नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारको निर्माणकर्ता आफूहरू नै भएको दाबी गर्दै निर्धारित मितिमै चुनाव गराउन खबरदारी गरेका छन्।
आइतबार पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै दाहालले यस्तो खबरदारी गरेका हुन्।
सरकारलाई चुनावी वातावरण बनाउन आग्रह गर्दै दाहलले भने, ‘यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनाएको हो। जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाइएन भने त्यो ठीक हुँदैन।’
उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हुनै पर्नेमा जोड दिँदै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरे। सरकार सम्बन्धित पक्षहरूसँग छलफलमा रहेको उल्लेख गर्दै उनले चुनाव सुनिश्चित हुने विश्वास समेत व्यक्त गरे।
सम्बोधनका क्रममा दाहालले अघिल्लो कांग्रेस र एमालेको गठबन्धन सरकारप्रति आक्रोश पोखे। उनले आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सत्ताबाट हटाइएको जिकिर गरे।
‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हामीलाई दिइएन,’ दाहालले भने, ‘भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न हामीलाई शक्ति पुगेन।’
उनले कांग्रेस–एमालेको ‘दुई तिहाइ’ बाट जनताले केही हासिल गर्न नसकेको र उल्टै राष्ट्र संकटमा फसेको टिप्पणी गरे।
दाहालले वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूको एकता अभियान चुनाव जित्ने रणनीति मात्र नभएको स्पष्ट पारे। ‘चुनाव त हामी जित्छौँ–जित्छौँ,’ उनले भने, ‘तर यो एकता राष्ट्रको रक्षा, स्वाधिनता र समृद्धिका लागि हो।’
मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेको औँल्याउँदै उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए।
जनता सचेत र संगठित नभए देशमा पुनः ठूलो संकट आउन सक्ने चेतावनी दिँदै उनले राष्ट्रियताको भावना बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए।
भ्रष्टाचार अन्त्य केन्द्रविन्दुमा राखेका छौं– माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले भ्रष्टाचार समाप्त गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर पार्टी बनाएको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफूविरूद्ध भ्रष्टाचार मुद्दा लागेको विषयमा भने उनले केही बताएनन्।
उनले भ्रष्टाचार अन्त्य गर्ने पार्टीको योजना रहेको पनि उनले बताए।
‘भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं,’ उनले भने, ‘त्यसैले यत्तिकै पार्टी बनाएको होइन।’
नेपालका सबै पार्टी र नेताको नाडी छामेको भन्दै नेपालले अघि बढ्नेहरू बढिरहेने र छुट्नेहरू छुटिरहने बताए। एमाले कास्कीका नेताहरूलाई नेकपामा आउन आह्वान गर्दै उनले नअलमलिन आग्रह गरे।
नेपाली राजनीति बेइमानी र भ्रष्टाचारीले बिगारेको भन्दै उनले यस विषयमा आफूहरूले समीक्षा गरेको बताए।
‘नेपालको राजनीति बिग्रने कारण बेइमानी, भ्रष्टाचारी, स्वार्थी र व्यक्तिवादी प्रवृत्तिले हो,’ उनले भने, ‘यो विषयमा हामीले समिक्षा गरेका छौं।’
कम्युनिष्ट प्रधानमन्त्रीहरू र मन्त्रीहरू कसको पालामा के के राम्रा काम भए र कसका पालामा के के नराम्रा काम भए भनेर समिक्षा गर्नुपर्ने उनले बताए। राम्रा कामलाई सार्वजनिक गर्नुपर्ने र नराम्रा कामबाट सुधार गर्नुपर्ने नेता नेपालको भनाई छ।
देशका व्यापकर रूपमा भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरता रहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए।
कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन, नभए देश समाप्त: झलनाथ खनाल
पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध नभए देश समाप्त हुने खतरा रहेको औंल्याए। उनले भने, ‘कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन। नभए देश समाप्त हुनसक्ने खतरा छ।’
पूर्व प्रधानमन्त्री खनालले लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरुले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको बताए।
‘भ्रष्टाचार व्याप्तहुँदा जनता आजित भए, उनले भने, ‘यसअघिका सरकारले कृषि क्रान्ति गर्न सकेन, भूमि सुधार गर्न चासो नै दिएन। उद्योग धन्दा सञ्चालन नगर्दा जनता बेरोजगार भए अर्थात काम पाएनन् र विदेशीन बाध्य भए। त्यसैले जेनजी आन्दोलन भयो।’
नेता भीम रावलले देश जलेपछि केपी ओलीले माफी माग्लान् भनेको त अझै दम्भ देखाइरहेको बताए। ‘जेनजीले लखेटे, देश सङ्कटमा फस्यो, देशका धरोहरहरु सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइए,’ उनले भने, ‘त्यसपछि आफै उपस्थित भएर, नभए पनि वक्तव्यमार्फत केपी ओलीले माफी माग्लान् भन्ने सोंचेको थिएँ तर फेरी पनि मैले केही गल्ती गरेको छैन भन्दै दम्भ देखाइरहेका छन्।’
नेता नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी रहेको बताए। जेनजी विद्रोहका मागहरु जायज भएकाले आत्मसाथ गर्न जरुरी रहेको उनको भनाई थियो।
‘जेनजीले पार्टीको शुद्दिकरण तथा रुपान्तरण, राजनीतिक अस्थिरताको अन्त्य र भ्रष्टाचार अन्त्यको लागि विद्रोह गरेका हुन्,’ उनले भने,‘जेनजी आन्दोलन जेनजी पुस्ताको लागि मात्र होइन, सबै पुस्ताको लागि हो, त्यसैले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्नु पर्छ।’
नेता श्रेष्ठले निर्वाचन सम्पन्न हरहालतमा गर्नु अहिलेको आवश्यक्ता रहेको बताए। समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिष्ट पार्टीको आवश्यक्ता रहेको बताउँदै उनले भने, ‘त्यसैले आफूलाई बदलौं, नेताहरु बदलौं र पार्टीलाई बदलौं।’
कार्यक्रममा नेकपा नेता तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली कम्युनिष्ट पार्टीले विगतमा भएका कमजोरीहरु सच्याएर अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनमत आउँदा पनि खास खास बेलामा संरक्षण गर्न नसकेको ईतिहास छ। आज फेरी सम्पूर्ण कम्युनिष्टहरु एकत्रित भएका छन्। यस पार्टीले विगतमा काम गर्दा भएका कमजोरी सच्याएर/सच्चिएर अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु।’
उनले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पार्टीको कार्यक्रम गर्दा व्यवसायीलाई असर परेको गुनासो गरेको भन्दै अब आईन्दा यसलाई ख्याल गर्न पनि आग्रह गरे।
उनले भने, ‘व्यवसायीले गरिखान देउ भन्दै मानव अधिकार चोकमा कार्यक्रम नगर्न आग्रह गरेका छन्। यसलाई बुझेर आगामी दिनमा नदोहोर्याउन म सम्बन्धि सबै पक्षलाई आग्रह गर्दछु।’
पार्टीका नेता सोमबहादुर नेपालीले भ्रष्टाचारबिरुद्द र सुशासनको पक्षमा आफूहरुले आवाज उठाए पनि पूरा गर्न नसकेको अवस्थामा जेनजीहरुले दुई दिने आन्दोलनबाट सफलता प्राप्त गरेको भन्दै धन्यवाद दिए।
नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एउटै बिचार भएका विविध पार्टीमा रहँदा जनआकांक्षा पूरा गर्न नसकिएको बताए।
उनले भने, ‘दुई तिहाई ल्याएर संविधान संसोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउँछौं। देशको पुर्नसंरचना गर्छौं र देशलाई जनताको चाहना अनुसार समुन्नत बनाउँछौं।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा नेकपा माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले स्वागत तथा नेकपा नेता तथा तत्कालीन नेकपा एकीकृत समाजवादीका सचिव एवम् गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला