री नबनेको देख्दा आफू छक्क परेको बताए। ‘केही मन्त्रीहरू किन भएनन्, छक्क परेको छु। भिडियो त अपलोड गरेकै थिए। चिनाएकै थिए। ती छुटेका छन्। कमसेकम राज्यमन्त्री त बनाउनुपर्थ्यो,’ उनले भने।
‘यो सरकार चुनाव गराउन बनेको होइन’
अध्यक्ष ओलीले वर्तमान सरकार चुनाव गराउनका लागि नभई अन्य उद्देश्यले बनेको आरोप लगाए।
उनले सरकार फागुन २१ गते चुनाव गराउने आफ्नो मुख्य जिम्मेवारीबाट पन्छिन खोजेको संकेत देखिन थालेको बताए।
‘जति उफ्रिए पनि फागुन २१ मा त समय सिद्धिन्छ त,’ उनले भने, ‘यो सरकारले चुनाव गराउँदैन। चुनाव गराउन बनेको होइन।’ उनले यस्ता सरकारहरूले चुनाव टार्न विभिन्न बहाना खोज्ने गरेको अन्तर्राष्ट्रिय अभ्यास रहेको समेत उल्लेख गरे।
उनले देशमा लोकतन्त्र र संविधान जोगाउनका लागि असंवैधानिक क्रियाकलाप सच्याउँदै विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई सही ट्रयाकमा फर्काउनु नै अहिलेको आवश्यकता भएकोमा जोड दिए।
उहाँहरू (झाँक्री र किसान) बिना लालच फर्किनुभएको हो
अध्यक्ष ओलीले एमाले भित्रिएका नेताहरू बिना लालच फर्किएको बताए । उनले नेतृ रामकुमारी झाँक्री र निवर्तमान सांसदसमेत रहेका किसान श्रेष्ठले बिना लालच फर्किएको दाबी गरे।
‘हामीले केही दिन्छु भनेका छैनौं। उहाँहरू आग्रहले होइन, अनुभवले फर्किनुभएको हो। फेरि उहाँहरूले केही चाहिन्छ पनि भन्नुभएको छैन। मनभित्र केही लोभ र लालच त छैन भन्दा उहाँहरूले छैन भन्नुभएको छ। कुर्सीमा होइन चाकडीमै बसाले पनि आउँछु भन्नुभएको छ,’ उनले भने।
उनले प्रचण्ड र माधवकुमार नेपालको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिए। ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। उहाँहरूले अब एक दुई जना समेट्न बाँकी छ। एक जना बाग्लुङ र प्युठानबाट समेटेपछि उहाँहरूको कोर्स पूरा हुन्छ,’ उनले भने।
अध्यक्ष ओलीले भीम रावललाई लक्षित गर्दै थपे, ‘कोही कोही छैटौं नम्बर पाएपछि हिंडिहाल्दो रैछ।’ उनले बुढो भए पनि काम गर्नेहरू एमालेतिर भएको स्पष्ट पारे। अध्यक्ष ओलले एमाले खोल्सी नभएर महासागर भएको बताए। ‘एमाले तिरतिरे खोल्सी होइन। महासागर हो,’ उनले भने।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’