प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

राजनीति

प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

miraj dhungana

जेन-जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीसँग राजीनामा माग गरेका छन्।

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुंगानाले प्रधानमन्त्रीलाई आन्दोलनको बेइज्जत नगर्न आग्रह गरे। ‘हाम्रो माग एकदमै सरल र नेपाली जनताको हितका लागि छ। आन्दोलनले देश विकास हुने ठुलो सम्भावना बोकेको थियो, तर यो सरकारले त्यसलाई हाइज्याक गर्‍यो,’ ढुंगानाले भने।

सरकार गठन भएको तीन महिना बितिसक्दा पनि कुनै उपलब्धिमूलक काम नभएको उनको आरोप छ। ‘हामीले तीन महिना त दिएको हो, तर उहाँले कुनै पनि सिग्निफिकेन्ट र महत्त्वपूर्ण काम गर्नुभएन,’ उनले भने, ‘त्यही भएर हामीले अभियान चलाइरहेका छौँ।’

ढुंगानाले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सक्नुहुन्छ र आन्दोलनको मर्म बुझ्नुहुन्छ भने त्यही अनुसार काम गर्नुस्, नत्र भने राजीनामा दिनुस्। हामी सोझो कुरा गर्छौँ।’

आन्दोलनको बलमा बनेको सरकारले नै काम गर्न नसकेको भन्दै उनले निराशा व्यक्त गरे। ‘आन्दोलनपछिको सरकारले नगरे अब आउने निर्वाचित सरकारले गर्छ कि गर्दैन भन्ने आस त गर्नै सकिएन। हामीले बारम्बार विश्वास गरिरहेका हौँ,’ उनले थपे, ‘बरु राजीनामा दिनुस्, बाँकी काम हामी सबै मिलेर गोलमेच सम्मेलन गरेर अघि बढाउन सकिन्छ।’

मिराज ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेपछि उनी त्यहाँ पुगेका थिए। शर्मालाई शनिबार साँझ ८ बजे अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारको पर्खालमा पोस्टर टाँसेको आरोपमा शर्मा पक्राउ परेका हुन्। उनी १०/१५ जनाको समूहको नेतृत्व गर्दै बालुवाटारमा पोस्टर टाँस्न पुगेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ