पोखरा । नवगठित गतिशील लोकतान्त्रिक पार्टीले पर्यटनलाई ‘रोजगार तथा आर्थिक क्रान्तिको प्रमुख आधार’का रूपमा अघि सारेको छ ।
पर्यटनको राजधानी पोखरामा पार्टीका शीर्ष नेतृत्व उपस्थित भएर यहाँका पर्यटन व्यवसायी र पत्रकारहरूबीच अन्तर्क्रियात्मक छलफल कार्यक्रम आयोजना गर्दै आगामी दशकमा वार्षिक ५० लाख पर्यटक भित्राउने लक्ष्य सार्वजनिक पनि गरेको छ ।
पार्टीका संस्थापक सदस्य एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पर्यटनबाटै नेपालले आर्थिक क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे । आफू देश बनाउनकै लागि यो उमेरमा राजनीतिमा होमिएको बताउँदै उनले भावी पुस्ताको भविष्यका लागि लड्नुपर्ने अवस्थामा आइपुगेको उल्लेख गरे ।

‘मेरो यो ६२ वर्षमा आराम होइन, भावी पुस्ताको भविष्यका लागि लड्नुपर्ने अवस्था आयो’ – बस्नेतले भने – ‘उमेर, पेशा र जीवनको सहज अवस्था त्यागेर नयाँ दल निर्माणमा होमिनुको कारण नै मुलुकलाई आर्थिक रुपमा सबल बनाउनका लागि हो । अब पुराना राजनीतिक संस्कार विरुद्ध लडेरै भए पनि देशमा परिवर्तन ल्याउनुपर्छ भनेर राजनीतिमा होमिनुपरेको हो ।’
नेपालमा मुख्य पेशा ‘राजनीति’ बनाउने प्रवृत्तिले नै देशमा व्यापक भ्रष्टाचार, अवसरवादी र संस्थागत कुशासन मौलाएको बताउँदै उनले जसको परिणाम स्वरुप जेनजी युवाको आन्दोलन भएको उल्लेख गरे ।
उनले थपे – ‘हाम्रो पार्टीमा मुख्य पेशा राजनीति गर्न पाइँदैन, व्यवसायिक, पेशागत र सिर्जनशील मनुष्य शक्ति राजनीतिमा आउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । पेशालाई छोडेर राजनीतिलाई रोजगारी बनाउने संस्कारले देश बिगार्यो, त्यसलाई अन्त्य गर्न हामी बाध्य भएर पार्टी खोलेका हौँ ।’
यसपटकको निर्वाचनमा आफूहरु विजयी भएमा ५० वटा जहाज किनेर भए पनि विमानस्थल चलायमान बनाउँदै रोजगारी र समृद्धि द्रुत गतिमा अघि बढाउने उनको भनाई थियो । यसबाट पर्यटनको राजधानी पोखरालाई सिधै फाइदा हुने उनले उल्लेख गरे ।

बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय ‘टुरिज्म हब’ का रुपमा रूपान्तरण गर्न सकिने दाबी गरे । भैरहवा र नयाँदिल्ली विमानस्थलबाट वाइडबडी उडान सम्भव भएको जनाउदै उनले नेपालमा दैनिक ५० उडान सजिलै संचालन गर्न सकिने र १० वर्षमै ५० लाखदेखि १ करोडसम्म पर्यटक भित्राउने क्षमता रहेको उल्लेख गरे ।
बस्नेतले नेपालको पर्यटन उद्योगलाई दीर्घकालीन गतिमा अघि बढाउन ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई महादेशीय उडानको प्रमुख गेटवे’ बनाउनुपर्नेमा जोड दिए । बस्नेतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले लामो दुरीका ठूला वाइड–बडी जहाज उडाउन नसक्ने भएकाले ‘टीआईए क्षेत्रीय विमानस्थल’ को परिभाषा भित्रै सीमित छ । उनले एयरबसका प्राविधिक तथा इन्जिनियरसँगको अध्ययनलाई उद्धृत गर्दै भैरहवाबाट बिना लोड पेनाल्टी अमेरिकादेखि क्यानडा, जापान तथा दक्षिण–पूर्व एसियासम्म महादेशीय उडान सम्भव रहेको जानकारी दिए ।
‘एक वाइड–बडी जहाज वर्षमा झन्डै एक लाख यात्रु ओसार्न सक्छ । पाँच जहाज थपे नेपालले ५ लाखभन्दा बढी पर्यटक वार्षिक रूपमा ल्याउन सक्छ,’ बस्नेतले भने । नेपाल एयरलाइन्सलाई आधुनिक बनाउनै महादेशीय उडान विस्तारको मूल आधार रहेको बताउँदै उनले इथियोपियन एयरलाइन्सको मोडेल उदाहरण दिए ।

‘जहाज प्रत्यक्ष खरिद होइन, १०–१५ प्रतिशत डिपोजिट राखेर लिज–खरिद मोडेल अपनाउनुपर्ने हो,’ उनका अनुसार ३५०–१००० श्रृंखलाका जहाजमा पनि करिब ६ प्रतिशत नेट नाफा सुरक्षित हुने एयरबस अध्ययनले देखाएको छ ।
विदेशी उडान भाडा विश्वकै महँगो रहेको उल्लेख गर्दै बस्नेतले महादेशीय उडानबिना ‘नेपालको पर्यटक संख्या १०–११ लाखमै सीमित रहन्छ’ भने । ‘भैरहवा पूर्ण रूपमा चले नेपालमा वर्षेनि २०, ३०, ७०, ८० लाख पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ।
नेपालमा धार्मिक पर्यटन, साहसिक पर्यटन, वेलनेस टुरिजमको सम्भावना रहेको बताउँदै बस्नेतले क्षेत्रीय सर्किट (लुम्बिनी–पोखरा–चितवन) लाई जोड्दा सबै तर्फको पर्यटन र आर्थिक चलायमान हुने बताए ।
पुराना दलले संरचनागत सुधार गर्न सकेनन्, नयाँ आउनुपर्योः अध्यक्ष प्रसाईं
पार्टीका अध्यक्ष दिनेशराज प्रसाईंले पुराना दलले संरचनागत सुधार गर्न नसकेकाले नयाँ दलको आवश्यकता सिर्जना गरी आफुहरु दिलो ज्यान दिएर लागेको बताए ।
आन्दोलन दोहोरिनुको मुख्य कारण ‘संरचनागत सुधारमा निरन्तर असफलता’ रहेको बताउँदै प्रसाईंले पुराना सत्तासम्मत शैलीले अब काम नगर्ने दाबी गरे । उनका अनुसार वर्षेनि ४/५ लाख युवा श्रम बजारमा प्रवेश गरे पनि रोजगारी नपाउँदा उनीहरू निराश र आक्रोशित भइरहेका छन् । ‘यदि अब पनि सुधार भएन भने एक पुस्ताले अर्को पुस्तालाई जलाउने चक्र अनन्तसम्म दोहोरिन्छ,’ उनले भने ।
प्रसाईंले नेपाल प्रजापरिषद् गठनपछिदेखि हालसम्म देशले करिब १० ठूला राजनीतिक आन्दोलन व्यहोरेको उल्लेख गर्दै ‘हरेक चक्र झन् हिंसात्मक हुँदै गएको’ बताए । ‘माओवादी आन्दोलन अत्यन्त हिंसात्मक थियो । पछिल्ला आन्दोलनहरूले त व्यक्तिगत आक्रमणदेखि सिंहदरबार, अदालत, निजी क्षेत्रसम्म जलेका उदाहरण देखिए,’ उनले भने ।
पर्यटन क्षेत्रलाई ‘सबैभन्दा संवेदनशील र जोखिमपूर्ण क्षेत्र’ को रूपमा व्याख्या गर्दै प्रसाईंले औपचारिक रूपमा देखिने १०÷१२ लाख पर्यटकमध्ये ‘क्वालिटी पर्यटक’ २–३ लाख मात्रै रहेको तथ्य सुनाए । ‘पोखरामा अर्बौंको लगानी छ तर प्रतिफल छैन । अस्थिरता, भूकम्प, महामारीदेखि आन्दोलनसम्म सबैले पर्यटनलाई नै सबैभन्दा धेरै मार्छ,’ उनले भने । उनले पछिल्लो पाँच वर्षमा आईटी क्षेत्रबाट आउने डलर पर्यटनको तुलनामा तीनगुना पुगेको उल्लेख गर्दै पर्यटनसँगै आईटी र सेवा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
“हाम्रो विचार ‘गतिशील मध्यमार्ग’ हो । न अन्धाधुन्ध उदारवाद, न अव्यावहारिक कट्टरता । शिक्षा, अर्थतन्त्र र सुशासनमा प्रगतिशील तर तथ्यमा आधारित नीतिको पक्षमा हौँ,” प्रसाईँले भने ।
पेशाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका प्रसाईंले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी सक्रियतापूर्वक सहभागी हुने स्पष्ट संकेत पनि दिए ।
पार्टी ‘व्यावहारिक नीति सहितको वैकल्पिक शक्ति’का रूपमा प्रस्तुत हुन चाहेको छः महतो
पर्यटन विज्ञ ज्ञानेश्वर महतोले पार्टीका एजेन्डा ‘अनुमानका भर’मा नभई तथ्य–तथ्याङ्क र अध्ययनका आधारमा तयार गरिएको स्पष्ट पारे ।
पोखरामा प्रस्तुत गरिएको गतिशील लोकतान्त्रिक पार्टीको अवधारणाले नेपालमा नयाँ राजनीतिक शैली, पारदर्शी संस्कृति र पर्यटन मार्फत आर्थिक क्रान्ति गर्ने दाबीलाई बलियो बनाएको उनको भनाई थियो ।
देशभर चलिरहेको असन्तोष, बेरोजगारी र आर्थिक स्थिरतामा आएको खाडललाई सम्बोधन गर्न अब पार्टी ‘व्यावहारिक नीति सहितको वैकल्पिक शक्ति’का रूपमा प्रस्तुत हुन चाहेको महतोले बताए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’