रास्वपा र विवेकशील साझाबीच एकता, के छ ५ बुँदे सहमतिमा ?

राजनीति

रास्वपा र विवेकशील साझाबीच एकता, के छ ५ बुँदे सहमतिमा ?

rsp-bibek

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो।

आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर पार्टी एकता पत्रमा हस्ताक्षर र घोषणासमेत भएको हो।

हस्ताक्षर पत्रमा ‘रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने’ कुरा उल्लेख छ।

साथै रास्वपाको राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति छ।

मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुने सहमति छ।

विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति भएको हो।

एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने सहमति छ।

एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेज तयार गर्दै पार्टीका नाममा रहेका चल-अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने पनि सहमति भएको छ।

 दुवै पार्टीका नेताहरुले वैकल्पिक राजनीतिका संस्थापक दिवंगत उज्ज्वल थापाले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

एकता सभामा बोल्ने दुवै पक्षका नेताहरूले थापाले देखेको सपनालाई पूरा गर्ने उद्देश्यले नै पार्टी एकता गरेको जिकिर गरे । रास्वपाले अंगीकार गरेका सिद्धान्त, झण्डा, चुनाव चिन्ह अंगीकार गर्ने गरी दुई पार्टीबिच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि रास्वपा र विवेकशील साझाका नेताहरूले घण्टी बजाएर एकताको स्वागत गरे ।

रास्वपामा विलय भएपछि साविक विवेकशील साझाकी नेतृत्व यो एकता विलय नभई प्रलय भएको जिकिर गरिन् । संस्थापक थापाले खोलेको वैकल्पिक राजनीतिको ट्र्याकलाई रवि लामिछाने नेतृत्वको रास्वपाले राजमार्ग बनाएको उनले बताइन् ।

‘विवेकशील साझाले वैकल्पिक राजनीतिको ट्र्याक खोल्यो । रास्वपाले राजमार्ग बनायो । अब ट्र्याक खोल्ने र राजमार्ग बनाउने शक्ति सँगै छौँ । उज्ज्वल थापाले रोपेको फूल फल्न र फुल्न पर्‍यो,’ बास्कोटाले भनिन्, ‘ म कुनै पदका लागि आएको होइन । एक साधारण सदस्य भएर पनि बस्न सक्छु,’ बास्कोटाले भनिन् ।

कार्यक्रममा निकै गम्भीर देखिएकी बास्कोटाले आफूले १० वर्षसम्म प्रयास गर्दा पनि संसद्मा तीन सिट मात्र ल्याउन सकिएको, तर रविले पाँच महिनामै २१ सिट जितेर भाग्यमानी सावित गरेको बताइन् ।

विवेकशील साझाले एकताका लागि हार्दिकता देखाएको र रास्वपाले पनि त्यही अनुसार हार्दिकता दिनेमा उनले अपेक्षा राखिन् । कार्यक्रममा बास्कोटाले आफूले संस्थापक थापाको फोटो नबेचेको जिकिर गर्दै उनकै सपना साकार बनाउन एकता प्रक्रियामा मिसिएको प्रष्टीकरण दिइन् ।

‘विकेकशील साझामा सधैं संक्रमण भयो । यसलाई खरानी बनाइयो । खरानीबाट उठेर उठ्न पनि आउँछ । मैले उज्ज्वलजीको फोटो बेचेको छैन । म निकै तनावमा थिएँ । उहाँकी धर्मपत्नीलाई सोधेँ । उहाँ भएको भएपनि यही गर्नुहुन्थ्यो भनेपछि म खुसी भएँ’, उनले भनिन् ।

उनले कुनै सर्त नराखी आफूले रास्वपासँग एकता गरेकाले विवेकशील साझाबाट आएकालाई सक्रियतापूर्वक काम गर्न निर्देशन समेत दिइन् ।

रास्वपाका उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले विवेकशीलका संस्थापक थापासँग निधन हुनुअघि लामो समय सम्पर्कमै रहेको र उनले देखेको सपना सबै मिलेर पूरा गर्ने जिकिर गरे ।

‘प्रजातन्त्रलाई कसरी उन्नत बनाउने ? एक थान चुनावका लागि मात्र लोकतन्त्र हो भन्ने भाष्यबाट मुक्त भएर संवैधानिक उदारवादमा आधारित हुन्छ । कानुनी राज्य, शक्तिको पृथकीकरण, प्रेस स्वतन्त्रताका कुरा छन् । यसमा ध्यान दिएनौँ भने अनुदार प्रजातन्त्र आउँछ भन्नेबारे हाम्रो छलफल भएको रहेछ,’ वाग्लेले भने, ‘दूषित राजनीतिलाई सङ्ल्याउनेबारे २०१९ मा छलफल भएको रहेछ । त्यसकारण उहाँको सपना हामी सबै मिलेर गर्नुपर्छ ।’

नख्खु जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेले एकता प्रक्रियामा आएकालाई मिडिया ट्रायलबाट सचेत रहन र थापाले अगाडि बढाएकै वैकल्पिक राजनीतिलाई अगाडि बढाउने सन्देश पठाएको वाग्लेले जानकारी गराए ।

साविक विवेकशील साझाकी महासचिव समेत रहेकी रञ्जु दर्शनाले आफू थापाकै आदर्शबाट १७ वर्षकी कलिलो उमेरमै राजनीतिमा लागेको बताइन् । संस्थापक थापाले नाममा होइन, काम गरेर देखाउ भन्नेमा प्रेरणा दिने गरेको स्मरण गरिन् । आफू बिलाउन नभई मिलाउन आएको जिकिर गरिन् ।

‘जसको आदर्शले मैले १७ वर्षको कलिलो उमेरमा राजनीति सुरु गरेको थिएँ । उज्ज्वल दाइले नाममा ल्याङल्याङ नगर काम गरेर देखाउन भन्नुहुन्थ्यो । आज हामीले त्यही गरेका छौँ । मिडियाका र एकता नचाहने साथीहरूले तिमीहरू बिलाउन गयौं भनिरहनुभएको थियो । हामी बिलाउन होइन, मिलाउन आएका हौँ । यो सबैले स्पष्टसँग सुन्नुहोला’, उनले भनिन् ।

कार्यक्रममा महासचिव कवीन्द्र बुर्लाकोटीले बाहिर सूचना बाहिरिएको भए एकता नै नहुने बताए ।
‘बाहिर सूचना नचुहिएकाले एकता सम्भव भएको हो । बाहिर सूचना गएको भए यो एकता सम्भव हुने थिएन । एकता भत्काउन खेल्ने थिए । यो एकता मूल्य र मान्यताको एकता हो,’ रञ्जुले भनिन्, ‘यसरी नै अगाडि बढेर जाने हो भने अन्य पार्टीसँग पनि एकता गर्न सक्छौँ ।’ बुर्लाकोटीले संस्थापक थापाकै प्रेरणाबाट आफू राजनीतिमा सक्रिय भएको स्मरण गरे ।

नेता विराजभक्त श्रेष्ठले दुई पार्टीबिचको एकता मात्र नभई वैकल्पिक तेस्रो धारको अध्याय सुरु भएको घोषणा गरे ।

‘आज दुई पार्टीबिचको एकता मात्र होइन, वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भयो । सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मियो भनेर मैले घोषणा गरेँ । देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो । आज यसले सुसंस्कृत तरिकाले पनि तेस्रो ध्रुव देशमा उदायो’, उनले भने । सभामा सहभागीलाई साक्षी राखेर तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउने र सांस्कृतिक, सामाजिक अन्तर्विरोधलाई हल गरेर अगाडि बढ्ने सङ्कल्प पनि उनले गरे ।

सभालाई समापन गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैकल्पिक राजनीतिको अभियान थापाले अगाडि बढाएको स्विकारे । मतदाताले विवेकशील साझालाई पनि अपमान नगरेको उनले स्पष्ट परे ।

‘उज्ज्वलजीले सुरु गरेको वैकल्पिक राजनीतिक अभियान तपाईंहरूले निरन्तर बचाएर राख्नुभयो । मलाई लाग्छ मतदाताले पनि अपमान गरेको जस्तो लाग्दैन । यहाँ मात्र होइन, देश-विदेश सबै ठाउँमा विवेकशील साझाका साथीहरू भेटिनुहुन्थ्यो । सबै जनालाई पार्टीको तर्फबाट स्वागत गर्न चाहन्छु’, उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ