एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

उत्कृष्टता

एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

'टप १०० भित्र प्रतिभाका ५ विद्यार्थी'

Prativa Badhai Samman (2)

Photo: Mandeep KC

पोखराको प्रतिभा माविले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२/०८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने आफ्ना विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको छ ।

आयोगले मंगलवार प्रवेश परिक्षा नतिजा सार्वजनिक गर्दै योग्यताक्रममा परेका नामसूची प्रकाशित गरेको थियो । ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूले नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभा एकै विद्यालयबाट ५ विद्यार्थी परेका छन् ।

टप १०० मा नाम निकाल्ने विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिनाका साथै सफल गुरुङलाई प्रतिभा माविले विहीबार एक समारोहकाबीच बधाई ज्ञापनका साथै सम्मान गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले सफलता चुमेको दिन विद्यालयको लागि सबैभन्दा खुशीको दिन रहने बताए । पवित्र सेवा समर्पित भावनाको शिक्षा आर्जन गरेर देशमै बसेर उत्कृष्ट चिकित्सकीय कर्म गर्न पनि पौडेलले सुझाए ।

‘शिक्षक र विद्यार्थीको मेहनत, विद्यालय र अभिभावकको साथले नै यस्तो उत्कृष्टता मिल्दछ । यस्तो सफलतालाई निरन्तरता दिन अझै मेहनतको खाँचो छ । एउटै सफलताले जीवनमा पुग्दैन ।’ अध्यक्ष पौडेलले भने – ‘एकै विद्यालयबाट ६ जनाले नाम निकाल्नु भनेको करीब ४ करोड छात्रवृत्ति प्राप्त गर्नु हो । यस्तै उपलब्धिले प्रतिभा मावि प्रदेश मात्र नभएर देशमै उत्कृष्ट विद्यालयको सुचीमा पर्न सफल छ ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरालाई अब केवल पर्यटनको राजधानी नभई शिक्षाको राजधानीका रूपमा चिनाउने सपना प्रतिभा माविबाट साकार हुँदै गएको बताए ।

‘प्रत्येक वर्ष प्रतिभाका विद्यार्थीहरूले सुन्दर सपना पछ्याउँदै उत्कृष्ट सफलता हात पारिरहेका छन् ।’ उनले भने– ‘यस विद्यालयका मेधावी विद्यार्थी, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूले आजको गौरवपूर्ण क्षण सम्भव बनाएका हुन् ।’

सापकोटाका अनुसार देशभरका विद्यालयबाट १०० जनाभित्र ५ जनाले एकै वर्षमा प्रतिष्ठित विश्वविद्यालयमा नाम लेख्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि हो । उनले थपे – ‘प्रतिभाको जीवन अनन्त रहोस् । यहाँका विद्यार्थीहरूको मेहनत, कर्म र उपलब्धिले विद्यालयको नाम सुनौलो अक्षरमा अंकित भएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पताल पोखराका मेडिकल डाइरेक्टर प्रा. डा. अभिषेक मास्केले विद्यार्थीहरूलाई भावी चिकित्सकका रूपमा देश र समाजको सेवा गर्ने प्रेरणा प्रदान गरे ।

‘प्रतिभा माविले गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । अब पढाइका लागि काठमाडौं जानुपर्ने आवश्यकता छैन भन्ने कुरा प्रतिभाले प्रमाणित गरेको छ ।’ उनले भने – ‘यहाँ प्रदान गरिएको शिक्षा नै गुणस्तरीय र भविष्यमुखी छ ।’

डा. मास्केले विद्यार्थीहरूलाई जुनसुकै पेशा वा व्यवसाय रोजे पनि कक्षा ११ र १२ बाटै आफ्नो ‘रोडम्याप’ तयार पार्न सुझाए । ‘डाक्टर बन्नु केवल पेशा होइन, यो मानवता र सेवासँग सम्बन्धित जिम्मेवारी हो ।’ उनले थपे – ‘यहाँ सिकेका मूल्य र ज्ञानका आधारमा समाजका लागि उत्कृष्ट चिकित्सक उत्पादन हुने विश्वास मैले लिएको छु ।’

अभिभावक वासुदेव तिमिल्सिनाले प्रतिभा मावि सबैका लागि गौरवको विद्यालय बनेको बताए । उनले सबैभन्दा ठूलो कुरा अनुशासन भएको बताउँदेै अनुशासनले नै सफलता र अवसरका सबै बाटो खोल्ने उनले विश्वास व्यक्त गरे । उनले विद्यालयले प्रदान गरेका अवसरहरूको सदुपयोग गर्न सक्नु विद्यार्थीहरूको जिम्मेवारी भएको बताए । उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

सम्मानित विद्यार्थी समीर सुवेदीले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अब काठमाडौंमै जानुपर्छ भन्ने सोच प्रतिभा माविले बदलिदिएको बताए । उनले भने ‘कडा मेहनत गर्नुस् । सफलता हाँसिल गर्न सजिलो हुन्छ । मेहनत गरे भाग्यले पनि साथ दिन्छ । त्यसैले भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ ।’

उनले शिक्षकहरूको निरन्तर प्रेरणा र विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण नै भाईबहिनीहरूले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । सुवेदीले थपे, ’सफलता हात पार्नका लागि आवश्यक गुणस्तरीय शिक्षा प्रतिभा माविले नै प्रदान गर्छ । ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ